बाढीपहिरोका कारण तीन प्रदेशका ९ राजमार्ग अवरुद्ध
काठमाडौं । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् । यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं २ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ नेपालथोकस्थित वीपी राजमार्गसमेत अवरुद्ध भएको छ । यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका वडा नं ८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए । वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं १ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका वडा नं ११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सडक विभाग र निर्माण व्यवसायीलाई मन्त्री घिसिङको निर्देशन - ‘सडक चाँडै सञ्चालनमा ल्याउनुस्’
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति पुर्याएका चौकीडाँडालगायतका सडक क्षेत्रहरूको स्थलअनुगमन गरेका छन् । मन्त्री घिसिङसँगै मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडक खण्डको अवलोकन गरेको हो । बाढीले बगाएको सो सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लासँग जोड्ने लाइफलाइन सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री घिसिङले सडक विभाग र निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षति पुर्याएको थियो । सो खण्डमा अस्थायी डाइभर्सनमार्फत आवागमन सञ्चालन गरिएको थियो। तर, यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पुनः पूर्ण रूपमा बगाएको छ । गत वर्ष क्षति पुगेको सडक स्थायी रूपमा पुनर्निर्माण गर्न केही खण्डको ठेक्का लगाइसकिएको र बाँकी केही खण्ड ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियो
म्याग्दी । स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन् । अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार स्थानीयले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिएका हुन् । 'पोखरेबगरदेखि तल्लो घोडेपानी र कास्कीको नयाँपुुलदेखि उल्लेरी हुुँदै वनठाँटीसम्म यअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो', उनले भने, 'प्रदेश राजधानी र प्रमुख पर्यटकीय गन्तव्य मुुस्ताङ जोड्न यो छोटो बाटो भएकाले उल्लेरी, शिख, घार र घोडेपानीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेका हुन् ।' मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक ४० किलोमिटर छ ।