महानगरको कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । २९औँ काठमाडौं महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने बताए । नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन कानुन निर्माण पहिलो प्राथमिकतामा रहेको बताए । ‘सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ’, उनले भने, ‘संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका लगायत सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ छ ।’ काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीनमध्येको एक सांस्कृतिक सहरका रूपमा रहेको जनाउँदै उनले विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपानआदिले काठमाडौंलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको बताए । ‘आदिम वैभवको उचित संरक्षणले काठमाडौंको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवर्द्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउँछ’, प्रधानमन्त्री दाहालले भने, ‘काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्द्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हुनुपर्दछ ।’ पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले सङ्घीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताए । ‘लागुऔषध, सुर्ती चुरोटलगायत वस्तुमा लगाइएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायत क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसबाट सरकारलाई समेत उत्प्रेरणा मिलिरहेको छ’, उनले भने, ‘यसका निम्ति महानगर प्रमुख, उपप्रमुखलगायत सिङ्गो महानगर परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलितरूपमा अगाडि बढ्न अपिल गर्दछु ।’ राजधानी सहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको उनको भनाइ छ । ‘काठमाडौं महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमूना प्रस्तुत गर्नेछ’, प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सरकारका तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति म सधैँ तत्पर छु ।’ उनले सामूहिक सहकार्यको संस्कृतिको जगमा उभिएर सङ्घीय शासन प्रणालीको फराकिलो आधारभूमिमा विकसित काठमाडौं सहर निर्माणको साझा लक्ष्य हासिल गर्न महानगर दिवसले सबैलाई प्रेरणा देओस् भनी कामनासमेत गरे। विसं २०५२ मा तत्कालीन काठमाडौं नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो ।
साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ : मेयर साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे । अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे । ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन्, काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन्, तिमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस्, साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ’, उनले भने । मेयर साहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग् आग्रह गरे ।
महानगरले ल्याएका स्वर्णिम योजना सम्पन्न भएपछि संघीय राजधानीको मुहार फेरिन्छ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गरेकी छिन् । शुक्रबार २९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उदेश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएको बताइन् । नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभइ नयाँ कामको पनि थालनी गरिरहेको जानकारी दिइन् । हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच पु¥याउन निःशुल्क कानूनी सेवा उपलब्ध गराएको पनि बताइन् । महानगरका कामबाट महान्गरवासी खुशी भएको अनुभुति गरेको बताइन् । ‘काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएका छौँ, नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभएर त्यस अलावा १० गौरवका योजनाहरु र २५ स्वर्णिम योजनाहरु अघि सारेका छौँ, महानगरपालिकामा न्यायिक सुशासन कायम गर्नका लागि न्यायिक क्षेत्रमा विभन्न आमुल परिवर्तन आउने नयाँ पाइला चालेका छौँ’, उनले भनिन्, ‘हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच हुनुपर्छ भनेर हामीले निःशुल्क कानूनी सेवा उपलब्ध गराएका छौँ, मेलमिलापको सेवा पनि निःशुल्क प्रदान गरेका छौँ, महानगरपालिकामा अहिले न्यायमा पहुँच वृद्धि भएको छ, महानगरवासी भने खुशी भएको अनुभुति गरेका छौँ ।’ उपप्रमुख डंगोलले महानगरपालिकाले विभिन्न नयाँसँगै सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको बताइन् ।