ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको ८ औं सभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उनी सोमबार अपराह्न नेपाल वायुसेवा निगमको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।  चार दिनसम्म चल्ने यो सभा सोमबारदेखि बिहीबारसम्म भारतमा हुँदैछ । जसमा ४० भन्दा बढी देशका ऊर्जामन्त्रीहरू सहभागी हुनेछन् ।  सभामा सौर्य ऊर्जाको प्रवद्र्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरूबारे विस्तृत छलफल हुने कार्यक्रम छ ।  नेपालका तर्फबाट मन्त्री घिसिङले ‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ विषयमा सम्बोधन गर्ने तय भएको छ ।  नेपाल २०८१ साल भदौमा १०१ औं सदस्य राष्ट्रका रूपमा आईएसएमा आवद्ध भएको थियो । मन्त्री घिसिङले बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।  

जलविद्युत् आयोजना र ठेकेदार विवादले दाङखोलामा मोटरेबल पुल निर्माण ५ वर्षदेखि अलपत्र

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ ।  मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण सुरु नभएको हो । करिब १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबिच विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो ।  वि.सं. २०७८ जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण कार्य सुरु नै नभएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले बताए ।  'धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ', उनले भने,'पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु भएको छैन ।'  वि.सं. २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको वडाध्यक्ष खत्रीले बताए ।   पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौता लगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, वि.सं. २०७७ को बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र पछिल्लो समय निर्माण व्यवसायी अदालत गएपछि पुल निर्माण कार्य प्रभावित बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  काम नभएपछि कार्यालयले ठेकेदारलाई पेस्की दिएको रु ३३ लाख धरौटीबाट फिर्ता गरेको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले दाङखोलामा मोटरेबल पुल नबन्नुको मुख्य कारण दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजना भएको बताए ।  'सम्झौता लगत्तै आएका ठेकेदारलाई काम गर्न दिएको भए त्यही समयमा पुल बन्ने थियो', उनले भने, 'सहमतिअनुसार दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले नै दाङखोलामा पुल बनाउनुपर्छ ।' जलविद्युत् आयोजनाको प्रवर्द्धक धौलागिरि कालिका हाइड्रोका निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माणस्थल इल्पुमा सारिएको र मोटरेबल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिए । तत्कालीन निर्देशक हर्कमान मगरले दाङखोलामा सरकारी पक्षबाट पुल निर्माण हुन नसके आयोजनाले पुल बनाउने लिखित निर्णयमा हस्ताक्षर गरेका थिए । रासस

आँबुखैरेनी मुग्लिन सडक आज राति २ घण्टा बन्द हुने

काठमाडौं ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड आज सोमबार राति २ घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिए ।  गत असोज १८ गते सडक भासिएको उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यसअघि विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्स्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो ।