तनहुँ जलविद्युत: प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु
काठमाडौं । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान सुरु भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपान सुरु गरिएको हो । आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने चितवन जिल्लास्थित राष्ट्रिय वनमा रहेका रुखहरूको छपान कार्य सुरु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटबिरुवा हटाउन वन तथा भू-संरक्षण विभागसँग सम्झौता भएको थियो । प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका ९ हजार १२७ रुख पोल हटाउन अनुमति प्राप्ति भएसँगै काम अगाडि बढेको भण्डारीले बताए । मन्त्रिपरिषद्को निर्णय बमोजिम आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटबिरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भू-संरक्षण विभागबीच हालै सम्झौता भएको थियो । यस प्याकेजको निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरहरूको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न गरिसकेको छ । यस प्याकेजको समग्र प्रगति ७६ प्रतिशत रहेको भण्डारीले बताए । तनहुँ जलविद्युत आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । प्याकेज एक अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५४ प्रतिशत प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुइवटा डाइभर्सन सुरुङलगायत संरचनाको निर्माणकार्य सकिएको छ । मुख्य बाँध निर्माणका लागि सेती नदीलाई २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । वि.सं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माणकार्य सकिएको जनाइएको छ । प्याकेज-२ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यस अवधिसम्म भूमिगत संरचना निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माणकार्य सम्पन्न भएको भण्डारीले बताए। विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७३ प्रतिशत छ । भण्डारीका अनुसार विद्युतगृहको सिभिल कार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकल कार्य जारी छ । विद्युतगृहमा छाना लगाउने, पानी फाल्ने लगायतका काम भइरहेका छन् ।
१२ वर्षपछि बन्यो सडक पुल, २४.२२ करोडमा भएको थियो ठेक्का सम्झौता
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । पुल निर्माणको सम्झौता अनुरूप त्यतिबेला काम सुरु भएर ३ वटा पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि डिजाइन परिवर्तन भएर पुल निर्माण हुन १२ वर्ष लागेको हो । ‘पुलको फाउन्डेसनमै समस्या देखिएपछि डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्न समय लाग्यो,’ डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर हरिसप्रसाद जोशीले भने, ‘पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भइसकेको छ ।’ उनका अनुसार उक्त पुल निर्माणका लागि ३ पटकसम्म म्याद थप गरिएको थियो । दोदा नदीमा पुल नहुँदा वर्षौंदेखि यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका थिए । ‘पुल बनेपछि हामीलाई आवतजावतमा सहज भएको छ, वर्षातमा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो । पुल बनेपछि यहाँका स्थानीयलाई ठूलो राहत भएको छ,’ स्थानीय भूपेन्द्र चौधरीले भने । नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले बाध्य भएर ज्यान नै जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय रमेश महर बताउँछन् । ‘नदीपारि लालझाडीमा बसाइ रहेका धेरैको वारि कृष्णपुर नगरपालिकामा खेती छ । पुल बनेपछि यहाँका स्थानीय हर्षित छन्,’ उनले भने । उनले उक्त नदीमा पुल नहुँदा यहाँका स्थानीयहरू रोपाइँको सिजनमा सास्ती खेप्दै आएको बताए । पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
विद्युत ट्रिपिङ र अवरोधको समस्यामा उल्लेखनीय सुधार, तथ्याङ्कले देखायो उत्साहजनक नतिजा
काठमाडौं । छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र विद्युत रोकावट हुने समस्यामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ को तुलनामा आव २०८२÷८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने (ट्रिपिङ)को सङ्ख्या र रोकावटको समय उल्लेख्य मात्रामा घटेको देखिएको हो । प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारका कारण ट्रिपिङको सङ्ख्या घटेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनले विद्युत् ट्रिपिङको सङ्ख्या र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत् ग्राहकलाई प्रसस्त राहत दिएको विश्वास व्यक्त गरे । ‘एक वर्षअघि जति ट्रिपिङ हुन्थ्यो त्यसमा यो वर्ष उल्लेख्य सुधार भएको छ भन्ने तथ्याङ्कले पुष्टि गरेको छ,’ शाक्ले भने, ‘प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटिएर गरेको व्यवस्थापनसहितको कामको परिणाम हो यो । उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काममा प्राधिकरण निरन्तर खटिरहेको जानकारी दिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा १२९ पटक ट्रिपिङ भएको थियो । उक्त महिना ट्रिपिङका कारण ५९ घण्टा विद्युत् अवरोध भएको थियो । आव २०८२/८३ को सोही महिनामा ११५ पटक ट्रिपिङ हुँदा ४४ घण्टा विद्युत् अवरोध भएको थियो । आव २०८१/८२ को भदौमा १२८ पटक ट्रिपिङ हुँदा ६४ घण्टा विद्युत् अवरोध भएको थियो । त्यस्तै, आव २०८२/८३ को भदौमा ११५ पटक ट्रिपिङ हुँदा ४१ घण्टा विद्युत अवरोध भएको तथ्याङ्कले देखाउँछ । आव २०८१/८२ को असोजमा ११२ पटक ट्रिपिङ हुँदा ६१ घण्टा, आव २०८२/८३ को असोजमा ९८ पटक ट्रिपिङ हुँदा ६१ घण्टा, आव २०८१/८२ को कात्तिकमा ७१ पटक ट्रिपिङ हुँदा ३८ घण्टा, आव २०८२/८३ को सोही महिनामा ५९ पटक ट्रिपिङ हुँदा ३१ घण्टा विद्युत अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । आव २०८१/८२ को मङ्सिरमा ६८ पटक ट्रिपिङ हुँदा ३२ घण्टा, आव २०८२/८३ को सोही अवधिमा ३२ पटक ट्रिपिङ हुँदा १४ घण्टा मात्रै विद्युत् अवरोध भएको तियो । आव २०८१/८२ को पुसमा ५९ पटक ट्रिपिङ हुँदा २८ घण्टा, चालु आवको सोही अवधिमा ५० पटक ट्रिपिङ हुँदा १३ घण्टा विद्युत् अवरोध भएको शाक्यले उल्लेख गरे। आव २०८१/८२ को माघमा ५४ पटक ट्रिपिङ हुँदा २७ घण्टा, आव २०८२/८३ को माघमा ४४ पट ट्रिपिङ हुँदा १२ घण्टा, आव २०८१/८२ को फागुनमा ६६ पटक ट्रिपिङ हुँदा ३२ घण्टा, आव २०८२/८३ को सोही अवधिमा ४७ पटक ट्रिपिङ हुँदा १२ घण्टा मात्रै विद्युत् अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । साउनदेखि फागुनसम्मको अवधिलाई हेर्दा २०८१/८२ को तुलनामा चालु आवमा ट्रिपिङ उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । सात वटै प्रदेशको तथ्याङ्कलाई हेर्दा पनि यही अवस्था देखिन्छ । चैत, वैशाख, जेठ र असारमा भने ट्रिपिङको समस्या अन्य महिनाको तुलनामा बढी हुने भन्दै प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवका ती महिनामा पनि ट्रिपिङ घट्नेमा पूर्ण आशावादी रहेको जनाएको छ । आव २०८१/८२ को चैतमा ८६, वैशाखमा १०९, जेठमा १५० र असारमा १५३ पटक ट्रिपिङ हुँदा क्रमशः ४२, ५७, ८४ र ६५ घण्टा अवरोध भएको थियो । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन चालिएका सकारात्मक कदमका कारण यो सम्भव भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा हावाहुरी र पानीका कारण ट्रिपिङको समस्या बढेको भन्दै यो वर्ष पनि त्यही कारणले बढ्न सक्ने भए पनि यी महिनामा अघिल्लो वर्षको तुलनामा कम गर्ने तयारीमा प्राधिकरण जुटेको उनले जानकारी दिए ।