भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताए । उनका अनुसार भ्रमण वर्षबारे निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाइसकिएको छ । महानगरले भ्रमण वर्ष २०२४ मा दुई लाख विदेशी र सात लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागेको हो । हाल यहाँ वार्षिकरुपमा औसतमा ३० हजार विदेशी र चार लाख आन्तरिक पर्यटक आउने गरेको महानगरको भनाइ छ । नगर प्रमुख दाहालले नेपाल र विदेशमासमेत भरतपुर भ्रमण वर्षको प्रचारप्रसार गर्ने गरी कार्यक्रम तय गरिएको जानकारी दिए । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्ष, २०२४ लाई सफल बनाउन नगरप्रमुख दाहालको संयोजकत्वमा पाँच सदस्यीय निर्देशन समिति र ५०१ सदस्यीय मूलसमिति गठन गरिएको छ । निर्देशन समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्यसचिवमा पर्यटन विज्ञ रहेका छन् । साथै नगरउपप्रमुख अधिकारीको संयोजकत्वमा १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । समितिका संयोजकले १५ दिनभित्र कार्ययोजना तयार गरी पेस गरेपछि कार्यक्रमलाई अन्तिम रुप दिइने महानगरको भनाइ छ । भ्रमण वर्षको तयारीस्वरुप महानगरभित्रका ३३ पर्यटकीय गन्तव्यको जानकारी दिने उद्देश्यले मोबाइल एप पनि तयार गरिएको छ । महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीका अनुसार सातवटा मुख्य पर्यटकीय गन्तव्यसहित ३३ गन्तव्यको जानकारी र तस्वीर एपमा समावेश छन् । यससँगै छोटो भिडियो, वृत्तचित्त तयार गरी एपमा राख्ने काम जारी छ । उक्त एपमा मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, नारायणीसीबीच मोडल, ज्ञानेश्वर ब्लक र चौकीडाँडा यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्यबारे जानकारी समावेश गरिएको छ । भ्रमण वर्षका अवसरमा भारत र चीनमासमेत आवश्यक प्रचारप्रसार गरी भ्रमणवर्षको प्रबद्र्धन गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा चितवनलाई लिने गरिन्छ । यहाँको चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकका लागि परिचित छ । निकुञ्जको धेरै भाग महानगरसँग जोडिएको छ । महानगरका विभिन्न ठाउँबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ । साथै पवित्र तीर्थस्थल देवघाट, सूर्योदय हेर्न सकिने चौकीडाँडा, सूर्यास्त अवलोकन गर्न सकिने गोलाघाटलगायतका रमणीय पर्यटकीय गन्तव्य पनि यही छन् । नारायणी र राप्ती नदीको काखमा भरतपुर महानगरपालिका पर्दछ । रासस

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरपालिकाको अवरोध

काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानियले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो । पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे । उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे । यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफुहरुले महोत्सव गरेको बताएका थिए । नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो । आफूहरुले लिखित रुपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन् ।

नर्सिङ कक्षा सञ्चालन गरेको जग्गा महानगरले खाली गरायो

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ । प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो । भरतपुर–३ नगरबनमा डेढ बिघा जग्गामा बनाइएको भवन महानगरले प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई उपलब्ध गराएको थियो । तर बालकुमारी कलेजले उक्त जग्गामा रहेको भवनमा नर्सिङ कक्षा सञ्चालन गर्दैआएको थियो । यसरी आफ्नो जग्गा व्यापारिक लाभका लागि प्रयोग भएको पाइएपछि आफ्नो स्वामित्वमा ल्याएको भरतपुर–३ का वडाध्यक्ष विकास थापाले बताए । उनका अनुसार नगरप्रहरी र सुरक्षाकर्मीसहितको टोलीले आज उक्त जग्गा खाली गराएको हो । महानगरले २०५८ सालमा प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई जग्गा उपलब्ध गराएको थियो । त्यसको दुई वर्षपछि लायन्स क्लबले बालकुमारी कलेजलाई भोगचलनका लागि दिएको पाइएको वडाध्यक्ष थापाको भनाइ छ । ‘उद्देश्यभन्दा फरकरुपमा भवन प्रयोग गरेको पाइएकाले खाली गराएका हौँ’, उनले भने, ‘पत्राचार गर्दा पनि अटेरी गर्दा बल प्रयोग गरी भवन खाली गरेका हौँ ।’ बालकुमारी कलेजका सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले प्रसूति गृह सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति नपाएपछि नर्सिङ कक्षा सञ्चालन गर्न बाध्य भएको बताए । रासस