३६ करोडमा सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु

गोदावरी । कैलालीको चुरे गाउँपालिकास्थित  सहजपुर–घरखेडा–निगाली सडकको  स्तरोन्नति सुरु भएको छ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरबाट वडा नं १ स्थित गाउँपालिकाको केन्द्र रहेको घरखेडा–निगाली हुँदै धनगढी –दिपायल फाष्ट ट्र्याक जोड्ने १४.८३५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।       कार्यालयका इञ्जीनीयर सूर्यप्रकाश जोशीले विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत स्तरोन्नति भइरहेको हो । उक्त सडक स्तरोन्नतिका लागि ३६ करोड ३० लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको हो ।      सहजपुर–घरखेडा–निगाली सडक स्तरोन्नतिका लागि गत वैशाख १ गते ढुकेचु एएनके जोशी जेभी महेन्द्रनगरस्थित निर्माण कम्पनीसँग २०८४ जेठ ३ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जोशीले बताए ।       सम्झौताअनुसार सहजपुदेखि गाउँपालिकाको केन्द्र रहेको घरखेडासम्म ६ किलोमिटर सडकमा कालोपत्र गरिनेछ भने घरखेडादेखि निगालीसम्म बाँकी ८.८३५ किलोमिटरमा पनि कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।    

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख रुपैयाँ जरिवाना

चितवन । कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको उल्लेख गर्दै निर्माण कम्पनीलाई एक करोड १६ लाख रुपैयाँ जरिवाना गरेको छ । पटक–पटक म्याद थप गर्दासमेत काम नगरेपछि म्याद थप नगरी जरिवाना गरिएको हो ।      नगरप्रमुख विनोद रेग्मीका अनुसार रविना कन्ट्रक्सनले विसं २०७६ फागुन १५ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी कार्यादेश लिएको थियो । सो मितिमा काम नसकिएपछि नगरपालिकाले चार पटक म्याद थप गरी अन्तिम २०८१ साल कात्तिक ३० गतेसम्म पुर्याएको थियो ।       खरिद ऐनमा म्याद सकिएपछि काम नसकिएमा जरिवाना लगाएर काम गर्न समय दिन मिल्ने प्रावधान रहेको छ । नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्दासमेत काम नगरेपछि कार्यपालिका बैठकले जरिवानाको निर्णय गरी नगर परिषद्बाटसमेत अनुमोदन गरिएको छ ।      नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार नगरपालिकाको निर्णय चित्त नबुझाइ उच्च अदालत हेटौँडामा निर्माण व्यवसायीले मुद्दा दर्ता गराएका थिए । उनका अनुसार अदालतले मुद्दा खारेज गरेको छ । निर्माण कम्पनीले काम ९५ प्रतिशत सम्पन्न गरेको छ । ११ करोड ५६ लाख रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो ।       कम्पनीलाई हालसम्म रु सात करोड भुक्तानी गरिएको छ । निर्माण व्यवसायीले नगरपालिकालाई १० प्रतिशत रकम कटाएर भुक्तानी गर्न अनुरोध गरेको छ । चौलागाईंका अनुसार निर्माण कम्पनी मध्यस्थकर्ताकोमा छलफल गराउने प्रयासमा छ ।  छलफलपछि जरिवाना हटेमा बाँकी रकम पछि लिने गरी भवन हस्तान्तरण गर्ने तयारीमा कम्पनी छ ।      उनका अनुसार जरिवाना रकम बाँकी राखेर अरु रकम भुक्तानी गर्न नगरपालिका तयार छ । सो भवनमा जेनजी आन्दोलनको समयमा तोडफोड भएको थियो । निर्माण कम्पनीले बिमा दाबी गरेर मर्मत सम्भार सकेको छ । आफ्नो भवन बन्न ढिला भएपछि झण्डै ९ वर्षदेखि नगरपालिकाको कार्यालय भाडाको भवनमा बस्न बाध्य छ । रासस  

दाउन्ने सडक जेठ दोस्रो साता पूर्ण रुपमा सञ्चालनमा आउने, ८० प्रतिशत काम सकियो

काठमाडौं । पूर्व-पश्चिम राजमार्गको मुटु मानिने दाउन्ने-नारायणगढ-बुटवल सडकखण्डको ८० प्रतिशत काम सम्पन्न भएको छ । नारायणगढ बुटवल सडकखण्डका अनुसार अब दाउन्ने खण्डमा मात्र ३.२ किलोमिटर सडकको रि-पेभमेन्ट (कालोपत्रे गर्ने तयारी) काम बाँकी छ । आयोजनाका अनुसार ९ वटा ठूला पुल र १९ वटा साना पुलहरूको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ । जेठ महिनाको दोस्रो हप्तासम्ममा यो काम पनि सम्पन्न हुने र त्यसपछि दाउन्नेको यात्रा पूर्ण रूपमा सहज र सुरक्षित हुने आयोजनाको भनाइ छ ।  कुल ८.३ अर्ब रुपैयाँको लगानीमा सञ्चालित यो गौरवको आयोजनामा हालसम्म करिब ६ अर्ब रुपैयाँ (७६ प्रतिशत) खर्च भइसकेको छ । सडकको कालोपत्रेसँगै ट्राफिक सेफ्टी र रोड मार्किङका कामहरूलाई पनि समानान्तर रूपमा अगाडि बढाइएको छ । सडकखण्डमा यतिबेला यात्रीहरूले सास्ती खेपिरहेका छन् । विगत तीन दिनदेखिको वर्षाका कारण सडक हिलो र चिप्लो हुँदा यातायात सञ्चालनमा केही कठिनाइ देखिएको छ । गत शुक्रबार देखिको झरीले दाउन्ने बजार क्षेत्रको सडकलाई हिलो र चिप्लो बनाएपछि सवारी साधनहरू ढिलो गुड्न बाध्य भएको नारायणगढ बुटवल सडक आयोजनाले जनाएको छ । विशेष गरी मालवाहक ट्रकहरूलाई उकालो काट्न कठिन भएपछि अहिले उक्त क्षेत्रमा वान-वे (एकतर्फी) ट्राफिक सञ्चालन गरिएको निर्माण आयोजनाका सूचना अधिकारी विकास खनालले बताए । साना सवारी साधनहरूलाई प्राथमिकताका साथ पास गराइए पनि ठूला गाडीहरूलाई ट्राफिकको अवस्था हेरेर मात्र पालैपालो छोड्ने गरिएको उनको भनाइ छ ।  खनालका अनुसार हिलो पन्छाउने र ड्राई ग्राभेल हाल्ने काम तीव्र पारिएको छ । ‘मौसमले साथ दिएमा आज साँझसम्म सडकलाई थप सहज बनाउने हाम्रो लक्ष्य छ,’ खनालले भने ।  यस्तै, हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेको प्रहरी उपरीक्षक खड्काको भनाइ छ । ‘पानी रोकिए पनि सडक सुधार हुनसकेको छैन, हिलो र लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ,’ उनले भने, ‘पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालोमा चिप्लिएकाले सञ्चालन हुन सकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने केही मात्रामा सञ्चालन भइरहेका छन् ।’ वर्षातको समयमा साना गाडी र अत्यावश्यक सवारीलाई समस्या नहोस् भन्नका लागि निर्माण कम्पनी र ट्राफिक प्रहरीको टोलीले समन्वय गरिरहेका छन् । निर्माण कार्य सम्पन्न हुन अब केही हप्ता मात्र बाँकी रहेकाले यात्रीहरूलाई धैर्य गर्न र ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ ।