आजदेखी सुर्तीजन्य पदार्थमा निषेध

मनहरि । मकवनपुरका तीन स्थानीय तहले आजदेखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखी यस्तापदार्थ निषेध गर्न लागेका हुन् । मनहरि गाँउपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए । पालिकाले नीति तथा कार्यक्रममै यस क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पु¥याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाले पनि आजदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने जनाएको छ । उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनबमोजिम उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाको आधारमा यस्ता पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए । ‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पतालजस्ता क्षेत्रको एकसय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । निर्देशन नमान्ने जोकोहीलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिने छ,’ उनले भने । होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्न लागिएको प्रवक्ता न्यौपानेले बताए । मनहरि र हेटौडाजस्तै बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै आफ्नो पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर सूचना जारी गरेको बताए । ‘हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उनले बताए । रासस

काभ्रेमा ‘प्याराग्लाइडिङ’ उडान सुरु, कति लाग्छ शुल्क ?

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गरे । उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताए । ‘देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको प्याराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमासमेत वृद्धि हुनेछ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि उक्त प्रालिलाई औपचारिक (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) उडानको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको जनाउँदै आवश्यकता र मौसमका आधारमा प्याराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार पोखरामा सञ्चालन भएका प्याराग्लाइडिङ कम्पनीहरूको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गर्न लागिएको हो । धुलिखेलमा एकैपटकमा छवटा उडान भर्न सकिने छ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानवापत तिरिएको सात हजार रुपैयाँमा ३७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको उनले बताए । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कले घुम्न र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यस्तै गतसाल पुस अन्तिम साताबाट पनौती नगरस्थित पर्यटकीय पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान भइसकेको छ । प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङको अनुमति दिएको थियो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप माघदेखि परीक्षण उडानसँगै डेमोष्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्यान्डिङ’का स्थान व्यवस्थित गरी व्यावसायिक उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए । उनका अनुसार सुरुआती चरणमा तीन प्याराग्लाइडिङबाट ‘डेमोष्ट्रेशन’ उडान गरिएको थियो भने क्रमशः दश वटाले प्याराग्लाइडिङबाट समेत उडान सञ्चालनमा ल्याइएको छ । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दुमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । उक्त स्थानबाट उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले अनुमति पाएको थियो । उक्त प्रालिले दैनिक १० प्याराग्लाइडिङले विहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । हाल प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुमडाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटनमा थप प्रचारात्मक हुने अपेक्षा गरिएको पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा अपेक्षा गरिएको छ । यसैगरी काभ्रेकै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि कही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । उक्त क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ । विशेषगरी काभ्रेमा अधिकांश पहाडी भू–भाग रहेकाले साहसिक खेल प्याराग्लाइडिङ प्रवर्द्धनका लागि प्रचुर सम्भावना देखिएको हो । रासस

कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘मानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थ प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ’, उनले भने, ‘भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।’ नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उनको भनाइ छ । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नगर कुरुप बनेको नगरप्रमुख पोखरेलको भनाइ छ । ‘बाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छ’, उनले भने, ‘यसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।’ नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् । रासस