कास्कीको काहुँखोला–सिक्लेस सडक एक सातादेखि अवरुद्ध

कास्की । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । एकसातादेखि सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ । मादी–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले निरन्तररुपमा पानी परिरहेकाले सडक सञ्चालनमा समस्या भएको बताए । पहिरो खस्ने क्रम नरोकिएकाले पानी पर्न बन्द भएपछि मात्रै सडक सञ्चालनका लागि पहल गरिने उनले बताए । ‘पहिरो निरन्तररुपमा खसिरहेको छ । पटकपटक पहिरो पन्छाएर सडक सञ्चालन गरे पनि पुनः पहिरो खसेर सडक अवरुद्ध हुँदा पालिकाको स्रोतसाधन मात्र खर्च भएपछि तत्काल पहिरो पन्छाउने काम गरेका छैनौँ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘पानी पर्न बन्द भएपछि मात्र सडक सञ्चालनको पहल गर्ने योजनामा छौँ । अहिले पहिरो पन्छाउँदा थप दुर्घटना हुन सक्ने भएकाले यात्रुलाई सवारी परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएका छौँ ।’ सडक अवरुद्ध भएकाले यात्रुले गन्तव्यमा पुग्नका लागि दुई वटा गाडी परिर्वतन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । पहिरो गएको स्थानसम्म पोखराबाट गएर झोलुङ्गे पुल हुँदै १० मिनेटको बाटो हिँडेपछि अर्को सवारी साधनमा चढेर गन्तव्यमा पुग्ने व्उवस्था मिलाइएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिराले ७० मिटर जति सडकमा क्षति पुर्‍याएको छ । पहिरो पन्छाएर सडक सञ्चालनका लागि गाउँपालिकाले जनशक्ति तथा अन्य आवश्यक सामग्री र लागत तयारी अवस्थामा राखेको उनले जानकारी दिए । पोखराको काहुँखोलादेखी सिक्लेस ४२ किमीको दूरीमा पर्दछ । पहिराका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिक समस्यामा परेका छन् । सवारी साधनमा काँहुखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ । सिक्लेस पर्यटकीय हिसाबले पनि प्रख्यात छ । गुरुङ संस्कृतिको अध्ययन तथा अवलोकनका लागि पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । रासस

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी । उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न  सेवा दिने छ ।  गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको बताए  । ‘पहाडी पालिका रहेकाले केन्द्रसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । यसको समाधानका लागि यातायात सञ्चालनमा ल्याएका हौँ,’  भने । गाउँपालिकाले  स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइसकेको छ । अध्यक्ष विश्कर्माले कृषि एम्बुलेन्सले कृषकहरुद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पु¥याइदिने गरेकोे बताए  । गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उनको भनाइ थियो । रासस

टोलवासीका प्राथमिकता अनुसार नै काम गर्न नगरपालिका प्रतिवद्ध छ : मेयर कार्की

काठमाडौं । शिव सुन्दर टोल सुधार समितिको १३ औं वार्षिक साधारण सभा शनिबार गोठाटार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारण सभाको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरे । विक्रम सम्बत २०६७ सालमा स्थापना भएको यस टोल समितिभित्र २०१ घरहरू आवद्ध छन् । कागेश्वरी मनोहरा नगरपालिकाको यो समिति सवैभन्दा पुरानो समिति पनि हो । सो अवसरमा मेयर कार्कीले स्थानीय सरकारको जनतासंग प्रत्यक्ष जोडिने युनिट भनेकै टोल सुधार समितिहरू भएकाले उनीहरूको प्राथमिकता अनुसार काम गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । मेयर कार्कीले पिउने पानी र शहरी सुरक्षाको व्यवस्थालाई आफूले उच्च प्राथमिकता राखेर काम गरिरहेको पनि सो अवसरमा बताए । सिव सुन्दर टोल सुधार समितिभित्रका टोलवासीहरूलाई आफूले विभिन्न चरणमा गरेर पिउने पानीको दिर्घकालिन व्यवस्थाका लागि काम गरिरहेको जानकारी दिए । एकै पटक एउटै कार्यक्रममा पिउने पानीको प्रवन्ध गर्न नसकिएपनि हाल रहेको पूर्वाधारलाई थप विस्तार गर्दै चरणबद्धरूपमा आफनै कार्यकालमा पानी वितरण गर्ने उहांले प्रतिवद्धता जनाए । शहरी सुरक्षा अहिले सवैभन्दा ठूलो चुनौतीको रूपमा रहेकाले नगरभित्र सीसीटीभी जडान कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम भैरहेको बनाए । साथै उनले कागेश्वरी मनोहरा नगरलाई उज्यालो नगर बनाउने आफ्नो अभियानलाई साकार पार्ने प्रतिवद्धता पनि जनाए । नगरपालिकाले घर बहाल कर संकलनलाई विशेष जोड दिंने र बहाल करको दर घटाई त्यसको दायरा विस्तार गर्ने सोंच अनुसार काम भएको भन्दै सबैलाई बहाल कर तिर्न अनुरोध समेत गरे । उनले यसरी उठेको घर बहाल करको २५ प्रतिशत रकम सम्बन्धित क्षेत्रका बासिन्दाको चाहना अनुसारको विकास कार्यमा उपयोग गरिने पनि बताए । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष अनिल थापाले आफूले वडावासीहरूसंग जोडिएर काम गर्ने प्रतिवद्धता जनाए । वडा अध्यक्ष थापाले घर भाडामा लगाउंदा हरेक घरधनीले भाडामा बस्नेसंग सम्झौता गरेर मात्र घर भाडामा लगाउने कार्यमा पनि समितिले सहयोग गर्नुपर्ने बताए । पछिल्लो पटक विभिन्न खालका घटनाहरू बढ्दै गएकाले त्यसको न्यूनिकरण र टोलवासीको सुरक्षाका लागि समेत घर वहालमा दिंदा एउटा सम्झौता गरेरमात्र दिंदा राम्रो हुने उनको सुझाव थियो । उनले सीसीक्यामरा टोलवासी र नगरपालिकाको वरावर लागतमा जडान गरिने योजना सुनाए । साथै, उनले टोल सुधार समितिसंग नियमित सम्पर्क छलफलमा रहेर विकास कार्यक्रम ल्याउने र त्यसमा समितिका पदाधिकारीहरूलाई पनि संगै लैजाने प्रतिवद्धता जनाए । साथै उनले टोलवासीसंग नियमित संवादको व्यवस्था आफूले गर्ने विश्वास पनि दिलाए । समाजका अध्यक्ष रण वहादुर कार्कीले टोल सुधार समितिहरूले जनतासंग प्रत्यक्ष जोडिएका विकास कार्यक्रम माग गर्ने हुंदा नगरपालिकाले अलि बढी ध्यान दिएर संवोधन गर्नुपर्ने सुझाव राखे । स्थानीय जनताको पहिलो प्राथमिकतानै पिउने पानी, सफा बाटो, उज्यालो र सुरक्षित टोल हुने हुंदा सोही अनुसार कार्यक्रम बन्नुपर्नेमा उनको जोड थियो । स्वागत मन्तव्यको क्रममा समितिका सहसचिव विदुरचन्द्र लामिछानेले नगरपालिका र वडाले टोलवासीसंग प्रत्यक्ष जोडिएर उनीहरूका गुनासाको सुनुवाई गर्नुपर्ने बताए । यसका लागि एउटा समय नै छुट्याएर नियमित संवाद छलफलको वातावरण बनाउनु पर्ने उनको सुझाव थियो । सो अवसरमा सिवसुन्दर टोल सुधार समाजका सदस्य ज्योति दाहालले संस्थाको आ.व. २०७९/८० लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए । वार्षिक साधारण सभामा एकिकृत कांडाघारी सामाजका अध्यक्ष डोलनाथ पोखरेल, शिव सुन्दर टोल सुधार समितिका उपाध्यक्ष राजन वस्नेत, गान्धी तुलसी क्याम्पस व्यवस्थापन समितिका सदस्य उदय बहादुर कार्की, समितिका सदस्य संजिव ढकालले समिति र नगरपालिका बीचको आपसी सहकार्यका विषयमा आआफना धारणा सहित वार्षिक साधारण सभाको सफलताको शुभ–कामना व्यक्त गरेका थिए ।