करिब ६ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आयो रसुवागढी नाका
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका उनले जानकारी दिए । उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ । केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेका जनाउँदै सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेका बताए। सामान आयातको करबाट सङ्कलन हुने राजस्व गत वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । स्याफ्रुबेँसी–सुवागढी खण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यानदिन सरोकार भएका निकायलाई आग्रह गरिएको सवारी चालक रसुवा यार्साका सुकु तामाङले बताए । गत असार २४ गतेको बाढीले दर्जनौँ स्थानका सडक कटान गरी गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि सडकको ट्र्याक खोल्ने काम मात्र भएको थियो । उक्त समयमा टेवा पर्खाल मजबुत बनाउन नसक्दा सवारीसाधन सञ्चालनमा जोखिम बन्दै गएपछि सवारीचालकहरूले समस्या समाधानका लागि आग्रह गरेका हुन् ।
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण
काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आईईएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईईएक्सको डे–अहेड र रियल–टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (आरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो । नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो। यो अनुमति १७ पुस ९८ गतेदेखि १७ चैत ९९ गतेसम्म (जनवरी–मार्च २०२६) लागू हुनेछ । १८ चैतदेखि १५ भदौ ९९ (अप्रिल–अगस्ट २०२६) सम्मको नविकरण पछि गरिने प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोनमार्फत आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति नविकरण गरिदिन आग्रह गरेका थिए । उनले आरटिसी मोडमा विद्युत आयातको अनुमति पाएकाले हिउँदको विद्युत माग र आपूर्तिको व्यवस्थापन गर्न सहज हुने बताए ।
तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन
मध्यविन्दु । गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै सहज हुन सकेको छैन । शीतलहरले दाउन्ने सडक चिप्लो हुँदा सवारीसाधन सञ्चालन हुन नसकेर अवरुद्ध भएको सडक अझ सहज हुन नसकेको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 'अहिलेको समस्या दाउन्नेको पश्चिम खण्डमा शीतलहरका कारण सडक चिप्लो र हिलो हुँदा सवारीसाधन उकालो चढ्न तथा ओरालो झर्न नसकेर सडक अवरुद्ध भएको हो', उनले भने, 'विस्तारै सवारी पास गराउने काम भइरहेको छ, तर तीन दिनदेखि रोकिएका सवारीसाधन व्यवस्थापन गर्न कठिन भइरहेको छ ।' दाउन्नेमा बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालनमा अत्यधिक कठिनाइ भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीले बताए । 'अहिले पनि दुम्कीवास बजारदेखि नै सवारीसाधनको जाम कायम रहेको छ', उनले भने, 'सडक निर्माणका कारण एकतर्फी रहेको राजमार्गमा लामो समय सवारी जाम हुँदा सञ्चालन गराउन निकै समस्या भएको छ ।' नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव कायम रहेकाले पश्चिम खण्डमा अझ धेरै सवारी चाप रहेको बताए । 'हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको र अवस्था सहज नहुँदासम्म मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको छ', उनले भने । तीन दिनदेखि जारी सवारी जामका कारण सयौँ यात्रु अलपत्र परेका छन् । नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड)ले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्ने खण्डमा एकातिर सडक निर्माण र मर्मतको काम, अर्कोतिर शीतलहरले सडक हिलाम्य बनेपछि सवारीसाधन सञ्चालनमा गम्भीर समस्या देखिएको आयोजनाले जनाएको छ । रासस