भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड
चितवन । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै छ । गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षरोपण गर्न थालिएको छ । यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षरोपण भइरहेको छ । महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको बताइन् । यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘हरियाली प्रवर्द्र्धन र सरसफाइ अभियानअन्तर्गत यही वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना रहेको छ ।’ वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गर्ने, सरसफाइ गर्ने छन् । सोभन्दा फराकिला सडकमा महानगरले वृक्षरोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन् । यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षरोपण गर्न लागिएको दाहालले बताइन् । हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ । वृक्षरोपण र सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष एवं सदस्य, सम्बन्धित टोलका प्रतिनिधि एवं स्थानीय सहभागी भएका थिए । रासस
काभ्रेपलाञ्चोकमा दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बीमाशुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता भएका नागरिकको पनि निःशुल्क बिमा गरिएको छ भने तीन परिवारको महिला स्वयंसेविकाको ५० प्रतिशत सरकारले बेहोर्ने गरी बिमा गरिएको छ । चार सय एक परिवारको भने बिमा शुल्क आफैँले तिरेर बीमा भएको छ । रोशीको जनसङ्ख्यामध्ये ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको छ । हालसम्म रोशीको जनसङ्ख्या २३ हजार सात सय ९० रहेकोमा आठ हजार आठ सय ७८ जनाको स्वास्थ्य बीमा भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख गैगा श्रेष्ठले बताए । गत आर्थिक वर्षमा जेष्ठ नागरिकको स्वास्थ्यका लागि एक करोड अनुमानित बजेटमध्ये रु ६२ लाख ५४ हजार एक सय खर्च भएको लामाले बताए । ‘रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिमा कार्यक्रममा सामेल गरिएको हो ।’ यसैबीच रोशी गाउँपालिकाले १७ औँ विश्व रेबिज दिवस–२०८० को अवसर पारेर बुधबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ । गाउँपालिकमा रेबिजको जोखिम बढेकाले सुरु गरिएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइनेछ । अभियानमा छ सय कुकुर र छ सय ‘डोज’ खोप बिरालोलाई लगाउने लक्ष्य लिइएको छ । रासस
बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए । ‘वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ’, उनले भने, ‘बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ ।’ वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाई गरेको बताए । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइए पाँच सय जरिवाना गरिनेछ । पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयको त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो । त्यस्तै वडाभित्र दर्ता नभई सञ्चालनमा रहेको व्यवसायीलाई अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन गर्न पनि वडा कार्यालयले निर्देशन दिएको छ । रासस