अब देश अम्रिका हुँदैछ हरी
अब देश अम्रिका हुँदैछ हरी । हराएको तिम्रो DV कागज, खोज्न जरुर छैन हरी, भुलेको त्यो DV Code, सोच्न जरुर छैन हरी !! पहिले पो दुःख थियो यहाँ, थिए थुप्रै बाधा अडचन, हिलो थियो, धुलो थियो, गरिबीको गन्ध थियो, विभेद मञ्चन भै रहन्थ्यो । राजनिती पनि अस्तव्यस्त थियो, नेता पनि भ्रस्ट थिए, जनतालाई कष्ट थिए । राजा पनि एउटै थिए, रानी पनि एउटै ! गाउँमा स्कुल थिएनन् , स्कुल थिए विद्यार्थी थिएन्न, विधार्थी थिए, मास्टर थिएनन् । रहर थिए, शहर थिएनन , शहर बन्दा रहर परदेश पुगे । जवान देख्न पाईन्थेन, बिरोजगारीको रोग थियो । सपनाका आकार थिएनन् । समाधानका प्रकार थिएनन् । बुढाबुढिले गाउँ ढकमक्क थिए । बाटो थिएन, बत्ती थिएन, अनेकन गुनासा थिए, कति सरकारसङ्ग, कति बाआमासङ्ग कति आफ्नै भाग्यसङ्ग । यस्तै थुप्रै बेदना थिए । विडम्बना थिए । दोष थिए, अफसोच थिए । तर आज देश बद्लेको छ हरी, सङ्गै परिवेश पनि बदलेको छ हरी ! हो देशको स्वरुप पनि बद्लेको छ ! हिजोको जस्ता अध्यारो छैन । न छ गरिबको गन्ध , नेता बाईबलका भक्त छ्न्, सप्पै अचेल धार्मिक भा छ्न् ! सयौ राजा छन, सयौ रानी छ्न् ! जनता पनि घरमै सुतेर खान्छ्न् ! रहर पनि शहरका कोठामै छ्न् ! हात हातमा मुबाईल छ ! मुबाईल भरी खाता छ्न् ! खुसी हुन सिकाउने Google छ ! लुडो को Worldcup खेलिन्छ ! फुट्बल जस्तो ४ वर्ष कुर्नु पर्दैन ! अनलाईनमै अन्त्यष्ठी गरिछ ! रुनु पर्दैन ! आसु पनि कृतिम छ्न् । सब विज्ञानको फड्को ! देशमा आमूल परिवर्तन भा छ ! हो हरी, खत्रा परिवर्तन भा छ ! जवान हर्षिदै देश फिर्दैछ्न्, वर्षौ भएर होला, बाटो बिराएछ्न क्यारे ! कोहि जङ्गल हुदै आउदै छन् । कोहि महाकालीमा पौडेर आउदैछ्न् ! देश फिर्न जोखिम मोल्न राजी छ्न् ! सब देश फिर्न आतुर छ्न् । mexico सिमामा अमेरिका छिर्न, गरेको संघर्ष भन्दा कम छैन ! अर्को कुरा सुन हरी, स्कुल पनि रित्ता छ्न् ! अब एउटै कक्षामा १,२,३,४ सङ्गै, सबलाई राखेर पढाउनु पर्दैन । नबोक्नु नै पर्छ ५ किलो भारी ! हेर त देश साच्चै बद्लेको छ ! विभेदलाई पनि जनताले भेरिमा बगाईसके ! गरिबी त बाकी के रहन्थ्यो र ? रोग पनि थ्रुरै कामी रहेको छ र पो, सरकार स्वास्थको प्रमाणपत्र बाडि रहेको छ ! तीन बजे उठने कालिमाटी, टुकुचा रात भरी नसुत्ने ठमेल, पोखरा गन्तव्यमा नपुगेका मोटर, घोडा, हेर त सब लामो निन्द्रामा छ्न्! आराममा छ्न ! सडकमा धुलो हराई सक्यो । न बाकी नै छ हिलो । रङ्गिबिरङ्गी फुल देखिन्छन् , हिमाल पनि सेतै, खुला निलो आकाश , कन्चन ताल तलैया , न धोनी प्रदुषण छ । न छ वायु प्रदुषण । पशुपतिनाथ, स्वयम्भुनाथ पुर्वको पाथिभरा, पश्चिमको छायानाथ, भाकल पुजा बिनै सन्तुष्ट छ्न् ! Yes i have a Dream ! Is no more need to repeat ! अनि किन जाने अम्रिका हरी ? यसै भन्दा उत्तेजित हुँदै, श्रीराम सरको लाईनमा, तिमिलाई सोध्न मन लाग्छ ! R u believe me ? देख्दै छौ नि आफै तिमी ! अब देश अम्रिका हुदैछ हरी ! भोलि MCC पर्सि BRI पनि त पास हुदैछ हरी ! अब देश अम्रिका हुदैछ हरी ! १५ हजारमा तु बनाएको पासपोर्ट, ३ घण्टा लाईनमा बसेर भरेको EDV, फर्किदा खाएको रु. ८० को म:म, अनि दाह्री कपाल काटेको दाम खेर गो हरी ! अब हर साल DV भर्नुपर्दैन हरी ! नबस्नु पर्नेछ ३ घण्टा लामो लाईन ! न काट्नुपर्ने छ गालाका काला दाह्री ! दराजमै बूढो हुने भो पासपोर्ट पनि ! अब जानू पर्दैन अम्रिका हरी !! त्यसैले, हराएको तिम्रो DV कागज, खोज्न जरुर छैन हरी , भुलेको त्यो DV Code , सोच्न जरुर छैन हरी !! अब यो देश नै अम्रिका हुँदैछ हरी !
गजलः यसो गर्नुपर्छ अब
चौतर्फी सिमानामा, बार लाउनु पर्छ अब सके पर्खाल नत्र काँडे, तार लाउनु पर्छ अब उठाउनु पर्छ मुद्दा, अन्तर्राष्ट्रिय अदालत मै विवादलाई बार्ताबाटै, पार लाउनु पर्छ अब शान्तिपूर्ण बार्ता गर्न, छिमेकीले नमाने मा सिरुपाते खुकुरीमा, धार लाउनु पर्छ अब स्वरोजगार बन्नु पर्छ, कृषि क्रान्ती ल्याउनु पर्छ पाखा पखेरोमा अदुवा, बेसार लाउनु पर्छ अब तराई हाम्रो भण्डार हो, अन्न फलफूल तरकारी को पहाडमा स्याउ सुन्तला, जुनार लाउनु पर्छ अब पहाडमा स्याउ सुन्तला, जुनार लाउनु पर्छ अब ।। बिराटनगर–३
कथा: अयोग्य लडाकु
आज म निक्कै खुसी छु, रोमाञ्चक पनि, अनि मनमा अलि अलि डर पनि छ । वर्षौं देखिको सपना भोलि बिहान वसन्त बनेर आउँदैछ । भोलि मेरो जीवनकै खुसीको प्रहर हुनेछ । कुल्चिएँ धेरै काँडाहरु जीवनमा… अब काँडा टेकेर फूलका कुरा हुनेछन् । ओहो… कस्तो गाह्रो आजको रात काट्न । आँखामा पटक्कै निन्द्रा छैन… उफ्… । मलाई केही पुराना कुराहरुको राम्रो सम्झना छ । आजभन्दा करिब बाइस वर्ष अगाडी म तेह्र बर्षको हुँदो हुँ, सुदुर पश्चिम पहाडको अति बिकट ठाउँमा बाबाले भरिया बनेर ढाकर बोक्दै जिन्दगीको उकाली र ओरालीमा तमाम सपनाहरुका बिच तीन जना (बाबा, आमा र म) को परिवार हम्मे हम्मे गर्दै चलाइरहँदा एकदिन अचानक म बिरामी परेको र सम्पत्तिको नाममा रहेको जम्मा खोला बगर नजिकैको एक रोपनी जग्गा धरौटि राखेर धनविर साहुसँग सयकडा तीनको ब्याजमा मेरै आँखा सामू बाबाले औंठा छाप लगाएको, स्कुलमा पढ्न भनेर नाम लेखाउन जाँदा लामो टुप्पी भएको मास्टरले दलित भन्दै भर्ना लिन नमानेको, धनविर साहुका छोराले जवरजस्ति पल्लो घरकी रिना दिदिलाई बलात्कार गरेर भिरबाट फालेका वेला कोहिपनि साहुको डरले साक्षी नबसेको, समाजले दलित भन्दै आफू र आफ्नो परिवारलाई मन्दिर छिर्न नदिएको, अनि त्यसैगरी तिर्खा लागेर पानी माग्दा जोसुकैले पनि छोइएला झैं गरेर परैबाट पानि दिएको । उफ्… सम्झिँदा पनि कहाली लागेर आउँछ । सबैले ब्यर्थैमा पुज्ने त्यो दोबाटोको मन्दिर भित्रको मुर्तिलाई मैले ढुंगा भन्दै त्यहाँबाट हटाएको त्यसै होइन । दलित भन्दै भर्ना सम्म नलिने त्यो मास्टरले विद्यार्थीहरुलाई के शिक्षा दिन्छ हँ ?… बुर्झुवा त होला नी, मैले पहिलो पल्ट मास्टरलाई कुटेर आफ्नो नाम आफैंले राखेको थिएँ ‘लडाकु प्रदिप’ । र, पहिलो पल्ट नाङ्गो खुकुरी लिँदै खेदाएको थिएँ धनबिर साहुको छोरालाई । शोषक र सामन्तीका बिरुद्व ‘लाल सलाम’ भन्दै नयाँ नेपालको सपनामा लालायित म रात बिरात जंगल जंगल हिँड्दैै कोमल छातीलाई चट्टानी बारुद बनाएर कमाण्डरको एक निर्देशनमा दुश्मन माथि प्रहार गर्दा प्रत्येक प्रहारमा नयाँ नेपाल देख्ने गर्थें । न खाने टुङ्गो, न बस्ने टुङ्गो । बन्दुकको गोलीका बिच प्रत्येक गोलीले म दुश्मन साध्थेँ । मलाई शोषक र सामन्ती दुश्मनको किल्ला भत्काउनु थियो । दोहोरो फइरिङ्मा कैयौँपल्ट आफ्नै आँखा अगाडि साथीहरु शहिद हुँदा मेरो मन विचलित भएन । पार्टि अध्यक्षको जिउ नै सिरिङ–सिरिङ पार्ने उर्जाशिल भाषण सुन्दा त लाग्थ्यो अब नयाँ नेपाल टाढा छैन… मात्र एक कदम अघि बढ्नु छ । “प्रदिप कहाँ छ ?… प्रदिप चाहिन्छ… ऊ विना लड्न सकिँदैन… उसको रणकौशल राम्रो छ… उ वान म्यान आर्मी हो…” यस्तै यस्तै भन्दै प्लाटुन कमाण्डरले मलाई खोज्दा अनि खुसीले धाप मार्दा यो छाती गर्वले फूल्ने गथ्र्यो । शान्तिपूर्ण राजनैतिक सम्झौता पछि अब म मात्र होइन समस्त देशवासीहरु पनि द्वन्द्व ब्यवस्थापन तथा नयाँ नेपाल बन्ने कुरामा आशावादि नै थिए । “अब हाम्रो सुप्रिम कमाण्डरहरुको जत्था सिंहदरबार भित्र हतियार छोडेर बुलन्द आवाजका साथ मुद्दा पेश गर्नेछन् । अब सुनौलो वशन्त आउनेछ । शोषक र सामन्तीहरुको अन्त्य हुनेछ । र हामी पनि अनमिनद्वारा प्रमाणिकरण भई सेनामा समायोजन हुनेछौं र सेना भई देशको सेवा गर्नेछौं ।” यस्तै यस्तै पुराना कुराहरु मनमा खेलाइरहँदा छर्लङ्ग बिहान हुन्छ । केही घण्टा भित्रैमा अनमिनको प्रतिनिधिद्वारा मेरो हातमा एउटा खाम थमाइन्छ । म फुरुङ्ग हुँदै सेनाको नियुक्ति–पत्र सम्झँदै कौतुहलताका साथ खाम खोल्छु जसमा लेखिएको हुन्छ, “आदरणिय प्रदिप, तपाईंहरु जस्ताले गर्दा नै क्रान्ती र जनआन्दोलन सफल भएको हो । देश र जनताको लागि अनि सामन्त विरुद्व नयाँ नेपाल वनाउनका लागि तपाईंले आफ्नो ज्यान जोखिममा राखेर गर्नुभएको योगदानको उच्च मुल्यांकन गरिन्छ । विगतमा तपाईंले गर्नुभएको राजनैतिक क्रान्तीका लागि तपाईंका हरेक योजना तथा कार्यहरु योग्य मानिनेछन् ।… तर तपाईंलाई भने…” र अन्त्यमा लेखिएको हुन्छ “…अयोग्य लडाकु ठहर्याउँदै नेपाली सेनामा नियुक्ती दिन नसकिने जानकारी गराइन्छ ।” बिराटनगर–५ हाल तेह्रथुम इमेल: [email protected]