ललिता निवासको जग्गामा घर बनाए महानगरपालिकाले भत्काउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरमा निर्माण भएका भवनहरु हटाउने भएको छ । सोमबार एक सूचना प्रकाशन गरी महानगरपालिकाले ललिता निवास जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण गर्न रोक्का गरिएको बताएको छ । यदि महानगरपालिकाको सूचना उल्लङ्घन गरेमा भवन भकाइने महानगरपालिकाले जनाएको छ । ‘काठमाडौं महानगरपालिका वडा नं। ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्नु पर्नेछ,’ महानगरपालिकाको सूचनामा भनिएको छ । यदि सूचनाको उल्लङ्घन गरी कसैले सो क्षेत्र भित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने र भत्काउँदा लागेको खर्च समेत सम्बद्ध घरधनीबाट सरकारी बाँकी सरह असुल उपर गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरको विश्व संघ बोर्ड सदस्यमा बालेन नियुक्त

काठमाडौं । काठमाडौं महानगर प्रमुख शाह महानगरको विश्व संघमा बोर्ड सदस्य नियुक्त भएका छन् । महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) प्रमुख महानगरको विश्व संघमा बोर्ड सदस्यका रुपमा नियुक्त भएका हुन् । महानगरका मेयर बालेनको सचिवालय स्रोतका अनुसार शाहलाई सन् २०२४ देखि सन् २०२६ सम्मका लागि संघको बोर्ड सदस्यका रुपमा नियुक्त भएका हुन् । प्रमुख महानगरको विश्व संघ सन् १९८४ बाट स्थापना भएको हो । संसारभरका प्रमुख महानगरीय क्षेत्रहरुको विश्वव्यापी नेटवर्कका रुपमा रहेको यो संघले महानगरहरुको सामूहिक आवाज उठाउने र विश्वव्यापी सहयोग, संवादलगायत आदनप्रदान गर्ने काम गर्छ ।

वृत्तिमार्ग निर्देशन तथा रोजगार मेलामा पचास जनाले पाए रोजगारी

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा ५० जनाले रोजगारी पाएका छन् । मेलामा राखिएका विभिन्न सङ्घसंस्था, उद्योग, व्यवसाय एवं रोजगारदाता कम्पनीले मेलामा आवेदन दिएकामध्ये उनीहरुलाई मेलास्थलमै रोजगारी दिएको मेला मूल आयोजक समितिका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए । मेला अवलोकनमा आएका पाँच हजारभन्दा बढी युवायुवती एवं विद्यार्थीमध्ये मेला प्रदर्शनी कक्षमा रहेका विभिन्न रोजगारदाता कम्पनीमा चार सय ८० जनाले रोजगारीका लागि आवेदन दिएको उनले बताए । मेलामा रोजगारी प्रदान गर्न इन्स्योर परियोजनाले छ, भक्तपुर चेम्बर अफ कमर्सले ५०, पूर्ण हस्तकला सङ्कलनले ५०, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२, मध्यपुर उद्योग वाणिज्य सङ्घले ११, जिल्ला सहकारी सङ्घ भक्तपुरले आठ, प्याब्सनले एक सय १७, बालकुमारी महिला समाज मध्यपुरथिमिले ५०, रोजगारी सर्भिसेज प्रालिले ९८ जनाको व्यक्तिगत विवरण सङ्कलन गरेको छ । मेलामा सबैभन्दा धेरै निजी विद्यालयहरूको संस्था प्याब्सन भक्तपुरले ४१ जनाका लागि रोजगारीको अवसर प्रदान गरेको छ । त्यसैगरी बालकुमारी महिला समूहले ३० र अन्य व्यावसायिक सङ्घसंस्थाले समेत गरी एक सयभन्दा बढीलाई रोजगारीका लागि सुनिश्चितता गरेको जनाइएको छ । यसैगरी मेलामा राखिएको वृत्ति मार्ग निर्देशन परामर्शमा एक हजार छ सय ५० जनाले परामर्श सेवा लिएको वडा नं ३ का वडाध्यक्षसमेत रहनुभएका आचार्यले बताउनुभयो । मेलामा निजी उद्योगका १२, सङ्घसंस्थाका पाँच, प्राविधिक विद्यालयका आठ, खाना, स्वास्थ्य सेवा गरी कुल ३४ प्रदर्शनी कक्ष थिए । मेलाको शुभारम्भ गर्दै सांसद  एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले मध्यपुरथिमिलाई शिक्षा, व्यावसायिक र पर्यटन गरी तीन क्षेत्रको केन्द्रका रूपमा विकास गर्न सकिने बताए । ‘मध्यपुरथिमिलाई विशेषगरी तीनवटा क्षेत्रको केन्द्रका रूपमा विकास गर्न सकिन्छ । एउटा शैक्षिक केन्द्र, दोस्रो व्यावसायिक केन्द्र र तेस्रो यहाँको धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण गरी पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ’, उनले भने । उनले भने, ‘मध्यपुरथिमिमा जुन सम्भावना छ, त्यसको विकास र विस्तार गर्न सके यहाँका नागरिकलाई यहीँ मलेसिया, दक्षिण कोरिया र अरबका देश बन्न सक्छ ।’ मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनतासमक्ष गरिएको रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता पूरा गर्न रोजगार मेला आयोजना गरिएको बताए । उनले मेलाका माध्यमबाट स्थानीयलाई रोजगारी दिने, रोजगारीको खोजीमा रहेका युवा र रोजगारदातालाई प्रत्यक्ष भेट गराउने र युवा विद्यार्थीलाई उनीहरूको वृत्ति विकासका लागि परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको बताए । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अन्य मेलाको तुलनामा यो रोजगार मेला नौलो रहेको चर्चा गर्दै मेलाको यसपटकको अनुभव र सिकाइलाई ग्रहण गरी आगामी दिनमा पनि यस्तो मेला आयोजना गरिने बताए । बिहानदेखि परेको वर्षाका बाबजुद मेलामा उल्लेख्य सहभागिता रहेको थियो । स्वीस सरकार विकास सहयोग एसडिसी, इन्स्योर परियोजना र हेल्भाटासको सहयोग रहेको थियो । रासस