भारतीय तन्नामा पल्टेर नेपालको हित सोच्दा

मलाई सम्झना छ, २०५५/५६ सालतिरको कुरा हुनु पर्छ । भारतका एक जना चर्चित सिने कलाकारले नेपाली मानिस मन पर्दैन भनेर एक इन्डियन पत्रकारसँग भने भन्ने हल्ला फैलियो । यस्तो हल्ला फैलिने वित्तिकै नेपालमा तिब्र प्रतिक्रिया उत्पन्न भयो । सोही कारण काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा स्वतस्फूर्त रुपमा सर्वसाधारण सडकमा आए । र, सडकमा आएको त्यो अनियन्त्रित र नेतृत्वविहिन भिडले गरेको तोडफोडसहितको हर्कत सभ्य समाजको लागि ग्लानीको विषय थियो । एक जना भारतीय सिने कलाकारले नेपाली मन पर्दैन भनेर अभिव्यक्ति दिए भन्ने हल्लाका बीचमा जम्मा भएको भिडले काठमाडौं उपत्यकामा मधेशी समुदायको बढी जमघट हुने गौशाला, मैतिदेवी, चावहिल जस्ता क्षेत्रमा नेपालीले नेपालीलाई नै कुटे । यो प्रकरणमा दुई जनाको ज्यान पनि गयो । त्यो समयमा मधेशी मुलका नेपालीमाथि आक्रमण हुनुको मुख्य कारण मधेशी मुलका नेपालीलाई नेपाली हुन् भन्न नसक्नु र मधेशी समुदायले पनि बेग्लै अनुहार भएकालाई संकिर्ण सोचले हेर्नु नै हो । यस्ता, विषयमा रुमल्लिइरहनुले राजनैतिक अस्थिरता मात्र होइन, आज नेपालको आर्थिक विकासमा ठूलो बाधा पुर्याइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपालको संसदमा उभिएर दुईचार वाक्य नेपाली भाषामा बोलिदिँदा फुरुक्क पर्ने र भारतको जयजयकार गर्छाैं हामी नेपाली । अनि एक भारतीय कलाकारले नेपाली मन पर्दैन भन्दा हामी आफ्नै दाजुभाइ मार्न तयार हुन्छौं । हामी छालाको रंग र अनुहारको बनोटलाई आधार मानेर यो नेपाली हो, यो होइन भन्ने निष्कर्ष निकाल्छौं । छालाको रंग र अनुहारको बनोटलाई नै आधार मानेर यो आफ्नो, यो पराया भन्ने निक्र्याेलमा पुग्ने हामी नेपाली नै हो । यही निष्कर्ष नै हाम्रो राष्ट्रिय एकताको अवरोध भइरहेको छ । देशको पहिचान अनुहारको रङ्गले कदापि गर्न सक्दैन । भाषा बोलिएकै भरमा उसको पहिचान कुनै देशसँग जोड्नु कदापि न्याय संगत हुँदैन । देशको रास्ट्रिय भाषा हुन सक्दछ । तर व्यक्ति आफूआफूमा कुन भाषाको प्रयोग गर्ने भन्ने विषय नितान्त व्यक्तिगत कुरा हो । भाषा भन्नाले एउटाको कुरा अर्कोले वुझोस् भनेर बोलिने माध्यम हो । चाहे कोही, नेवारी, तामाङ्ग भाषा बोलुन्, शेर्पा, नेपाली, मैथिली, भोजपुरी, हिन्दी वा अरु जुनकुनै भाषा नै किन नबोलुन्, त्यसमा आपत्ति जनाउनु पर्ने केही कारण छैन । हामी उठ्ने वित्तिकै भारतमा बनेको टुथपेस्ट र ब्रस प्रयोग गर्छौं । नुहाउँदा भारतीय सावुन, टिभी हेर्दा भारतीय च्यानल, मोटरसाइकल, कपडा धेरै त भारतीय नै हुन्छन् । यहाँसम्म कि ओछ्यानको तन्ना पनि भारतीय नै हुन्छ । रोड उसैले बनाइदेओस् भन्छौं । घर बनाउने मानिस उतैतिरको होस् भन्छौं । आफ्नो बारी बाँझै राखेर उसैले तरकारी दैलोमा ल्याएर बेचोस् भन्छौं । हामी फोहोर गर्छौं, सफा उसैले गरोस् भन्छौं । नेपाली भएर नेपाली चलचित्र हेर्दैनौं । नेपाली वस्तुको प्रयोग गर्न हिचकिचाउँछौं । आर्थिक उन्नति र आत्मनिर्भरतिर कहिल्यै सोच्दैनौं । के जीवनयापनका लागि हामीले बिहानैदेखि वेलुकासम्म प्रयोग गर्ने गरेका साधनहरु हामी आफैंले निर्माण गरेका हौं त ? हामी कति परनिर्भर भएका छौं ? सबै कुरामा विदेशमाथि भर परेपछि आउने परिस्थिति यस्तै हो, जुन अहिले हामी भोगिरहेका छौं । सबै कुराको आयात नै गरेका छौं । हामी अल्छी छौं । धनियाँको दुईटा पात, अलिकति तरकारी, आफ्नै करेसा बारीमा रोप्न हिचकिचाउँछौं । सामाजिक सञ्जाल फेसबुक र टुइटरमा हामी व्यस्त छौं । दिनभरी टिभी हेर्दै फुसर्द छैन । गफ चुट्न व्यस्त छौं । अनि तातो घाममा जोखिम मोलेर काम गरिरहेको मानिसलाई, टिना, फलाम र तरकारी बेच्दै आउने एक सोझो तराइको नेपालीलाई जिस्क्याउँदै हेयको दृष्टिकोणले बार्दलीबाट ‘भैया’ भन्दा कति दुख्दो हो उसको मन् । नागरिकता सम्बन्धी विधेयक संसदीय समितिबाट पास भएर प्रतिनिधिसभामा पेश भएपछि यो विषयले फेरि राम्रो चर्चा पाएको छ । देश भनेको भुगोल मात्र होइन । देशभित्र बस्ने सबै नागरिकको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानको संयुक्त रुप पनि हो । एक नागरिकले अर्काे नागरिकलाई हेपेर देश बलियो हुँदैन । देश बलियो हुन नागरिकबीच सम्मान र सहअस्तित्वको भावना जाग्नुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा भनेको देश आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ, अर्थतन्त्र बलियो हुनुपर्छ । [email protected]

सरकार ! लासमाथि राजनीति नगर्नू है

सरकार तिम्रो अध्ययन कहिले सकिन्छ ? कहिले निस्कन्छ निस्कर्ष ? लाग्छ तिम्रो अध्ययन नसकिँदै हामी भोकले सकिन्छौँ ।। सरकार न सर्वोच्चको आदेश मान्छ । न नागरिक जोगाउन कुनै पहल गर्छ । कमिसनको चक्करमा फसेको यसले हामी भूइँमान्छेलाई माञ आँखा तर्छ चुनावको बेला यसो नजिक सर्छ ।। यो देशमा सरकार रहेको अनुभूति हामी गरिब जनताले कहिले गर्न पाउने ? हाम्रै पौरखले सिंगारिएको सिंहदरबार र बालुवाटारले हाम्रो मर्म किन बुझ्दैन ?।। भोक भोकै सडक कति दिन नापिएला ? स्वार्थी सहरले त हामीलाई केही दिन पनि पाल्न सक्दो रहेनछ, सहरको रहर पाल्नु त बेकार रहेछ हामीले ।। बाँचे न रोगको डर हो रोग भन्दा पनि भोक विकराल बनेर देखिँदै छ हाम्रा लागि कानमा तेल हालेर सुतेको सरकारी संयन्त्र कतै भए सुनाइदिनुहोस् न हजुर ।। लकडाउनका लागि लगाइएको बार पार गर्न लाग्दा काका लडेर मरे अरे । रोग या भोक सबैले हामीलाई नै लखेट्ने त रहेछ । सरकार के रोगबाट बचाएर भोकको लास हेर्न चाहन्छ ? विपत्तिमा काम नलाग्ने जनताको पसिना, रगत चुस्ने महङ्गो यत्रा सरकारी संयन्त्र के का लागि ? जन्मथलोमा नपुग्दै देह ढलेछ भने सरकार ! हाम्रै लासमाथि फोहोरी राजनीति नगर्नू है ।। (यो कविता अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक) तारकेश्वर गाउँपालिका–१, नुवाकोट हाल पोखरा–११ [email protected]

बैंक र ऋणी

आज अफिसमा काम गरिरहँदा मेरो फ्याक्ट्रिको एकाउन्टटेन्टले मलाई फेरी सम्झाउँदै भने, “सर, हामीले कारोबार गरिरहेको बैंक चेञ्ज गरौं । मैले नयाँ अर्को बैंक चिनेको छु, शाखा प्रवन्धक पनि चिनेको छु । अहिलेको बैंकले भन्दा अलि सस्तोमा पनि लोन दिन्छ, ब्याज कम लाग्छ । त्यसो हुँदा हाम्रो कम्पनीको नाफा अलि बढ्छ ।” म मुसुक्क हाँसे र भने, “बिचार गरौंला नि ।” अनि ऊ फर्केर आफ्नै क्याबिनमा गयाे र काममा लाग्याे । हुनत उसको कामनै हिसाब किताब चुरुस्त र दुरुस्त राख्नु हो । कहाँ कसरी खर्च घटाउन सकिन्छ, कसरी नाफा बढाउन सकिन्छ, त्यसको सल्लाह सुझाव दिनु पनि उसैको कर्तव्य हुने भएकोले उसले बारम्बार मलाई कारोबार गरिरहेको बैंक छोडेर अर्कै बैंक रोजौं भनेको हो । सबै कुरा उसलाई भन्न त कहाँ मिल्छ र ! कति कुरा गोप्य पनि राख्नुपर्छ । फेरि यो समाज देखावा तिर बढि ढल्किँदै गइरहेको पनि छ । म सम्झन्छु आजभन्दा करिब पन्ध्र/सोह्र वर्ष अगाडि जतिखेर म न्युरोडको फुटपाथमा दैनिक गुजाराको लागि सस्ता चाइनिज सामानहरु चाइनाबाट ल्याउँदै बेच्ने गर्थें त्यही वेला चिनजानको साथीको सहाराले जीवनमा पहिलो पल्ट बागबजार पद्मकन्या क्याम्पस छेउमा रहेको बैंक छिरेको थिएँ । बैंकको कर्मचारीहरुको शिष्ट र नम्र व्यवहारको कारणले उनीहरुसँगको भेटघाट बाक्लिन थाल्यो । उनीहरुले “धनिराम जी, तपाईंलाई हामी लोन दिन्छौं ब्यापार थाल्नुस् । अलि ठूलो र ब्यवस्थित व्यापार गर्नुस्” भन्दै मलाई हौसला दिएको अझै राम्रो सम्झना छ । पैसाको संकट परेर सिजनमा चाइनिज सामान ल्याउन नसक्दा अनि साहुसँग सयकडा पाँच सम्मको ब्याज काडेर नाफाको धेरै हिस्सा साहुलाई नै बुझाउने गरेको स्थितिमा त्यहि बैंकबाट त होनि मलाई न्यूरोडमा ठूलो सटर खोल्ने हौसला मिलेको । म फेरी सम्झिन्छु, समयमै बैंक ऋणको किस्ता र ब्याज तिरेर होला बैंकले पनि “अलि ठूलो व्यापार थाल्नुस् हामी सघाउँछौं” भन्दै हौसला दिने गरेको र म पनि उत्साहित हुँदै प्रोडक्सन तिर लागेको । “आफ्नै जग्गामा फ्याक्ट्रि खोल्नु पर्यो धनिराम जी”, “सामान ढुवानीको लागि आफ्नै गाडी लिनु पर्यो धनिराम जी, अब घर पनि किन्नु पर्यो धनिराम जी, निजी कार पनि किन्नु पर्यो धनिराम जी”, “अर्को कम्पनी पनि खडा गर्नु पर्यो धनिराम जी”… यस्तै यस्तै । म जति पल्ट बैंक छिर्छु, बैंकले मलाई नयाँ–नयाँ व्यापारको जुक्ति र लोनको सुबिधा बताइदिने । म पनि हिजोकै जसरी ढुक्कसँग उसका आइडियाका पछि लागे  फेरि मलाई र मेरो कारोबारलाई विश्वास गरेर यत्रो लोन दिँदा पनि कुनै कर्मचारीले आर्थिक लोभमा म सँग एक रुपैयाँसम्म मागेनन् । बरु त्यहाँ जाँदा उल्टै मलाई कालो चिया खुवाएर पठाए । हुनत बैंककै कर्मचारीको मिहिनेत अनि जोस देखेर नै ममा पनि परिवर्तन आएको हो । यो बैंक नहुँदो हो त आज म यत्रो ठूलो व्यापारी कसरी हुन्थेँ हाला र ! भूकम्पको वेला मेरो ब्यापार अलि मन्दि हुँदा त्यही बैंकले नै मलाई सघाएको थियो । फेरी आज कोरोनाले दुई महिना देखि ब्यापार बन्द हुँदा पनि धनिराम जी केही समस्या छ ? छ भने भन्नुस्… पैसाको खाँचो छ भने पनि भन्नुस्… भन्दै हिजो मात्र फोन गरेको म कसरी बिर्सिउँ ? कुनै दिन न्यूरोडको फुटपाथमा हल्ला गर्दै “लौ आयो सस्ता सस्ता चाइनिज सामान, लि हाल्नुस, दुइटा किन्दा एउटा सित्तैमा” भन्दै कराउने यो गरिब धनिराम र आज दुईटा कम्पनी, आफ्नै गाडी, बंगला र दुई हजार जना मजदूरलाई रोजगारी दिने यो धनिराम । यो बीचमा मेरा लागि कोहि सहयात्री छ भने त्यो त्यहि बागबजारकै बैंक त हो नि । मेरो लागि मात्र होइन, एउटा फुटपाथको ब्यापारीलाई, एउटा आम किसानलाई, एउटा बेरोजगारलाई वा भनौं कैयौं सानो मान्छेलाई धनिराम बनाउने कोहि छ भने त्यो बैंक नै त हो । मेरो एकाउन्टेन्टले भनेजस्तै आज एक प्रतिशत सस्तोमा ऋण पाइयो भन्दैमा म कहाँ अर्कै बैंकको ऋणी हुन्छु र ! कहाँ बर्षौं देखिको सम्वन्ध तोड्छु र ! म यो बैंकको ऋणी मात्र कहाँ हो र ! एक अर्थमा मेरो लागि पनि त यो बैंक सधैं नै ऋणी रहनेछ । ऊ र म दुबै एक आपसमा ऋणी नै त हौं नि, होइन र ? [email protected]