ह्याम्स अस्पतालले संस्थागत तर्फ सबैभन्दा बढी कर तिरेकोमा बुढानिलकण्ठ नगरपालिकाद्वारा सम्मानित
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ । अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो । सो समारोहमा नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सो सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी थिइन् । ‘आर्थिक वर्ष २०७९र८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गर्नुभएकाले १० औं नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ,’ नगरपालिकाले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ । नगरपालिकाले गरेको यस सम्मानले थप उर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।
महानगरले गर्याे ३ हजार बढी कुकुरको बन्ध्याकरण
काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो सातादेखि बन्ध्याकरण अभियान सुरु गरेको थियो । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सुरु गरेको हो । कामपा कृषि विभाग प्रमुख डा अवधेश झाका अनुसार यसै अवधिमा ५ हजार ३२० वटा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत दिइएको छ । कामपा–४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट उक्त अभियान सुरु गरेको हो । अभियानअन्तर्गत आगामी पुस पहिलो सातासम्ममा ५ हजार ८ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्ध खोप दिने तयारी छ । विभिन्न ९ सङ्घसंस्थाको सहकार्यमा गरिएको उक्त कार्य दैनिक २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिएको छ । कुकुरको अनियन्त्रित प्रजनन हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि रहेकाले कामपाले सोही विधि अपनाएको जनाइएको छ । हाल कामपामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक कुकुर बढी आक्रामक हुने गर्दछन् । रोगी अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरुले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको बताइएको छ । नेपालको मुलुकी अपराधसंहिता २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कामपाले केही समयभित्र चौपायालाई ओसारपसार गर्ने एम्बुलेन्स खरिद गर्ने पनि जानकारी दिएको छ ।
काठमाडौं महानगरभित्र दुई बसपार्क : जडीबुटीमा अर्को थपियो
काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंको एकमात्र काठमाडौं महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । एक महानगरभित्र एकमात्र बसपार्क बनाउने कामपाको नीति भएकाले दुई बसपार्क सञ्चालनको स्वीकृति नदिइएको उनको भनाइ थियो । मानन्धरका अनुसार विसं २०५६ मा महानगरका तत्कालीन नगर प्रमुख केशव स्थापित र लोत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भएर बसपार्क सञ्चालनमा ल्याइएको थियो । उक्त बसपार्कबाट दैनिक झण्डै पाँच सय सार्वजनिक सवारी साधन देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका जनाउँदै महानगरभित्र एकमात्र बसपार्क रहेको उनले बताए । ‘हामीले जडीबुटीको बसपार्कलाई मान्यता दिएका छैनौँ । महानगरको एकमात्र गोँगबुस्थित नयाँ बसपार्क मात्रै हो’, उनले भने । प्रवक्ता मानन्धरले एउटै पालिकाभित्र धेरै बसपार्क सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमासमेत समस्या हुने भएकाले एक पालिका एक बसपार्कको नीति दिइएको जानकारी दिए । उनका अनुसार पछिल्लो समय कमपाले यत्रतत्र छरिएर रहेका सार्वजनिक बसलाई अनिवार्यरुपमा बसपार्क भित्रबाट सञ्चालन गर्न सूचना जारी गरेको छ । ‘काठमाडौंभित्रको ट्राफिक व्यवस्थापनलाई थप सहजता होस् भनेर महानगरले चक्रपथ वरपर सडकबाट जथाभावी छुट्ने सार्वजनिक सवारी साधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्न सूचना जारी गरेका हौँ’, प्रवक्ता मानन्धरले भने । महानगरका यातायात विज्ञ जगतमान श्रेष्ठले कामपाको एक महानगर, एक बसपार्क नीति भएकाले जडीबुटीमा सञ्चालित बसपार्कलाई मान्यता नदिइएको बताए । ‘अरनिको यातायातले केही वर्षका लागि व्यक्तिगत जग्गा भाडामा लिएर क्षणिक स्वार्थका लागि बसपार्क सञ्चालन गरेका छन् । उक्त बसपार्कलाई कामपाले मान्यता दिएको छैन’, उनले भने । पर्यटकका लागि छैन बसपार्क कामपाभित्र दुई बसपार्क सञ्चालन हुँदा देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटक बसका लागि भने बसपार्क सञ्चालन हुन सकेको छैन । काठमाडौंको गोंगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क सञ्चालन हुँदा यहाँदेखि दुई किलोमिटर पर सोह्रखुट्टेको सडकबाट पर्यटक बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् । कोरोना महामारीका कारण नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारे पनि सङ्घीय राजधानी काठमाडौँमै पर्यटकीय बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन् । टुरिस्ट बस एशोसियशन अफ नेपाल ९टिवान०का अध्यक्ष कृष्ण आचार्यले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख व्यवसाय मानिएको पर्यटनका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको बताए । ‘विदेशी पर्यटक नेपालमा घुम्न आउने गरेका छन् । घुम्नका लागि कहाँबाट बस चढ्ने भन्नेबारे उनीहरुमा अन्योलता छ’, उनले भने, ‘अहिलेसम्म एउटा व्यवस्थित पर्यटकीय बसपार्क नहुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको पर्यटन क्षेत्रको राम्रो सन्देश जान सकेको छैन ।’ टिवानका पूर्वअध्यक्ष एवं बाबा एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक प्रह्लाद लोहनीले विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरे पनि नेपालमा यो व्यवस्था नहुँदा विदेशी पर्यटकलाई आवतजावतमा समस्या हुने गरेको बताए । ‘मुलुककै राजधानीमा पर्यटकका लागि बसपार्क नहुँदा विश्वमा नेपालको पर्यटन व्यवसायबारे गलत सन्देश जान सक्छ’, उनले भने । हाल काठमाडौंदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजान पर्यटकीय बस सञ्चालन हुँदै आएका छन् । तीन दशकभन्दा बढी समय कान्तिपथबाट पर्यटकीय सवारीसाधन ओहोरदोहोर गर्ने गरेकामा महानगर र ट्राफिक प्रहरीले यस क्षेत्रमा धेरै भीडभाड हुने गरेको भन्दै विसं २०७५ असार १६ गते कान्तिपथबाट पर्यटकीय सवारीसाधनको आवागमन हटाएर अस्थायी रुपमा सोह्रखुट्टेमा स्थानान्तरण गराएको थियो । सोह्रखुट्टेबाट सञ्चालित पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । कामपाका प्रवक्ता मानन्धरले महानगरभित्र पर्यटक बसपार्क बनाउने बारेमा अध्ययन भइरहेको जानकारी दिए । ‘महानगरभित्र पर्यटक बसपार्क निर्माणका लागि आठ स्थानमा अध्ययन गरेर वजेट विनियोजन गरिसकिएको छ’, उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि महानगर सधैँ तयार रहेको छ ।’ रासस