पर्वतमा उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई २० हजार अनुदान

पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने भएको छ । दुध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन रिजालका अनुसार उन्नत जातका गाई वा भैँसी जुनसुकै खरिद गरेर दुध तथा पाडापाडी र बाच्छाबाच्छी उत्पादन गर्नेलाई प्रति गाईभैँसी २० हजार अनुदान दिने निर्णय भएको छ । ‘बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारीका लागि अधिकांश युवा सहर पस्न थालेका छन् । स्थानीयस्तरमा रोजगारीका सम्भावना बढाउँदै पशुपालक कृषकलाई व्यावसायिक बनाउन पशुपालनमा आकर्षित गर्न थालिएको हो,’ उनले भने । रिजालका अनुसार यससँगै दुध उत्पादन बढाउने र गाउँगाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम छ । लिमे पाराकोटे भैँसी र रैथाने जातका गाईपालन गर्दा कृषकलाई समेत फाइदा नहुने र बाह्रैमास बाह्य जिल्लाबाट दुध तथा दुग्धजन्य वस्तु आयात गर्नुपर्ने अवस्था भएपछि कार्यपालिकाको बैठकले कृषकलाई अनुदान दिने निर्णय गरेको उनले जानकारी दिए । पालिकाभित्र व्यावसायिक रुपमा पशुपालन गर्दै आएका अगुवा कृषक, कृषि फार्म वा कृषि सहकारी संस्था र कृषक समूहले जतिसुकै सङ्ख्यामा खरिद गरे पनि सङ्ख्याको हिसाबले अनुदान वितरण गरिने रिजालले बताए । अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्नुका साथै स्वयं कृषक र गाउँपालिका पनि दुध, घ्यु, दहीलगायत दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने तथा बाह्य क्षेत्रमा निर्यात गर्न सकिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङको भनाइ छ । ‘स्थानीय जातका गाईभैँसी पाल्न र उन्नत जातका गाईभैँसी पाल्न उही समय, उही मेहनत र उही प्रकारको दानापानी आवश्यक हुन्छ,’ उनले भने, ‘एउटै खर्च लाग्ने भएपछि उन्नत जातका गाईभैँसी पालेर प्रशस्त आम्दानी गर्न सकिन्छ ।’ अध्यक्ष  गुरुङले चालु आवमा यो कार्यक्रमका लागि ६ लाख विनियोजन गरिएको र आगामी वर्षदेखि कृषकको मागका आधारमा बढाउँदै लैजाने बताए । उनले यस वर्ष ३० वटा उन्नत जातका गाई वा भैंसी खरिद गर्नेलाई २० हजारका दरले वितरण गरिने जानकारी दिए । रकम अपुग भएमा अर्को वर्ष मिलान गर्नेगरी व्यवस्थापन गरिने उनको भनाइ छ । पालिकाले सूचना जारी गर्दै उन्नत गाईभैँसी खरिद गरेबापत कृषकलाई उपलब्ध गराउने अनुदान कार्यक्रम सञ्चालन मापदण्ड २०७७ बमोजिम त्यस्ता पशु खरिद गर्नुपूर्व गाउँपालिकाबाट स्वीकृत लिनुपर्ने जनाएको छ । खरिद गरेपछि निवेदन र कृषकको नागरिकता, खरिद गर्नुपूर्व लिइएको सिफारिस, वडाको सिफारिस, कम्तीमा तीनदेखि पाँच वर्ष गाईभैँसी व्यावसायिक रुपमा पल्ने प्रतिबद्धता पत्र, बीमा पोलिसी तथा खरिद गरेको गाई वा भैँसीको तस्विर उपलब्ध गराएर भुक्तानी लिन सकिने लेखा अधिकृतसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । यसअघि पालिकाले काठेगाई अर्थात् स्थानीय जातका गाईपालन गर्ने कृषकलाई सुत्केरी भत्तास्वरुप पाँच हजार उपलब्ध गराउँदै आएको थियो । धार्मिक तथा जैविक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय जातका गाई लोप हुन नदिन विगत दुई वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विहादीमा झन्डै पाँच सयको सङ्ख्यामा स्थानीय जातका गाईपालन हुँदै आएको पालिकाले जनाएको छ । रासस

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम । रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे-३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो । आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन । भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बताएका छन् । हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयले जानकारी दिएका छन् । तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । गत वर्ष तीनै ठाउँमा फलाम रहे नरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उनले बताए । ‘गत साल गरिएको अध्ययनबाट हाम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो’, अध्यक्ष श्रेष्ठले भने, ‘झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ ।’ रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागले फलाम र तामा खानीको बारेमा तीन पटकसम्म अध्ययन गरिसकेको जनाइएको छ । रासस

स्याङ्जाको गल्याङ नगरपालिकाले ल्यायो छोरी जन्मिएपछि पाँच हजारमा बैंक खाता खोलिदिने कार्यक्रम

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । गल्याङभित्रका एघार वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन् । ‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भनिन्, ‘चालु आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने छौँ ।’ छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोलिदिएको उनले बताइन् । बिहीबार गल्याङ–३ स्थित एक दलित समुदायकी सुत्केरी आमाले छैटौँ छोरीका रूपमा जन्मदिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी भएको हो । ‘हाम्रो गाउँ समाजमा छोराछोरीप्रतिको विभेद न्यूनीकरण हुँदै गए पनि आंशिकरूपमा कायमै छ’, उपप्रमुख न्यौपानेले भनिन्, ‘नगरपालिकाले सुरु गरेको ‘नगरकी छोरी’ कार्यक्रम विशेषगरी छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि बढी महत्त्वपूर्ण हुने विश्वास लिएका छौँ ।’ नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन । छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको उनले बताइन्। ‘नगरपालिकाले सुरुमा खाता खोलेर रकम जम्मा गरिदिन्छ, पछिका दिनमा छोरीको नाममा घरपरिवारले थप रकम जम्मा गरिदिँदै जाँदा १८ वर्षमा ठूलो रकम प्राप्त हुन्छ’, उनले भनिन्, ‘तत्काल छोरीको प्रोत्साहनका लागि भए पनि पछि गएर आर्थिकरूपमा पनि सवलतातर्फ लैजान्छ ।’ नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोषिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम सञ्चालनमा छन् ।