महाकाली सिँचाइ आयोजनाकाे मुआब्जामा सकस, प्रगति २७ प्रतिशतमा सीमित

काठमाडौं । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचे अनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेश भक्त पोखरेलले जानकारी दिए ।  ‘राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो । अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण ४ वटा प्याकेजमा काम भइरहेको छ,’ सिडीई पोखरेलले भने ।  ४ प्याकेजको मूल नहर निर्माणका लागि १ अर्ब ९७ करोड रुपैयाँको ठेक्का सम्झौता गरिएको छ । करिब २ वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि ४ वटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य ३ वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहर अन्तर्गत ब्रह्मदेव (जिरो प्वाइन्ट)देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिए । भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल-भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने १ हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेड रेगुलेटर लगायतका संरचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकारात्मक देखिएको छैन । ‘मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, ५/७ वटा शाखा नहरसमेत निर्माण गरिएको छ । पानीका लागि पटकपटक ताकेता पनि भएको छ,’ पोखरेलले भने ।  उनले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा ९ अर्ब रुपैयाँ लगानी भइसकेको जानकारी दिए । करिब २ वर्षअघि मालाखेतीसम्म ४ वटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ ।  ‘मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झन लगायतका कारणले कामले गति धेरै लिन सकेन । पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन,’ उनले भने ।  आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनवस्ती, गुलरिया र दोधारा चाँदनी पुर्याइनेछ । त्यसका लागि कुल १५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ । आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन १ लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गनुपर्ने बाध्यता विद्यमान छ । महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिचाइँ सुविधा पुगेको थियो । 

बिपी राजमार्गमा रातको समयमा सवारी आवागमन निषेध

कमलामाई । निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै बिहीबार र शुक्रबार रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन निषेध गरिएको छ ।      बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार एक सूचना जारी गर्दै अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै दुई दिनसम्म रातको समयमा सवारीसाधन सञ्चालन नगर्न सबै सरोकार भएकालाई आग्रह गरेको हो ।      सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा जारी सूचनामा भनिएको छ, 'कात्तिक १३ र १४ गतेको साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्ग हुँदै सिन्धुलीबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरिएको छ ।'      उक्त समयमा सवारीसाधन खुर्कोट बजारमा रोकिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न सबैलाई आग्रह गरे । दिउँसोको समय भारी वर्षा भएमा सुरक्षा निकायको समन्वयमा जुनसुकै स्थानमा सवारीसाधन रोक्न सकिने उनले जानकारी दिए ।      'रातको समयमा सवारी सञ्चालन रोक्नुको उद्देश्य यात्रुको सुरक्षा सुनिश्चित गर्नु र आकस्मिक दुर्घटनाबाट मानवीय र भौतिक क्षति जोगाउनु हो । बिपी र मध्यपहाडी मार्गका केही खण्डमा जोखिम अत्याधिक बढेकाले रातको समयमा सवारीसाधन चलाउन निषेध गरिएको हो', जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालध्वज सुवेदीले भने । भारी वर्षाका कारण बाढीपहिरोको उच्च जोखिम देखिएकाले यात्रुलाई अनावश्यक यात्रा नगर्न र मौसम सुधार भएपछि मात्र यात्रा गर्न उनले सुझाव दिए ।   

बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए । सूचना अधिकारी नेपालले भने, 'बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।'