बागमती नगरपालिकाले १ अर्ब लगानीमा पार्कसहितको रिसोर्ट बनाउँदै
काठमाडौं । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–११ मा बन्दै गरेको ‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ को काम अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन उक्त रिसोर्टको काम अन्तिम चरणमा पुगेसँगै अर्को वर्ष (२०८१) बाट सञ्चालन तयारी थालेको हो । बागमती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेलले आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र आन्तरिक तथा वाह्य पर्यटन भित्त्र्याउनुका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नगरपालिकाले उक्त रिसोर्ट निर्माण गरेको हो । नगर विकास कोषसँग सहकार्य गरी बागमती नगरपालिकाले अगाडि बढाएको उक्त आयोजनाले नगरको आर्थिक वृद्धिमा मदत पुर्याउने विश्वास लिइएको छ । ‘यो करिब १ अर्ब रुपैयाँको प्रोजेक्ट हो,’ उनले भने, ‘तर नगरपालिकाले ठेकेदार कम्पनीलाई फेजवाइज ठेक्का लगाएको छ । दोस्रो फोजसम्मको ठेक्का भइसकेको छ । १ अर्ब रुपैयाँ सबै खर्च भने हुँदैन ।’ पोखरेलले पार्क बनाउँदा सबै रकम एकैपटक खर्च नहुने बताउँदै अहिले महत्त्वपूर्ण काम सकेर पार्कबाट आम्दानी हुन थालेपछि थप कामहरू गर्दै जाने बताए । उनका अनुसार पार्क र रिसोर्ट निर्माण गर्दा अहिले करिब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । ठेकेदार कम्पनी धुलिखेल–जेवीले उक्त पार्क र रिसोर्टको ठेक्का पाएपश्चात् आर्थिक वर्ष २०७८/७९ बाट उक्त रिसोर्ट निर्माण कार्य सुरु भएको थियो । करिब ७ रोपनी क्षेत्रफलमा पार्क र रिसोर्टको काम भइरहेको पनि पोखरेलले बताए । धुलिखेल–जेवी कम्पनीका इन्जिनियर रविन रेग्मीले पार्क र रिसोर्ट निर्माणको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको बताए । उनका अनुसार फिनिसिङको काम पनि तीव्ररूपमा गर्ने योजना छ । उक्त पार्क र रिसोर्टको काम सक्दा करिब ६० देखि ७० करोड रुपैयाँ खर्च हुने रेग्मीले जानकारी दिए । के–के छन् सुविधा ? आधुनिक डिजाइनबाट बनाउन खोजिएको ‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ बागमती नगरपालिकाको गौरवको आयोजना हो । यो आयोजना बनिसकेपछि नगरभित्र पर्यटक आगमन बढ्ने र नगरको आन्तरिक आम्दानीमा वृद्धि हुने बताइएको छ । साथै, पार्क र रिसोर्टभित्र धेरै रोजगारी पाउने पनि नगरपालिकाले बताएको छ । नगरको वडा नम्बर ११ मा बनिरहेको यो रिसोर्ट र पार्क बागमती खोला नजिकै छ । खोला नजिकै भएकाले सोही ठाउँबाट बोटिङ गर्न पनि सकिने छ । उक्त एरियाभित्र केटाकेटी खेल्ने ठाउँ, हल, फोटोबुथ, रिसोर्ट, स्विमिङ पुल, पार्किङका साथै विभिन्न किसिमका पसल पनि हुनेछन् । रेग्मीका अनुसार रिसोर्ट ४० जना मान्छे बस्न सक्ने क्षमताको हुनेछ । आकर्षक पार्क साथै सेवा सुविधाले भरिपूर्ण यो पार्क धेरैको केन्द्रमा पर्ने नगरको विश्वास छ । पार्कबाट नगरको ७ करोड आम्दानी ‘बागमती म्युनिसिपल पार्क एण्ड रिसोर्ट’ एक वर्षपछि सञ्चालनमा आउँदै छ । सञ्चालनमा आएपछि पार्कभित्र नगरले प्रवेश शुल्क पनि निर्धारण गर्नेछ । रिसोर्टमा पर्यटन बस्ने साथै र्याफटिङ गर्नेहरू आउने भएकाले पार्क र रिसोर्टबाट आम्दानी हुनेछ । उक्त पार्क र रिसोर्ट सञ्चालन भएपछि वाषिर्क ७ करोड रुपैयाँ नगरलाई आम्दानी हुने अधिकृत पोखरेलले बताए ।
मंसिर २७ देखि सुर्तीजन्य वस्तु बिक्री र प्रयोगमा पूर्ण निषेध
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने बताईएको छ । प्रमुख पौडेलले भने, “हामी स्वस्थ्य सहर निर्माणको अभियानमा रहेका छौँ । उनान्तीसौँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी र्पुयाउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ ।” उनका अनुसार काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्नसक्ने व्यवस्था छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यससम्बन्धी व्यवस्था छ । विसं २०६८ मा जारी भएको ऐनको दफा ४ मा सार्वजनिकस्थल शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुराँ, छात्रवास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ । ऐनले सार्वजनिकस्थलको चारकिल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्नसक्ने व्यवस्था छ । सहरको स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूमपान नियन्त्रण पहिलो सर्त हो । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने कामपाको तयारी छ ।
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, बनायो नयाँ कार्यविधि
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेको प्रमुख प्रशासकीय अधिकृत भिमा कँडेलले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन । कार्यकारी भएर आएदेखि नक्सा पास तथा निर्माण इजाजतका लागि कार्यपालिकाबाट निर्णय गरी कार्यविधि पास गरी जग्गाको नक्सा पासको काम सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत कँडेलको भनाइ छ । पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराएरमात्र निर्माण गर्न नौवटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत कँडेलले जानकारी दिए । गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । नक्सा पास गरिसकेपछि निर्माण गर्दा पालना गर्नुपर्ने सर्तहरु लागू गरिएको छ । नक्सा पास गरेसँगै निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । नक्सा पास गर्दा आवश्यक पर्ने कागजात रहेका छन् । जसमा नागरिकताको प्रतिलिपि-एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि एकप्रति, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि एकप्रति, ट्रस नक्सा एकप्रतिलगायत कागजात नक्सा पास गर्ने स्थानीयवासीले ल्याउनुपर्ने तिला गाउँपालिकाको नक्सा शाखाले जनाएको छ । रासस