नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि बिदा

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिका सबै विद्यालयमा बिदा दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ ।

‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि नेपाली खेलाडीलाई हौसला बढाउन जनकपुरधाम उपमहानगरले दिउँसो २ बजेपछि विद्यालयहरुमा बिदा दिएको थियो ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीच खेल सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो ।

Share News