अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै

सिरहा । धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर ४५ प्रतिकिलोमा ४० किलो गहुँको बीउ ल्याई आठ कट्ठा खेतमा गरे । छ दिनमा बीउ उम्रिएर नौ दिनमा दुई पात हुनुपर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन । ‘मलखाद्य, ट्र्याक्टरको जोताइ, ज्याला सबै खेर गयो, खेत बाँझै रह्यो, मेरो त बिल्लीबाठै भयो हजुर, कसरी जहान, बालबच्चा पाल्ने ?’, यादवले भने, ‘हामी माटोमा परिश्रम गर्ने किसानमाथि यस्तो अन्याय गर्न हुन्छ र ?कस्ले दिने क्षतिपूर्ति रु हाम्रो आवाज कसले सुन्छ ?’ सोही वडाकी देवकुमारी यादवको पनि पीडा उस्तै छ । ‘भएको खेत पनि बाँझै रह्यो, धेरै फल्छ भनेर उन्नत बीउ सम्झेर ल्याएको, गहुँको बीउ नगरपालिकाले दियो तर नक्कली र पुरानो बीउ बाँडेछ, एउटा गेडो पनि उम्रिएन’, उनले भनिन, ‘नगरपालिकाले हामीलाई क्षतिपूर्ति दिनुपर्छ ।’ नगरपालिकाले किसानका लागि दुई पटक गरी अनुदानमा गहुँको बीउ वितरण गरेको थियो । अघिल्लो पटकमा साल्टट्रेनिङ कार्यालय लहानबाट बीउ खरिद गरी किसानलाई वितरण गरिएको थियो । उक्त बीउमा कुनै समस्या नभएको किसानले बताएका छन् । बीउको माग बढेपछि नगरपालिकाले नै सुनसरीको देवानगञ्जस्थित कुशवाहा बीज भण्डारबाट दोस्रो पटक गहुँको बीउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । उक्त आदित्य जातको एक सय १० क्विन्टल गहुँको प्रतिकिलो रू ४५ मा किसानलाई वितरण गरिएको थियो । सो बीउ लैजाने करिब पाँच सय ५० किसानको गहुँको बीउ नउम्रेपछि खेत बाँझै भएको हो । गहुँ नउमे्रपछि किसानको ट्र्याक्टर जोताइ खर्च, डिएपी मल र पोटास छरेको खर्च, ड्याङ बनाउन लागेको मजदुर खर्च र बीउ किनेको खर्च पनि डुबेको छ । अब दोहोर्‍याएर छर्न पनि गहुँको समय ढिलो भइसकेको छ । ढिलोगरी छरेको गहुँ मौसम नमिलेर नफल्ने र फागुन, चैतको पश्चिमी तातो वायुले गहुँको बाला नै सुकाइदिने किसानको भनाइ छ । पाँच सय ५० किसानको करिब एक सय १० बिघा जग्गा बाँझो रहँदा गहुँको उत्पादन न्यूनतम पनि दुई हजार दुई सय क्विन्टल नोक्सानी हुनेछ । कतिपय किसान दोहोर्‍याएर नयाँ बीउ खरिद गरी छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ । ‘खेती गर्दागर्दै कपाल सेतै भयो, तर यस्तो हत्ते कहिले आइलागेको थिएन’, ५७ वर्षीय किसान रासोभित यादवले भने, ‘सँगै छरेको जहुँ उम्रियो तर, गहुँ उम्रिएन, फेरि गाउँमै रु ६० किलोका दरले अर्को बीउ किनी दोहोरो खर्च लगाएर छरेको छु, तर ढिलो लगाएको खेती उब्जनी होला भन्ने आशा कमै छ ।’ साल्टट्रेडिङको बीउ राम्रो भए तापनि पछिल्लो पटक सुनसरीबाट ल्याइएको बीउमा सिकायत देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवान बताउँछन् । ‘साल्टट्रेडिङको बीउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ, गहुँको बीउ माग्ने किसानको चाप बढेपछि पुनः रु ११ लाख बराबरको एक सय १० क्विन्टल गहुँको बीउ मगाइयो, तर पछिल्लो पटक आएको बीउमा धेरै सिकायत आयो, दैनिक दर्जनौँ किसान कृषि शाखा घेराउ गर्न आउँछन्, गहुँको बीउ उम्रिएन, क्षतिपूर्ति देउ भन्छन्, हामीले के गर्नु के नगर्नु रु, अप्ठ्यारोमा परेका छौँ’, पासवानले भने । नगर प्रमुख शिवशङ्कर महतो भने बाहिर हल्ला गरिएजस्तो अवस्था नरहेको बताउँछन् ।  गहुँको बीउ नक्कली भएको भन्ने आशङ्का नगर्नसमेत उनले आग्रह गरे । उनले भने, ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर बीउ खरिद गरिएको हो, दुई चार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको होला ।’ खेत बाँझै हुने किसानको क्षतिपूर्ति सम्बन्धमा नगरप्रमुख महतोले क्षतिपूर्ति दिनै परे बीउको पैसा मिनाहा गरिदिने बताए। उनले आफू काम विशेषले काठमाडौँमा भएको र केही दिनमा फर्केपछि यस सम्बन्धमा थप अध्ययन गर्ने जानकारी दिए । किसानबाटै कर उठाउने जनताको नजिकको सरकारले किसानलाई राहत दिनुको सट्टा यसरी आहत दिनु दुःखद् भएको राष्ट्रिय कृषि समूह महासङ्घ मधेस प्रदेशका निवर्तमान अध्यक्ष मुक्ति यादवको भनाइ छ । पालिकाको बीउ खरिद प्रक्रियालगायतमा सरोकारवालाको ध्यान पुग्नुपर्ने र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन सबैले खबरदारी गर्नु आवश्यक रहेको यादवको भनाइ छ । रासस

विश्वबहादुरले एउटै बगानबाट बेचे ७५ लाखको सुन्तला

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा रुपैयाँमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् । कृषक अधिकारीले भने, ‘ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु । यो वर्ष ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ ।’ जिल्ला विकास समितिका पूर्वसभापति भइसकेका उनी सुन्तला खेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती सुरु गरेका अधिकारीले वार्षिक ६०/७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । उक्त सुन्तला बगानमा एक हजार तीन सयभन्दा बढी सुन्तलाका बोट छन् । उनले भने, ‘गत वर्ष राम्रो उत्पादन भएन । कहिलेकाहीँ समस्या आउँछ । म आफैँ पनि बिरामी भएँ, व्यवस्थापन कमजोर भयो ।’ सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ थियो । उनले भने, ‘अन्य वर्ष ६०/७० लाखसम्मको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो।’ ‘सुन्तला खेतीका लागि वार्षिक १५ लाख खर्च हुने गरेको छ’, उनले भने, ‘यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ । फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ ।’ अधिकारीले भने, ‘उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो । सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ । आम्दानी पनि राम्रो भइरहेको छ । यसबाट सन्तुष्ट नहुने कुरै छैन ।’ सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोरा इञ्जिनियर र छोरी डाक्टर पढिसकेको उनले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ । बगानसम्मै सडक जोडिएकाले बिक्रीका लागि सहज भएको सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या नभएको र बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताउँछन् । सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’ जिल्लामा गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको सम्बद्ध किसानहरुले बताए । उक्त केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न एक करोड बजेट विनियोजन गरी किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । रासस

सुन्तला खेतीबाट १० करोड भित्र्याउँदै इच्छाकामना

चितवन । सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै १० करोड रुपैयाँ आम्दानी लिने भएका हुन् । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ । शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट ७५ देखि ९० रुपैयाँ सम्ममा सुन्तला बिक्री हुने गरेको छ । यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको छ । त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्ताला उत्पादन भएको उनले बताए। गाउँपालिकामा लगाइएका २० हजार बोटमध्ये १५ हजार बोटले उत्पादन दिएको उनले जानकारी दिए। उनले भने, ‘उत्पादनका हिसाबले अघिल्लो वर्षको तुलनामा कम हो, उत्पादन कम भए पनि किसानले मूल्य भने राम्रो पाएका छन् ।’ गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो । सो कारणले गत वर्षको तुलनामा क्षेत्रफल बढे पनि उत्पादन हुने क्षेत्रफल विस्तार हुन नसकेको उनले बताए । उनका अनुसार ६० हेक्टर क्षेत्रफलमा उत्पादन लिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत उत्पादन घटेको छ । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताए । जिल्लाको एकमात्र पहाडी क्षेत्र रहेको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ। रासस