दूध उत्पादक किसानलाई भरतपुर महानगरको अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले कृषकलाई संयुक्तरूपमा चेक हस्तान्तरण गरे । आर्थिक वर्ष २०७९/८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख लिटर दूधको प्रतिलिटर तीन रुपैयाँका दरले छ करोड १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । आव २०७४/७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलोपटक अनुदान दिन सुरु गरेको थियो । पच्चीस पैसाबाट सुरु गरेको अनुदान रकम चालु आवमा तीन रुपैयाँ पुगेको हो । गत आवमा आठ हजार सात सय ३५ कृषकले अनुदान पाएकामा चालु आवमा ११ हजार पाँच सय ३४ जनाले अनुदान पाएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको बताए । प्रदेशले दिने अनुदानलाई महानगरमार्फत पाँच रुपैयाँ दिने गरी व्यवस्था मिलाउन अनुुरोध गरिएको उनले जानकारी दिए । भरतपुर महानगरपालिकाले कृषकलाई लक्षित गरी पशु स्वास्थ्य घरदैलो उपचार, गोठ सुधार, पशु खरिदमा अनुदान, बाख्रा, बङ्गुर तथा हाँस वितरण गरेको छ । यस्तै विभिन्न यन्त्र उपकरण, प्राविधिक तालिम, पाँच सयवटा काउम्याटलगायतका सामग्री वितरण गरिएको प्रमुख दाहालले बताए । महानगरपालिका उपप्रमुख अधिकारीले कृषकलाई थप व्यावसायिक बनाउन अनुदानले सहयोग पुर्याउने बताए । महानगरपालिकाले उत्पादन वृद्धि गर्ने नीति लिएअनुरुप कृषिमा आधुनिकीकरणतर्फ जाने कार्यक्रम ल्याइएको उनले उल्लेख गरे । रासस

बाँकेमा सिकलसेलका बिरामीको निःशुल्क बीमा हुँदै

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक–२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गर्ने नीति ल्याएको बताए । सिकलसेल भएका बिरामीले जीवनभरी औषधि खानुपर्ने बाध्यता छ । कम आयस्रोत भएकालाई औषधि किन्न समेत अप्ठेरो भएकाले सो नीति अघि सारिएको गाउँपालिकाले जनाएको छ । ‘आगामी आवदेखि सिकलसेलका बिरामीलाई पालिकाले बीमा कार्यक्रममा समेट्छ, बीमाबापतको शुल्क पालिकाले तिर्छ’, उनले भने । राप्तीसोनारीका चार वटा वडामा नमूना परीक्षणमा ११ जना सिकलसेलका बिरामी फेला परेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । पछिल्लो पटक वडा नं ६ कमैयाडाँडामा छ सय ३१ जनाको नमूना जाँच गर्दा दुई रोगी र ३६ जना बाहक फेला परेका छन् । वडा नं २ कचनापुरमा चार सय ८७ जनाको नमूना जाँच गर्दा तीन रोगी र ४४ जना बाहक फेला परेका छन् । गतवर्ष वडा नं ३ र ४ मा दुई हजार एक सय ९५ जनाको नमूना जाँच गर्दा ६ जना रोगी र दुई सय ९१ जना बाहक फेला परेका थिए । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञलाई वडास्तरमा पु¥याएर स्थानीयलाई सचेत बनाउने काम गरिरहेको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वलीसहितको टोलीले रोगीलाई परामर्शसमेत दिने गरेको छ । चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिन धेरै प्रकारका हुन्छन । जसमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ । तर, आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून रहने बताइएको छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग भएकाले रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भएको चिकित्सकको भनाइ छ । बाँकेमा रहेका अधिकांश पालिकाले यसलाई उच्च प्राथमिकतमा राखेर बजेट विनियोजना गरेका छन् । रासस

बुटवलका मासु पसलमा अनुगमन, १ सय केजी अखाद्य मासु जफत

काठमाडौं । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो । उपमहानगरपालिकाले २९ मासु पसल र ‘सप्लायर्स’मा अनुगमन गरी एक सय एक किलो अखाद्य मासु जफत गरी नष्ट गरेको छ । बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी सङ्घ सहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यबाहक प्रमुख सावित्रादेवी अर्यालले बताइन् । अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसल एकैठाउँमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा ‘सप्लायर्स’लाई चेतावनी दिँदै सुधार गर्न निर्देशन दिइएको उनले बताइन् । उनले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकालाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने जानकारी दिइन् । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए । मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपक्षी बध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए । रासस