काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरको भन्दै आधा दजर्न उद्याेगका विद्युत लाइन काटेकाे छ । मंगलबार राति ३ उद्याेगकाे विद्युत लाइन काटेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार रातिदेखि थप २ उद्याेगकाे लाइन काटेका हुन् ।
प्राधिकरणले बुधबार रातिदेखि जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटेकाे हाे ।
प्राधिकरणले मंगलबार राति रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।
प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टिलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको २५ प्रतिशत जरिवानासहित बक्यौता १५ दिनभित्र भुक्तानी गर्न उद्योगहरूमा बिल पठाएको थियो ।
विद्युत बक्यौता तिर्नुपर्ने समयावधि घर्किएपछि लाइन काटेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले बक्यौता बापतको रकम तिर्न मंगलबारसम्मको अल्टिमेटम दिएको थियो ।
कार्यकारी निर्देशक घिसिङले बक्यौताको विवाद झिकेर पुनः उद्योगमा बिजुली काटेपछि उद्योगमा समस्या आएको छ। जसका कारण मजदुरसमेत समस्यामा परेका छन् ।
उद्योगीहरू भने बक्यौता नतिर्ने अडान राख्दै आएका छन् । मंगलबार मात्रै उद्योगीले पत्रकार सम्मेलन गरेका थिए । उनीहरूले पत्रकार सम्मेलनमार्फत प्राधिकरणले सरकारको निर्णय नमानेर अनावश्यक दुःख दिएको बताएका थिए ।