निर्माण व्यवसायीलाई मृत्युदण्ड दिने ऐन संशोधन हुनैपर्छ, अब कसैलाई कमिसन बुझाउँदैनौ : अध्यक्ष सिंह
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वर्तमान झन्झटिलो ऐन-कानुन र बढ्दो भ्रष्टाचारका कारण निर्माण उद्योग धराशयी बनेको बताएका छन् । महासंघको २६ औं साधारण सभा तथा १३ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले निर्माण क्षेत्रमा देखिएका नीतिगत र व्यावहारिक गाँठो फुकाउन सरकारसँग जोडदार माग गरे । सार्वजनिक खरिद ऐनका कतिपय प्रावधानहरू व्यवसायीका लागि मृत्युदण्ड सरह भएको सिंहको टिप्पणी थियो । '३४ करोडको ठेक्कामा ६० प्रतिशत काम सकिसक्दा पनि प्राविधिक कारणले ढिलाइ भए १ अर्ब ९९ करोडको जरिवाना र असुलीको पत्र काटिन्छ,' उनले आक्रोश पोखे । अध्यक्ष सिंहले अबका दिनमा कुनै पनि सरकारी कर्मचारी वा नेतालाई अतिरिक्त रकम (कमिसन) नबुझाउन देशभरका व्यवसायीलाई आह्वान गरे । उनले भने, 'हामीले ७७ वटै जिल्लाका साथीहरूलाई सर्कुलर गरिसकेका छौ बिल पास गर्दा वा सम्झौता गर्दा कसैलाई पनि अनुचित लेनदेन नगर्नुहोस् । यदि कसैले दुःख दिएमा हामी सिधै भौतिक पूर्वाधार मन्त्रालयमा उजुरी गर्नेछौ ।' नेपालको निर्माण क्षेत्रमा करिब ७ लाख भारतीय श्रमिकहरू कार्यरत रहेको तथ्याङ्क प्रस्तुत गर्दै सिंहले सरकारले सही नीति ल्याएमा ती श्रमिकलाई स्वदेशी जनशक्तिले प्रतिस्थापन गर्न सकिने बताए । 'हामी भारतीय श्रमिकलाई विस्थापन गरेर नेपालीलाई नै रोजगारी दिन तयार छौ, तर त्यसका लागि सरकारले निर्माण मैत्री वातावरण बनाइदिनुपर्छ,' उनले भने । मध्यपुर्वको युद्ध र विश्वव्यापी संकटका कारण सिमेन्ट, फलाम र बिटुमिन जस्ता सामग्रीको मूल्य अत्यधिक बढेकोमा सिंहले चिन्ता व्यक्त गरे । सरकारले मूल्य समायोजन नगरे व्यवसायीहरूले काम रोकेर कन्स्ट्रक्सन होलिडे निर्माण स्थगन मनाउन उनले चेतावनी दिए । यस्तै, लामो समयको राजनीतिक अस्थिरतापछि बनेको नयाँ सरकारले ३० दिनभित्र ऐन संशोधन गर्ने तत्परता देखाएकोमा अध्यक्ष सिंहले खुसी व्यक्त गरे । उनले यसलाई कालो बादलमा चाँदीको घेरा भन्दै अबका दिनमा निर्माण क्षेत्रले नयाँ गति लिने विश्वास व्यक्त गरे ।आफ्नो दुई कार्यकालको नेतृत्व सम्झिँदै सिंहले व्यवसायीको शिर झुक्न नदिने गरी काम गरेको दाबी गरे । उनले नयाँ नेतृत्वले पनि व्यवसायीका हकहित र अधुरा योजनालाई पूर्णता दिने विश्वासका साथ आगामी कार्यसमितिलाई शुभकामना समेत दिए ।
आधा घण्टाको बाटो पाँच मिनेटमा झर्यो, गुल्मीका स्थानीय भए खुसी
गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन ९एनटाइप० पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो । पुल निर्माणका लागि एक करोड ७१ लाख ८४ हजार ४६० रुपैयाँ बजेट विनियोजन गरिएको थियो । निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी बनेका छन् । वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो । यसअघि पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए । उनका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ । स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जानका लागि सहज हुनुका साथै व्यापारिक क्षेत्रमा पनि चहलपहल बढ्ने छ । लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाले राजनीतिक दलहरूसँग गरेको झोलुङ्गे पुलको माग ढिलै भए पनि पूरा गरिदिएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उक्त पुलले वारिपारिका दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । रासस
एपोलो हाइड्रोले चैत २६ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, ९४ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा १४ लाख १० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख रुपैयाँको ४ करोड ७० लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये ९४ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८ सय कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ९४ हजार कित्ता सेयर आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा चैत ३० गते र ढिलोमा २०८३ वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।