डुडुवा गाउँपालिकाका प्रत्येक छोरीको खातामा १० हजार, ५ लाखको दुर्घटना बीमा पनि
बाँके । डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुराम उपाध्यायले बताए । उनका अनुसार हरेक छोरीको खातामा १० हजार बैंकमा जम्मा हुन्छ । सो रकम छोरी २० वर्ष नपुगी निकाल्न पाइँदैन । ‘छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ’, उनले भने, ‘छोरीहरूले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख उद्देश्य हो ।’ अभिभावकको मृत्यु भएमा वा आफैं कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनेको छ । यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका छ वडाभित्रका सबै बालिकाको नाममा कन्या मुद्दति शिक्षा कार्यक्रम लागू गरिएको प्रमुख उपाध्ययले जानकारी दिए । सोका लागि यस वर्ष ४० लाख छुट्याइएको छ । यो कार्यक्रममा समेटिन बालिका अस्पतालमा जन्मिएको, जन्मदर्ता गर्नुपर्ने, छोरी एसइईसम्म पढेको तथा वडा कार्यालयको सिफारिस हुनुपर्ने छ । उक्त कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उनले जानकारी दिए । अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरिएको छ । त्यसका साथै अभिभावकको क्षति कम गर्न पाँच लाखको दुर्घटना बीमा पनि गराइएको छ । उक्त गाउँपालिका शिक्षा तथा चेतनाका दृष्टिले पिछडिएको क्षेत्र मानिन्छ । शिक्षक गोपीचन्द्र बर्माले धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको सुनाए । ‘कति त नाबालकमै विवाह गरेका कारण विद्यालय आउदैनन्,’ उनले भने, ‘पालिकाको योजना लागू भएसँगै छोरीहरुको उच्च शिक्षा पढ्ने चाहना पूरा हुनेमा विश्वास बढेको छ ।’ विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंकको खाता खोलिदिएको गाउँपालिकास्थित स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनले कार्यक्रम आकर्षक र प्रभावकारी भएको बताए । रासस
डोटीको सायल गाउँपालिकाका ५८४ घरधुरी पहिराको जोखिममा
फाइल फाेटाे डाेटी । डोटीको सायल गाउँपालिकामा बाढी पहिराका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका छन् । गत वर्ष असोज, कात्तिक महिनामा परेको अविरल वर्षाले गाउँमाथिबाट पहिरो आएको र ती बस्ती हालसम्म स्थानान्तरण नगरिँदा अहिले जोखिममा परेका स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । उनले भने, ‘पोहर सालको बाढी पहिराले बस्ती नै सार्नु पर्ने थियो, अहिलेसम्म बस्ती स्थानान्तरण गरिएन अब ठूलो पानी परे कतिबेला पहिराले बस्ती च्यापिन्छ, साह्रै जोखिम भयो ।” विगतमा डोजर प्रयोग गरी धमाधम ग्रामीण सडक निर्माण गरिएका क्षेत्रका सडक किनारका बस्ती पनि अहिले पहिराको जोखिममा रहेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा सडक पु¥याउने नाममा जथाभावी सडक खनिँदा अहिले पहिराले बस्ती नै जोखिममा परेका छन्, बस्ती कहाँ सार्ने गाह्रो भयो ।’ गाउँपालिकाको तथ्याङ्कअनुसार वडा नं ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै वडा नं ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा नं २ को सिर्मा गाउँका १२० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा परेका छन् । वडा नं १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् । यति मात्र नभई यहाँका पहिराको जोखिममा रहेका बस्तीमा सञ्चारका साधनले समेत काम नगर्ने गरेका कारण रातिको समयमा समस्या पर्दा तत्काल कहीँ कतै खबर गर्नसमेत नसकिने अवस्था रहेको वडा नं ४ का वडाध्यक्ष जगतबहादुर साउँदले बताए । पहिराको जोगिममा रहेका सायलका बस्तीहरुमा सञ्चार सम्पर्क सहजताका लागि फोनका टावरहरु निर्माण गर्न पहल भइरहेको गाउँपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गत वर्षको असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आएको अविरल वर्षा र बाढीपहिरामा परी उक्त पालिकामा ६ जनाले ज्यान गुमाएका थिए । बाढी र पहिराका कारण २०० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए भने ४१ घरहरुमा पूर्ण रुपमा क्षति भएको थियो । खेतीयोग्य जमिनसहित खेतीबाली बाढी पहिराले पुरेको थियो ।
दुई मिडियाविरुद्ध बालेनले दिए उजुरी, क्षतिपूर्तिको माग
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई मिडियाविरुद्ध उजुरी दिएका छन् । उनले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । उनले कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सञ्चार माध्यमहरूले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रूपमा प्रकाशन र प्रसारण गरेको तथ्यहीन समाचारहरूले भ्रम सृजना हुनाको साथै यसबाट व्यक्तिगत र संस्थागत आँच पुगेको उनले बताएका छन् ।