महानगरपालिका भित्रका सहकारीको १ खर्बको कारोबार, ५० प्रतिशतले बुझाउँदैनन् विवरण
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा १ हजार ९५३ सहकारी सञ्चालनमा छन् । जसमध्ये ९५५ ले मात्रै नियमितरूपमा वर्षिक विवरण पेस गरेका कामपाले जनाएको छ । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए । “अब नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने तयारी गरेका छौँ”, उनले भने । प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटकपटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको हो । “नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ”, उनले भने, “कामपाको भित्री वडामा सहकारीको सङ्ख्या बढी रहेकाले उक्त स्थानमा समस्या बढी देखिएका छन् ।” हाल कामपामा सहकारी संस्थाको वार्षिक १ खर्ब रुपैयाँको कारोबार रहेको अनुमान गरिएको प्रमुख त्रिपाठीले बताए । उनका अनुसार सहकारीले ठगी गरेको उजुरी पनि प्रशस्तै आउने गरेका छन् । पाँच वर्षको अवधिमा कामपाका २२४ सहकारीमा ६ हजार उजुरी परेको प्रमुख त्रिपाठीले बताए । “यसरी उजुरी गर्नेमा बचतकर्ता र सर्वसाधारण रहेका छन्”, उनले भने, “उजुरीहरुमा सहकारीले भाडा नतिरेको, बचत रकम फिर्ता नगरेको, केहीले कमचारीलाई तलब नदिएको लगायत छन् ।” संवैधानिक व्यवस्थाअनुसार वि.सं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । कामपामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन् ।
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । वडा अध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वडासचिव प्रकाश खड्काका अनुसार डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापतिसमेत रहेका रिजाल दोस्रोपटक वडाध्यक्ष निर्वाचित भएका हुन् । काठमाडौं महानगरको पहिलो बैठकपछि रिजाल थप चर्चित भएका थिए । लाइभ गरिएको सो बैठकमा उनले मेयर बालेन साहका कार्यशैलीमाथि प्रश्न उठाएका थिए । रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
यी ७ कम्पनीले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पुर्वाधार निर्माण गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने सडक पुर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विभिन्न ७ कम्पनीलाई ठेक्का स्वीकृत गरेको छ । महानगरपालिकाले विष्णुमति करिडोर लगायतका संरचना निर्माण कार्यका लागि ७ कम्पनीको बोलपत्र स्वीकृत गरेको जनाएको छ । महानगरपालिका सार्वजनिक निर्माण विभागले निर्माण कार्यका लागि विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । सोही बमोजिम रीतपूर्वक पर्न आएका बोलपत्रहरूमध्ये न्यूनतम मूल्य भएका कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत रहेर स्वीकृत गरेको महानगरपालिले बताएको छ । महानगरपालिका अनुसार सिजन एण्ड सिवानी कन्स्ट्रक्सन, धर्ती आकाश निर्माण सेवा, आई एण्ड जी कन्स्ट्रक्सन प्रा.लि., जयश्री महालक्ष्मी मल्टिपर्पाेज कम्पनी प्रा.लि., माउन्टेन बङ्गलामुखी जे.भी., पशुपतिनाथ कन्स्ट्रक्सन र जे.के.शाह कन्स्ट्रक्सन कम्पनीले ठेक्का प्राप्त गरेका हुन् ।