लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडासदस्य रूपा जैरूलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले आज जारी गरेको विवरणअनुसार उहाँको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएका अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ एम्पुल गरी जम्मा ३० एम्पुल बरामद गरेको जनाएको छ । जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०० किसानबाट २० हजार संकलन, स्थानीय सरकारले नै दिएन यान्त्रिक हलो
काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका किसान चिन्तित बनेका छन् । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउने गरी गत चैतमा नै ५० प्रतिशत रकम किसानबाट सङ्कलन गरेको थियो । कुश्मा नगरपालिकाका १४ वडाबाट ७०५ किसानले यान्त्रिक हलो उपलब्धताका लागि नगरपालिकामा निवेदन दिए पनि नगरपालिकाले विभिन्न विधामार्फत २०० किसानलाई छनोट गरेको थियो । छनोट पश्चात् ५० प्रतिशत बापतको २० हजार रुपैयाँ प्रति किसान सङ्कलन गरे पनि रकम लिएको तीन महिना बितिसक्दासम्म यान्त्रिक हलो उपलब्ध गराउन सकेको छैन । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलका अनुसार बोलपत्र आह्वान पश्चात् छनोट भएको क्वालिटी रिन्युएबल प्रालि काठमाडौंले समयमा गुणस्तरीय उपकरण उपलब्ध गराउन नसक्दा किसानलाई यान्त्रिक हलो वितरण गर्न ढिलाइ भएको बताए । नगरपालिकाले उक्त कम्पनीसँग ६२ लाख ७९ हजार रुपैयाँ लागतमा यान्त्रिक हलो उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको छ । गत जेठ २१ गते सम्झौता भए पनि अहिले असारमा मात्रै उक्त कम्पनीले परीक्षणका लागि यान्त्रिक हलो उपलब्ध गराएको र दुई पटकसम्म उपलब्ध भएका उपकरण चेक जाँचमा समस्या भएपछि पुनः ल्याउनका लागि अनुरोध गरिएको कृषि शाखाका निमित्त प्रमुख बलबहादुर जिटीले बताए । जिटीका अनुसार नगरपालिकाले माग गरेको हलो कम्तीमा ७ हर्जपावर र ८० किलो तौल हुनुपर्नेमा त्यो नभएपछि परीक्षणका लागि उपलब्ध गराएको हलो फिर्ता पठाएर अर्को माग गरिएको बताए । नगरपालिकामा हलोका लागि निवेदन दिए पनि रकम जम्मा गरेको तीन महिनासम्म हलो उपलब्ध नहुँदा आफूहरूले ठूलो रकम खर्च गरेर बाँझो खेतबारी जोत्नुपर्ने अवस्था आएको कुश्मा नगरपालिका-२ का किसान टीकाराम शर्माले बताए । ‘नगरपालिकाबाट समयमा नै गुणस्तरीय यान्त्रिक हलो आउला र वर्षे बाली लगाउला भन्ने थियो तर तीन महिना बितिसक्यो हलो आएन । अहिले प्रतिघण्टा १ हजार रूपैयाँ तिरेर जोत्नुपर्ने अवस्था आएको छ,’ उनले भने । उनी जस्तै अन्य किसानको पनि समयमा हलो उपलब्ध नगराएकोप्रति गुनासो व्यक्त गरेका छन् । सम्झौता गरेको कम्पनीले समयमा गुणस्तरीय सामग्री उपलब्ध गराउन नसक्दा किसानलाई सास्ती भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । जतिसक्दो छिटो किसानलाई हलो उपलब्ध गराउने गरी लागिएको उनको भनाइ छ । अहिले धान रोप्ने समयमा हलो उपलब्ध नहुँदा किसान ठूलो समस्यामा परेका छन् । अहिले पर्वतमा धान र कोदो रोप्न किसानलाई भ्याइनभ्याइ भएको छ ।
१९८ किमि सडक कालोपत्र ,१७ हजार ३७४ लाई साढे ६३ करोड भत्ता वितरण
काठमाडौं । घोराही उप-महानगरपालिकाले पछिल्लो ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगर प्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो ९ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ । नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उनले बताए । सहरी सौन्दर्यीकरण र सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याइएको छ । नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम कम गरिएको छ । खानेपानी र सिँचाइमा आत्मनिर्भरता नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताए । कृषि क्षेत्रलाई लक्षित गरी ४३ कृत्रिम जलाशय निर्माण गरिएका छन् । जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको उनको भनाइ छ । ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र ७ वटा शौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ । नगर प्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा क्षेत्रमा २७ विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा थपिएका छन् भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्यतर्फ २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । सामाजिक सुरक्षाका क्षेत्रमा १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । घोराहीले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई विधिसम्मत बनाएको छ । वडास्तरबाटै अनलाइन घटना दर्ता, अनलाइन नागरिकता सिफारिस र राजस्व सङ्कलनजस्ता विद्युतीय शासन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो तथा पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए । वातावरण संरक्षणका लागि एक हजार ३०० थान इन्डक्सन चुलो र ४५० थान सुधारिएको चुलो वितरण गरी धुवाँ मुक्त भान्सा अभियानलाई समेत सहयोग पुर्याइएको छ ।