बैंक र ऋणी

आज अफिसमा काम गरिरहँदा मेरो फ्याक्ट्रिको एकाउन्टटेन्टले मलाई फेरी सम्झाउँदै भने, “सर, हामीले कारोबार गरिरहेको बैंक चेञ्ज गरौं । मैले नयाँ अर्को बैंक चिनेको छु, शाखा प्रवन्धक पनि चिनेको छु । अहिलेको बैंकले भन्दा अलि सस्तोमा पनि लोन दिन्छ, ब्याज कम लाग्छ । त्यसो हुँदा हाम्रो कम्पनीको नाफा अलि बढ्छ ।” म मुसुक्क हाँसे र भने, “बिचार गरौंला नि ।” अनि ऊ फर्केर आफ्नै क्याबिनमा गयाे र काममा लाग्याे । हुनत उसको कामनै हिसाब किताब चुरुस्त र दुरुस्त राख्नु हो । कहाँ कसरी खर्च घटाउन सकिन्छ, कसरी नाफा बढाउन सकिन्छ, त्यसको सल्लाह सुझाव दिनु पनि उसैको कर्तव्य हुने भएकोले उसले बारम्बार मलाई कारोबार गरिरहेको बैंक छोडेर अर्कै बैंक रोजौं भनेको हो । सबै कुरा उसलाई भन्न त कहाँ मिल्छ र ! कति कुरा गोप्य पनि राख्नुपर्छ । फेरि यो समाज देखावा तिर बढि ढल्किँदै गइरहेको पनि छ । म सम्झन्छु आजभन्दा करिब पन्ध्र/सोह्र वर्ष अगाडि जतिखेर म न्युरोडको फुटपाथमा दैनिक गुजाराको लागि सस्ता चाइनिज सामानहरु चाइनाबाट ल्याउँदै बेच्ने गर्थें त्यही वेला चिनजानको साथीको सहाराले जीवनमा पहिलो पल्ट बागबजार पद्मकन्या क्याम्पस छेउमा रहेको बैंक छिरेको थिएँ । बैंकको कर्मचारीहरुको शिष्ट र नम्र व्यवहारको कारणले उनीहरुसँगको भेटघाट बाक्लिन थाल्यो । उनीहरुले “धनिराम जी, तपाईंलाई हामी लोन दिन्छौं ब्यापार थाल्नुस् । अलि ठूलो र ब्यवस्थित व्यापार गर्नुस्” भन्दै मलाई हौसला दिएको अझै राम्रो सम्झना छ । पैसाको संकट परेर सिजनमा चाइनिज सामान ल्याउन नसक्दा अनि साहुसँग सयकडा पाँच सम्मको ब्याज काडेर नाफाको धेरै हिस्सा साहुलाई नै बुझाउने गरेको स्थितिमा त्यहि बैंकबाट त होनि मलाई न्यूरोडमा ठूलो सटर खोल्ने हौसला मिलेको । म फेरी सम्झिन्छु, समयमै बैंक ऋणको किस्ता र ब्याज तिरेर होला बैंकले पनि “अलि ठूलो व्यापार थाल्नुस् हामी सघाउँछौं” भन्दै हौसला दिने गरेको र म पनि उत्साहित हुँदै प्रोडक्सन तिर लागेको । “आफ्नै जग्गामा फ्याक्ट्रि खोल्नु पर्यो धनिराम जी”, “सामान ढुवानीको लागि आफ्नै गाडी लिनु पर्यो धनिराम जी, अब घर पनि किन्नु पर्यो धनिराम जी, निजी कार पनि किन्नु पर्यो धनिराम जी”, “अर्को कम्पनी पनि खडा गर्नु पर्यो धनिराम जी”… यस्तै यस्तै । म जति पल्ट बैंक छिर्छु, बैंकले मलाई नयाँ–नयाँ व्यापारको जुक्ति र लोनको सुबिधा बताइदिने । म पनि हिजोकै जसरी ढुक्कसँग उसका आइडियाका पछि लागे  फेरि मलाई र मेरो कारोबारलाई विश्वास गरेर यत्रो लोन दिँदा पनि कुनै कर्मचारीले आर्थिक लोभमा म सँग एक रुपैयाँसम्म मागेनन् । बरु त्यहाँ जाँदा उल्टै मलाई कालो चिया खुवाएर पठाए । हुनत बैंककै कर्मचारीको मिहिनेत अनि जोस देखेर नै ममा पनि परिवर्तन आएको हो । यो बैंक नहुँदो हो त आज म यत्रो ठूलो व्यापारी कसरी हुन्थेँ हाला र ! भूकम्पको वेला मेरो ब्यापार अलि मन्दि हुँदा त्यही बैंकले नै मलाई सघाएको थियो । फेरी आज कोरोनाले दुई महिना देखि ब्यापार बन्द हुँदा पनि धनिराम जी केही समस्या छ ? छ भने भन्नुस्… पैसाको खाँचो छ भने पनि भन्नुस्… भन्दै हिजो मात्र फोन गरेको म कसरी बिर्सिउँ ? कुनै दिन न्यूरोडको फुटपाथमा हल्ला गर्दै “लौ आयो सस्ता सस्ता चाइनिज सामान, लि हाल्नुस, दुइटा किन्दा एउटा सित्तैमा” भन्दै कराउने यो गरिब धनिराम र आज दुईटा कम्पनी, आफ्नै गाडी, बंगला र दुई हजार जना मजदूरलाई रोजगारी दिने यो धनिराम । यो बीचमा मेरा लागि कोहि सहयात्री छ भने त्यो त्यहि बागबजारकै बैंक त हो नि । मेरो लागि मात्र होइन, एउटा फुटपाथको ब्यापारीलाई, एउटा आम किसानलाई, एउटा बेरोजगारलाई वा भनौं कैयौं सानो मान्छेलाई धनिराम बनाउने कोहि छ भने त्यो बैंक नै त हो । मेरो एकाउन्टेन्टले भनेजस्तै आज एक प्रतिशत सस्तोमा ऋण पाइयो भन्दैमा म कहाँ अर्कै बैंकको ऋणी हुन्छु र ! कहाँ बर्षौं देखिको सम्वन्ध तोड्छु र ! म यो बैंकको ऋणी मात्र कहाँ हो र ! एक अर्थमा मेरो लागि पनि त यो बैंक सधैं नै ऋणी रहनेछ । ऊ र म दुबै एक आपसमा ऋणी नै त हौं नि, होइन र ? [email protected]

आमा ! घर फर्कु कि चिहानमा ?

लेखक सास्तीले घेर्छ सिमानामा मृत्यु पर्खेर बस्छ करेसामा बलत्कारी ढुकेर बस्छ क्वारेन्टिनमा भरोसा भत्कियो मेरो सपना पुरियो मेरो भग्नावसेसमा घरबाट गरीबीले लखेट्यो मुग्लानबाट महामारीले लखेट्यो आमाको फाटेको चोलो जस्तै मन फाट्यो र म मुग्लान पसेँ घरदेशमा आफ्नाबाटै परदेशमा पराईबाट जोगाएको अस्मिता घरदेशमा घरैबाट लुटियो आमा माइती देशको त कुकुर पनि प्यारो हुन्छ भन्थे मेरा दाजुभाइ कुुकुर जति पनि प्यारा भएन्न आमा उज्यालो खोज्दै हिंड्दा अँधेरो आँगनमा आईपुगेंं म रक्षक नै भक्षक भए पछि मेरो अस्मिताको रक्षा गर्न सकिन आमा मसँग मेरो लासमात्र बाँकी छ घर लैजाउ कि चिहानमा मसँग अँधेरो रात मात्र बाँकी छ लामो निन्द्रा निदाउँ कि म फेरी पर्खु बिहानमा भन न आमा म घर फर्कु कि चिहानमा ?

गजल

आधुनिक प्रविधिको, खेती थाल्नु पर्छ उन्नत जातका गाई–भैंसी, बाख्रा पाल्नु पर्छ धेरै हिँड्यौ अर्काको सहारा र भरोसामा अब हामी उठ्नु पर्छ, पाइला आफैं चाल्नु पर्छ रासायनिक मल खाधले, माटो बिग्री सक्यो अर्गानिक खेती लाउन, गोबर मल हाल्नु पर्छ जलस्रोतको भण्डार छ, खोला नदी थुनौं अब हाम्रो देशको बिजुली, विश्वभरी बाल्नु पर्छ । युवा शक्ति श्रम सीपलाई स्वदेशमै प्रयोग गरी देशको माटो मेहनत र पसिनाले गाल्नु पर्छ जडिबुटी, जलस्रोत र खानी उत्खनन् गरी स्वरोजगार बन्नु पर्छ, गरिबीलाई ढाल्नु पर्छ अर्काको आसिन महल, किन लाउनु झाडु पोछा अब आफ्नै झुपडीको, भुइँ भित्ता टाल्नु पर्छ अब आफ्नै झुपडीको, भुइँ भित्ता टाल्नु पर्छ   बिराटनगर–३ [email protected]