११० मेगावाट क्षमताका नीलगिरि जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा
म्याग्दी । म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ । अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६ देखि शुरु भएको दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । नीलगिरि हाइड्रोपावरका ईन्जिनियर रत्न बमजन तामाङले सुरुङ, विद्युतगृह, बाँध र प्रशारण लाईन निर्माणलाई पूर्णता दिन धमाधम काम भइरहेको जानकारी दिए । ’दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ,’ उनले भने ’भौतिक संरचनालाई अन्तिम रुप दिनेसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएका छौँ ।’ नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिए । नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ । क्यासकेडको विद्युतगृह दोभानदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म अक्करे पहाड र विकट क्षेत्रमा दुई वर्ष लगाएर १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको थियो । आगामी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका ईञ्जिनियर केशव वाग्लेले बताए । ’हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठुलो चुनौती थियो,’ उनले भने ’हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पु¥याउन सफल भएका छौँ ।’ आयोजनामा हाल पाँच सय जना प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छन् । यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन् । कठिन भीरपहरा छिचोलेर आयोजनाको निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ । भौगोलिक विकटता, हिउँद याममा हिमपात हुँदा काम गर्न नसक्नु र कोरोना महामारी यो आयोजना निर्माणमा देखिएका चुनौति हुन् । निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठुलो आयोजना हो । पहाडको खोचमा आयोजनाका संरचना निर्माण भएका छन् । करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । नीलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभीए क्षमताको दाना सब स्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ला हुँदै दाना सब–स्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटामध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको छ । रासस
खोटाङमा निर्माणाधीन मोटरेबल पुल अलपत्र, ७ वर्षपछि ढाँचा परिवर्तन सुरु
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीको धाप्लाङघाटस्थित निर्माणाधीन पुलको काम रोकेर अहिले ढाँचा डिजाइन परिवर्तनको प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल चार वर्षअघि बनिसक्नुपथ्र्यो । विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको हो । वेल फाउन्डेसन प्रविधिको मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी ढाँचा परिवर्तको प्रक्रिया अघि बढाइएको हो । विसं २०७६ असारमा बनिसक्नुपर्ने दुई सय मिटर लामो मोटरेबल पक्की पुलको ठेक्का लागेको सात वर्षपछि ठेकेदार कम्पनीको आग्रहमा ढाँचा परिवर्तन गर्न लागिएको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए । ’ठेकेदार कम्पनीले पुरानो डिजाइनमा काम गर्न नसक्ने बताएको छ, तोकिएको समयमा निर्माणको काम नभएपछि सम्झौता गर्दा दिइएको पेस्की बापतको रकमबाट रु चार करोड २२ लाखसमेत फिर्ता गराइएको छ’, उनले भने, ’जसरी भए पनि पुल त बनाउनै प¥यो, पुरानो डिजाइनका चार वेल फाउन्डेसनको ठाउँमा चार पाइल फाउन्डेसन बनाउने तयारीस्वरुप डिजाइन परिवर्तनको काम सुरु गरिएको छ ।’ खोटाङको बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयवासीलाई पूर्वी तराईका विभिन्न सहरसँग जोड्ने पुल विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । धाप्लाङघाट निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल बनिसक्नुपर्ने समयमा ढाँचा परिवर्तनको प्रक्रिया थाल्नुमा ठेकेदार र कर्मचारीको मिलेमतो रहेको स्थानीयवासीले आरोप लगाएका छन् । निर्माणको काम थालेको लामो समयसम्म धाप्लाङघाट पुल निर्माणको काम सम्पन्न नहुँदा दक्षिणी क्षेत्रका स्थानीय बासिन्दालाई सबैभन्दा बढी समस्या भएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले बताए । ’सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल नहुँदा आयात तथा निर्यात गरिने दैनिक उपभोग्य सामग्री पुल वारि र पारि दुवैतर्फ लोडअनलोड गर्नुपर्ने अवस्था छ, यसले सबैभन्दा बढी कृषक मारमा परेका छन्’, उनले भने, ’दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाको दैनिक जीवनसँग जोडिएको धाप्लाङघाटको पक्की पुल निर्माणमा ढिलाइ हुनु दुःखद विषय हो, यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’ धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि उपज निर्यातका क्रममा ‘लोडअनलोड’ गर्दा किसानले थप व्ययभार खेपिरहेका छन् । मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको धाप्लाङघाटमा सात वर्षपछि पुनः ढाँचा परिवर्तन गर्न थालिएपछि उक्त ठाउँमा कहिले पक्की पुल सञ्चालनमा आउने टुङ्गो छैन । धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा मिलेमतोमा छुट दिइएको खोटाङ क्षेत्र नं २ ९२०बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्रकुमार राईले बताए । ’धाप्लाङघाट पुल निर्माणको काम समयमा नसकिएपछि विभिन्न ठाउँमा खबरदारी गर्ने काम भइरहेको छ, पुरानो डिजाइनमा ठेकेदारले कामै नगर्ने बताएको रहेछ’, उनले भने, ’डिजाइन परिवर्तन गरेर भए पनि तत्काल निर्माणको काम अगाडि बढाउन भनिएको छ, सम्भवतः अर्को आर्थिक वर्षबाट नयाँ डिजाइनमा पुल निर्माणको काम सुरु हुन्छ ।’ धाप्लाङघाट पुल निर्माणमा ढिलाइ हुनुको प्रमुख कमजोरी सडक विभागका इन्जिनियरको रहेको एसएनएसका प्रबन्ध सञ्चालक जयराम लामिछानेले आरोप लगाए । ’सडक विभागका इन्जिनियरको कमजोरीका कारण यसअघि तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न गर्न सकिएन, स्थलगत अध्ययन नगरी तयार पारिएको डिजाइनमा हामीले काम थालेका रहेछौँ’, उनले भने, ’काम गर्दै जाँदा सो डिजाइनले त्यहाँ मोटरेबल पक्की पुल निर्माण हुने सम्भावना देखिएन, पटकपटकको आग्रहपछि अहिले डिजाइन परिवर्तनको काम सुरु भएको छ, डिजाइन परिवर्तन भएर आएपछि नयाँ टोली परिचालन गरेर निर्माणको कामलाई तीव्रता दिने तयारी गरिरहेका छौँ ।’ जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दाको प्रमुख व्यापारिक केन्द्र गाईघाट बजार आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक खण्डअन्तर्गत पर्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा झोलुङ्गे पुल सञ्चालनमा छ । लामो समयदेखि सञ्चालनमा रहेको सोही झोलुङ्गे पुलमार्फत दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म पिठ्यूँमा बोकेर वारपार गराउनुपर्ने स्थानीयवासीको बाध्यता छ । रासस
काठमाडौं भ्यू टावर २६ तलासम्म बनाउन मिल्ने पुल्चोक इञ्जिनियरिङ क्याम्पसको सुझाव
काठमाडौं । निर्माणाधीन काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ । १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र थप लता थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ । उक्त टावर वि.सं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कती तला थप्नेबारे यकिन हुनेछ । हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपको लागि कामपालाई निवेदन दिनुपर्छ सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो । ‘हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, तला थप्न मिल्छ कि मिल्दैन जस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो,’ काफ्लेले भने । स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले वि.सं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच विसं २०७१ फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ५ वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ । कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सय सवारी साधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ । गत वैशाख २२ देखि निजी गाडी पार्किङ सुरु निर्माणाधीन भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले ४ पाङ्ग्रे साना सवारी साधन र २ पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ । अहिले सुरुआती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइने बताइएको छ । प्रमुख काफ्लेका अनुसार चार सय साना सवारी साधन र एक हजार मोटरसाइकल अट्ने पार्किङ गत वैशाख २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो । अहिले पार्किङको समस्या निकै नै रहेकाले पूर्ण रुपमा निर्माणको काम सम्पन्न नभईकनै पार्किङ खुला गरिएको बताइएको छ । टावर निर्माणकै लागि वि.सं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । ५ वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम भने सम्पन्न भएको छैन । उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवातजावत गर्ने गरेका थिए ।