‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’

काठमाडौं । व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । व्यावसायिक भवनले पार्किङ शुल्क लिए महानगरको ९८५१०५१६१० मा फोन गर्न आग्रह गरिएको हो । कामपाले सम्पर्क अघिकारीको रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । शुल्क लिन नपाउने विषयमा कामपाले यस अघिनै सूचना सार्वजनिक गरेको थियो । कामपाको आर्थिक ऐन, २०८० ले निजी मार्ट, रेष्टुराँ, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ् गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको कामाप नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । कामपाको सूचनालाई बेवास्ता गरी कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो गरेपछि कामपाले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको पाण्डेको भनाइ छ । ऐनमा निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले कामपाबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था छ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन हुनेछ । न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म)मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारीसाधन पार्किङगरेबापत दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ । क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेक अन्य स्थानलाई क्षेत्र नं २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारीसाधन पार्किङ गरेबापतप्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रे लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १ सय रुपैयाँ तोकिएको छ । निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ शुल्क लिन सक्ने व्यवस्था छ । पार्किङ क्षेत्रमा अनिवार्य कामपाले दिएको स्वीकृत पार्किङ सङ्केत चिह्न, सूचना पाटी राख्नुपर्नेछ । सूचना पाटीमा पार्किङ दर्ता नम्बर, पार्किङसम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनुपर्नेछ । पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ गर्नुपर्नेछ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ शुल्क लाग्ने छैन ।

प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिएर हटाउँदै करारका कर्मचारी

काठमाडौं । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनीहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिए । ‘हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौँ । अधिकांश करारका कर्मचारीको अभिलेखसमेत छैन । अभिलेख भएका र नभएका सबैलाई हटाउने निर्णय गरेका छौँ,’ उनले भने, ‘५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ र त्योभन्दा मुनिका कर्मचारीलाई ४५ दिनको सेवासुविधा दिने गरी हटाइएको छ । उमेरले भ्याउने करारका कर्मचारीले अब खुलाइने विज्ञापनमा समेत आवेदन दिनसक्ने व्यवस्था मिलाएका छौँ ।’ गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी करारमा कार्यरत सबै कर्मचारी हटाएको गाउँपालिकाले जनाएको छ । करारमा कार्यरत सबै कर्मचारी हटाइएसँगै नयाँ नियुक्तिका लागि प्रक्रियासमेत अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले जानकारी दिए । ७ वडा रहेको उक्त गाउँपालिकामा ६४ स्थायी कर्मचारीको दरबन्दी रहे पनि छैटौँ तहका अधिकृत २, वडा सचिव ५, प्राविधिक ५, १ लेखापाल, १ कम्प्युटर अपरेटर, शिक्षा शाखामा २ प्राविधिक सहायक, स्वास्थ्य शाखामा १ अनमी र महिला तथा बालबालिका शाखामा १ जना महिला सहायकमात्र स्थायी रहेका छन् । गाउँपालिकामा आवश्यक दरबन्दीअनुसारका कर्मचारीका लागि सम्बन्धित निकायमा माग गरिए पनि अहिलेसम्म सम्बोधन हुन नसकेको गाउँपालिका अध्यक्ष राईले बताए । अधिकांश शाखामा करारका कर्मचारीमार्फत् सेवा हुँदै आएको उक्त गाउँपालिकामा एकैसाथ सबै करारका कर्मचारी हटाउँदा सेवा प्रवाहमा समस्या हुने सम्भवना देखिएको स्थानीय बासिन्दाले बताएका छन् । एमाले नेतृत्वको गाउँकार्यपालिका बैठकले अघिल्लो कांग्रेस नेतृत्वको स्थानीय सरकारले नियुक्त गरेको सबै करारका कर्मचारी एकैसाथ हटाउनुमा राजनीतिक पूर्वाग्रह रहेको उनीहरूले बताएका छन् । १० स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको करारका कर्मचारी हटाएर नयाँ नियुक्त गरेको थियो । अघिल्लो स्थानीय सरकारले कार्यदक्षताभन्दा आफ्ना कार्यकर्तालाई संरक्षण गर्ने उद्देश्यले करारमा कर्मचारी नियुक्त गरेको जनाउँदै पुरानालाई हटाएर नयाँ नियुक्त गरेको हो । स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले जितेको जिल्लाका ३ स्थानीय तहले करारका कर्मचारी हटाएको विरोधमा एमालेले आन्दोलनसमेत गरेको थियो । जिल्लामा ४ वटामा बाहेक अन्य स्थानीय तहमा अहिलेसम्म करारमा नियुक्त भएका पुराना कर्मचारीलाई हटाइएको छैन । २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा नेपाली कांग्रेसले ६ तथा एमाले र नेकपा (माओवादी केन्द्र)ले २–२ स्थानीय तहमा स्थानीय सरकारको नेतृत्व गरेको छ । रासस

हेटौँडामा राजमार्ग विस्तार थालियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । ‘कडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर पर्खाल भत्काउन लगायौँ’, उनले भने । सडक विस्तारको काम पेचिलो बन्दै गइरहेका बेला उपमहानगरले केही साताअघि बजार क्षेत्रको सडकको दायाँबायाँ राखिएका विभिन्न फलफूलका बोटबिरुवा, गमला र फलामका रेलिङ हटाएको थियो । उपमहानगर प्रमुख मीनाकुमारी लामाले सडक विस्तारबाट हेटौँडाको सुन्दरता बढ्ने उल्लेख गर्दै उनले सो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन् । सडक डिभिजन कार्यालयका प्रमुख राजेश यादवले कार्यालयले घरटहरालगायतका संरचना हटाउन दिएको म्याद सकिएकाले आजदेखि अदालतमा फछ्र्योट भएर आएका तीन सय ४० घरको सडकमा पर्ने जग्गा खाली गराइने उनले जानकारी दिए। रासस