रिभर फल्स पावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

अझै खुलेन मेची राजमार्ग, पहिरो पन्छाउन दिनरात काम हुँदै

काठमाडौं । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक खण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् ।  सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ ।  ‘सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ । तर सिङ्गो डाँडा नै भासिएकाले समस्या भएको हो । पहिरो पन्छाउन सडक डिभिजनले तीनवटा एस्काभेटरको प्रयोग गरेको छ,’ उनले भने ।  सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक मर्मतकै क्रममा रहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको बताए । सडक खण्ड मर्मतकै क्रममा छ । सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सडक सञ्चालनमा रोक लगाएको उनको भनाइ छ ।  राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको छ । मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ । मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लेजुङबाट राजदुवाली पहिरोमाथिसम्म सवारी सञ्चालनमा आएको छ । झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् । सो ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोला र तिल्केनी-सिमलगोलाई सडक अन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन । बाढीपहिरोका कारण जिल्लाका अधिकांश स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ५ स्थानीय तह हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । राजदुवाली सडक खण्ड अवरुद्ध भएकाले सूर्योदय नगरपालिका, बेलासे सडक खण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिकाका सडक क्षतविक्षत भएकाले फाकफोकथुम गाउँपालिका सदरमुकामसँगको सडक आवागमनबाट विच्छेद छन् । इलाममा हालैको साना ठूला गरी १९ पक्की पुल, २ बेलीब्रिज, ११  कल्भर्ट र ३ झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका र १ जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएको बताए । 

राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, 'सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।' रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुग्नुभएका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनेछन् । उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन्। गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।