मेयर बालेनको सचिवालयले भन्यो : प्रहरीले मानवीय संवेदना ख्याल नगरी धम्क्यायो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले प्रहरीले सामान्य मानवीय संवेदनासमेत ख्याल नगरी असभ्य व्यवहार गरेको बताएको छ । शनिबार सरकारी गाडी प्रयोग भएको र मेयर साहले सोसल मिडियामार्फत दिएको ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्तिको बचाउ गर्दै मेयरका स्वकीय सचिव भुपदेव शाहले विज्ञप्ति प्रकाशन गरेका हुन् । काठमाडौं महानगरपालिका प्रमुख र धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको साहको सचिवालयले बताएको छ । सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी काफ्लेको स्वास्थ्यमा एकाएक जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको महानगरपालिकाको सरकारी गाडी प्रयोग गरिएको सचिवालयले बताएको छ । काफ्लेले स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा राती करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा असभ्य व्यवहार गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे ।सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ।’ सवारी चालकले ट्राफिक प्रहरीलाई विशेष परिस्थितिमा सरकारी गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराएको, बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको जानकारी गराएको तर, नगर प्रमुखसहितको परिचय खुलाए पछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको विज्ञप्तिमा उल्लेख छ । ट्राफिक प्रहरीलाई आपतकालिन अवस्थाको बारेमा जानकारी गराउँदा पनि ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिएको स्वकीय सचिव शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ । प्रहरीले मेयर साहको गाडी रोकेको भन्दै बालेन साहले शनिबार राती सोसल मिडियाबाट सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । उनले सरकारलाई ‘चोर सरकार’ भनेका थिए । सोसल मिडियामा साहको अभिव्यक्तिबारे विभिन्न टिप्पणी भइरहेका छन् ।
म्याग्दे र आँबुखैरेनीमा सयपत्री फूलको व्यावसायिक खेती
तनहुँ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलखेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन पुष्पखेतीलाई प्रवर्धन गरिएको जनाइएको छ । आँबुखैरेनी-१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा २० हजारभन्दा बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् । ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूल रोपिएको हो । आमा समूहलाई उत्पादनमूलक समूहमा परिणत गर्ने अभियानअन्तर्गत व्यावसायिक फूलखेती सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । विदेशबाट आएको फूल आयातलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन यस किसिमको कदम चालेको उनले बताए । त्यसैगरी म्याग्देमा ७५ प्रतिशत अनुदान सहयोगमा म्याग्दे-५ मालेबगरका सुमन पौडेलले चार हजार सयपत्री फूलका बिरुवा लगाएका छन् । पुष्पखेती विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले सयपत्री फूलखेती गर्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । फूलमा देश आत्मनिर्भर हुन नसक्दा बर्सेनि छिमेकी देशसँग निर्भर भइरहेको अवस्थामा त्यसलाई अन्त्य गर्न केही वर्षयता यहाँका किसान पुष्पखेतीतर्फ आकर्षित हुँदै आएका छन् । सानो लगानीमा राम्रो आम्दानी गर्न मिल्ने भएपछि किसानहरु पुष्पखेतीतर्फ आकर्षित भएको पाइन्छ । तनहुँका शुक्लागण्डकी, भीमाद, म्याग्दे, आँबुखैरेनी, बन्दीपुरलगायतका विभिन्न स्थानमा पुष्पखेती गरिँदै आएको छ । रासस
मझगाउँ विमानस्थल निर्माणले गति लिन सकेन, २५ प्रतिशतमात्र काम सम्पन्न
बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माका अनुसार अहिले बर्खाले गर्दा विमानस्थलको काम रोकिएको छ । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले काम रोकिएको उनले बताए । ‘माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या छ’, उनले भने, ‘त्यसैले अहिले काम रोकिएको छ, बर्खा रोकिएपछि फेरि काम सुरु हुन्छ ।’ आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको नौ सय मिटर सवबेस निर्माण भएको छ । यस्तै नौ सय मिटर नाली निर्माणको काम पनि सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको हो । विमानस्थल पुनः निर्माणमा यहाँको भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नवाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो । उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमा पनि लिएको थियो । काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको काम भइरहेको हो । मझागाउँ विमानस्थलमा अहिले एक हजार पाँच सय २५ मिटर लामो धावनमार्ग निर्माण गरिनेछ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । त्यसपछि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गर्दछन् । रासस