एकल पुरुषलाई विदुर भत्ता दिने

जुम्ला । जुम्लाको  हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिइन् । आगामी आवमा कार्यान्वयन हुने गरी एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सो कार्यक्रमले हिमाका एकल पुरुषलाई राहत मिल्ने स्थानीयवासी बताउँछन् । कृषि क्षेत्रमा थप आकर्षण बढाउन गाउँपालिकाभित्रका विभिन्न वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष सुपर्ना शाहीले बताइन्। वडा नं १ लाई धान पकेट क्षेत्र, आाचार्यलिहीलाई तरकारी पकेट क्षेत्र, वडा नं २ को ओदीलाई आलु र लसुन पकेट क्षेत्र, वडा नं ३ लाई स्याउ, ओखर र फलफूल पकेट क्षेत्र, वडा नं ४ र ७ लाई गहुँ पकेट क्षेत्र, वडा नं ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र तथा वडा नं ५ को बुअ र वाजागाडालाई भेडा, सिमी तथा स्याउ पकेट क्षेत्र विकास गरी गरिबीको रेखामुनि रहेका बेरोजगार युवालाई उत्पादनशील कार्यक्रममा आबद्ध गर्न आवश्यक बजेटसहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले निःशुल्क स्वास्थ्य बीमा, गाउँपालिकाबाट लोक सेवा आयोगमार्फत अधिकृत वा सोभन्दा माथिका पदधारण गर्ने विशिष्ट व्यक्तिलाई सम्मान कार्यक्रम, पालिकाभित्र सार्वजनिक बस सेवा, विद्यार्थीसँग अध्यक्ष कार्यक्रममार्फत विभिन्न शैक्षिक सुधारका रणनीति गाउँपालिकाको १४औँ गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।

छोरी जन्माउने आमालाई ५ हजार रुपैयाँ दिने

सर्लाही । बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई  पाँच हजार सुत्केरी भत्ता दिने भएको छ । मधेसमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप पाँच हजार रुपैयाँ दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै दलित समूदायको उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने समेत घोषणा गरेकोे छ । नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम र बजेटठमा नेपालका प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, बागमती नदी किनारमा आधुनिक आर्यघाट निर्माण, सुविधायुक्त बजार केन्द्र निर्माण, सांस्कृतिक नमुना बस्ती, बागमती माछापोखरी (भरत ताल) पर्यटन पूर्वाधार निर्माण आयोजना, बागमती फनपार्क आयोजना, बागमती रिसोर्ट, कृषि आधुनिकीकरण कार्यक्रम, नगर बगैँचा आयोजना, बौद्ध तपोवन पर्यटकीयस्थल निर्माण लगायत समेटेको छ । नगरपालिकाको आगामी आवका लािग ९० करोड १० लाखको बजेट सार्वजनिक गर्दै करिब एक दर्जन योजनालाई नगर गौरबका योजनाको रुपमा समेटेको छ । जङ्गबहादुर राणा विसं १८७४ असार ४ गते अर्घाखाँचीमा जन्मिएका र तराईमा सिकार खेल्न आएको समयमा १९३३ सालमा रौतहटको पत्थरघट्टामा निधन भएको थियो । उनको अन्त्येष्टि भने सर्लाहीको बागमती नगरपालिका(७ राजघाटस्थित मानेचौरमा गरिएको थियो । अहिले नगरपालिकाले सोही स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागेको हो । रासस

स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम

स्याङजा । स्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन सुरु गरेको थियो । हाल भ्भिरकोट नगरपालिका, वालिङ नगरपालिका र चापाकोट नगरपालिका तथा फेदीखोला, बिरुवा र कालीगण्डकी गाउँपालिकामा कक्षा १ देखि ८, पुतलीबजार नगरपालिकामा कक्षा १ देखि ३ सम्म पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गरिएको छ । हरिनास गाउँपालिकामा कक्षा १ देखि ८, अर्जुनचौपारीमा कक्षा १ देखि ५, आँधीखोला गाउँपालिकामा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गरिएको छ । यी पालिकाहरुले पाठ्यपुस्तक निर्माण गर्ने तयारी गरेका छन् । गल्याङ नगरपालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गरेर आंशिक रुपमा पठनपाठन गराएको छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारले आफ्नो क्षेत्र अधिकारभित्रका आवश्यक विषयवस्तु समेटेर पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन गर्नसक्ने निर्देशिका जारी भएपछि स्थानीय तहलाई स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने बाटो खुलेको हो । तत्कालीन स्थानीय सरकारले २०४९ सालमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन गराउने अधिकार स्थानीय तहलाई दिए पनि लागु हुन नसकेको संस्कार, संस्कृति र अनुसन्धानको क्षेत्रमा काम गरिरहेको संस्था साभ नेपालका अध्यक्ष डा. तुल्सीप्रभास खनालले बताए । स्थानीय पठ्यक्रममा स्थानीय तहरुले पालिकाभित्र रहेका विभिन्न भाषा, धर्म, संस्कार, संस्कृति, कृषि, पर्यटन, कला, वन, जडीबुटी, सम्पदा सहितका विषयवस्तु समेटेका हुन्छन् । यद्यपि स्याङ्जाका स्थानीयतहले सरोकारवाला, विज्ञहरुको सहयोगमा आवश्यकताका आधारमा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेका छन् । फेदीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले मातृभूमि चिनाउने उद्देश्यसहित आफ्नो गाउँपालिकामा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर बालबालिकालाई पठनपाठन गराइरहेको जानकारी दिए । कालीगण्डकी गाउँपालिकाका प्रमुख खिमबहादुर थापाले लक्षित समूहले मात्र नभएर ठूला कक्षाका विद्यार्थी, अभिभावक र शिक्षकले समेत स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्ने गरेको बताए । उनले भने, ‘विद्यार्थीलाई जिल्लाबाहिर भ्रमण गराउन छाडेर पालिकाभित्रकै विभिन्न सम्पदाको भ्रमण गराउने गरेका छौँ, फलस्वरुप बालबालिकाले गाउँपालिकालाई राम्रोसँग बुझ्न पाएका छन् ।’ स्याङ्जाका विभिन्न पालिकाहरुको समन्वन र सहकार्यमा साभ नेपालले स्थानीय पाठ्क्रम तयार गर्न र पाठ्यपुस्तक प्रकाशन गर्न सहयोग गर्दै आएको छ । ‘पहिला आफ्नो माटो चिन, अनि बल्ल संसार चिन’ भन्ने नाराका साथ साभ नेपालले पाठ्यक्रम लागू भएका स्याङ्जाका सबै पालिकाहरुमा काम गरिरहेको छ । रासस