वर्षाका कारण नारायणगढ-बुटवल सडक विस्तारको काम ठप्प

नवलपुर ।  निरन्तर परेको वर्षाको कारण नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको कामभन्दा पनि यातायात सहजरूपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए । ‘वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए । ‘यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोत घटाउँदै लगेको थियो,’ उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।’ विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ बुटवल सडकको १ सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्दछ । समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ । ‘निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘काम सुरु गर्ने बेलामा फैलिएको कोभिडको महामारी , ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।’ निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताए । ‘कति दिन म्याद थप गर्ने भन्ने विषयमा परामर्शदाता र हामी मिलेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा सिफारिस पठाउँछौँ ।’ म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको उनले बताए ।

बाढीपहिरोका कारण भएको धनजन क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त, पीडितलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ । आइतबार अपील जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित् निर्माण कम्पनीहरू/व्यवसायीहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न हुन महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई अपील गरेको छ । पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपील गर्दै महासंघले सरकारको यस अभियानमा सक्रियरूपमा सहभागी हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।

२८ निर्माण व्यवसायी एवं आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कुनै पनि सार्वजनिक निकायको खरीदमा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको छ। कार्यालयले आइतबार एक सूचना प्रकाशन गरी विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयले सार्वजनिक गरेको सूतनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उल्लेख छ । कार्यालयले ५ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ४ निर्माण कम्पनीलाई साढे २ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ४ निार्मण कम्पनीलाई डेढ वर्ष, २ निर्माण कम्पनीलाई १३ महिना र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।