तातोपानी नाका खुलाउँन चीन सहमत, नेपालचीन व्यापारमा सहज हुने
काठमाडौं ५, पुस । चीनले तातोपानी नाका खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा लिउले चाँडै तातोपानी नाका खुलाउने प्रतिवद्धता व्यक्त गरेका हुन्। प्रधानमन्त्री दाहालले तातोपानी नाका नेपालचीनबीच सम्बन्धको प्रतिक भएको भन्दै नाका नखुल्दा नेपाललाई अप्ठेरो परेको बताएका थीए। लिउले नेपालसँग सम्बन्ध विस्तार गर्न चाहेको उल्लेख गर्दै चाँडै तातोपानी नाका खोल्ने बताए। नेपाल भ्रमणमा रहेका लिउले सोमबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा अर्का चिनीयाँ नेता गुओले पनि तातोपानी नाका खोल्ने बताउका थिए। नेपालका नेताहरुसँगको भेटमा लिउले चीनले नेपालको समृद्धि देख्न चाहेको र त्यसका लागि चीन सहयोग गर्न तयार रहेको वताएका थिए। नयाँ पत्रिका दैनिकबाट ।
नेपाली ग्यास बुलेट भन्सारमा रोकिए, सरकारले घोषणा गरेअनुसार भन्सार छुट नदिँदा समस्या
काठमाडौं, ४ पुस। सरकारले ग्यास बुलेट खरिद प्रकृया सहज नबनाएको भन्दै नेपाल एलपि ग्यास उद्योग संघले आपत्ति जनाएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी भन्सार प्रक्रिया सहज नहुँदा आफूहरुले खरिद गरेर ल्याएका ग्यास बुलेट नाकामा अलपत्र पर्दा समेत सरकार बेखवर रहेको भन्दै आपत्ति जनाएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ग्यास बुलेट खरिद प्रक्रियामा दुई तिहाइसम्म भन्सार छुट दिने घोषणा गरेअनुरुप आफूहरुले परीक्षणका लागि ल्याएका दुईवटा ग्यास बुलेट वीरगञ्ज भन्सारमा अलपत्र परेको संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए। उनले सरकारले भन्सार प्रक्रिया सहज नबनाउँदा सन् २०१७ बाट नेपालले ग्यास ल्याउन नसक्ने अवस्था रहेको दावी गरे। आगामी नोभेम्बरदेखि नेपाली नम्बर प्लेटका बुलेटमार्फत नै ग्यास उठाउने भारतीय ट्रान्पोर्ट कम्पनीहरुसँग सहमति भएपनि सरकारी ढिलासुस्तीका कारण पहिलो पटक ल्याएका बुलेट परीक्षण गर्न नपाएको व्यापारीको गुनासो रहेको छ। आफ्नै बुलेट नभएकाले ग्यास ढुवानीमा मात्र सरकारले हरेक वर्ष २ अर्ब ५० करोड रुपैयाँ भारतलाई बुझाउँदै आएको छ । नेपालमा हाल ५५ वटा ग्यास उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगहरुले पाँच सय भन्दा बढी भारतीय ग्यास बुलेट प्रयोग गर्दै आएका छन् । नेपाली व्यवसायीले ७ सय ७५ वटा ग्यास बुलेट खरिद गर्ने तयारी गरेको संघले जनाएको छ।
भूकम्प पीडितले घर बनाउन तीन लाख पाउने पक्का, प्राबिधिकलाई ७५ प्रतिशत भत्ता पनि
काठमाडौं, ४ पुस । भूकम्प पीडितले निजी आवास निर्माणका लागि तीन लाख नगद अनुदान उने पक्का भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरले निजी आवास निर्माणका लागि तीन लाख दिने व्यवस्थासहितको परिमार्जित कार्यबिधीलाई अर्थमन्त्रालयले सहमति दिएसँगै भूकम्प पीडितले तीन लाख पाउने पक्का भएको हो । यस अघि मन्त्रीपरिषदले भूकम्प पीडितलाई तीन लाख नगद अनुदान दिने निर्णय गरेको भएपनि अर्थमन्त्रालयले श्रोत अभाव हुने बताउँदै आएको थियो । पुष ३ गते उपप्राधन तथा अर्थमन्त्री कृष्ण बहादुर महराले भूकम्प पीडितलाई तीन लाख नगद अनुदान दिने परिमार्जित कार्यबिधीलाई सहमति दिएका हुन् । अब सो कार्यबिधी मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदले पास गरेपछि अर्थमन्त्रालयले बजेट निकासा गर्नेछ र भूकम्प पीडितलाई दोश्रो किस्ता वापत डेढ लाख रुपैंयाँ वितरण सुरु हुनेछ । परिमार्जित कार्यबिधीले गुनासो प्रणालीमा आएका गुनासाहरुको विश्लेषण सहितको परिणाम सार्वजनिक गर्न र सम्बोधन गर्न सहज हुनेछ । प्राबिधिकलाई कार्य सम्पादनका आधारमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने गरी तयारी भएको पनि प्राधिकरणले जनाएको छ ।प्राधिकरणले कार्य क्षेत्रमा खटिएका प्राविधिकहरुलाई कुनै भ्रममा नपरी आ–आफ्नो जिम्मेवारी पूरा गरि भूकम्प पीडितहरुको सेवाका लाग्न आग्रह पनि गरेको छ । १७ जिल्लाको तथ्यांक संकलन सुरु हुँदै यसैबीच केन्द्रीय तथ्यांक विभागबाट भूकम्प कम प्रभावित १७ जिल्लामा सर्भेक्षणको कार्य गर्न १७ जिल्लाका समन्वयकर्ताहरु र सोसँग सम्बन्धीत तथ्यांक सहायकहरुलाई तीन दिन अभिमुखीकरण कार्य सम्पन्न भएको छ । पुनर्निर्माणको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला समन्वय समितिहरुको बैठकमा सहभागी हुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिरकणबाट पदाधिकारीहरु विभिन्न जिल्लाहरुमा खटिएका छन् । कार्यकारी समितिका सदस्य ध्रुव्रप्रसाद शर्माको टोली धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुका लागि खटिएको छ । कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठको टोली लम्जुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्यादी र स्याङजा जिल्लाका लागि खटिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको टोली चितवन, नवलपरासी, अर्घाखाँची, गुल्मी र पाल्पामा हुने जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।