चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा, दशैं अगाडि सञ्चालनमा आउने

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका कामहरु भइरहेका छन् । प्रसारण लाइन निर्माणका बाँकी कामहरु सम्पन्न गरी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०/१३२/३३ केभीका चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिकहरु परिचालित छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी दशैंअघि नै काम सक्ने समयसीमा तय गरेको छ । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तिब्रता दिन आग्रह गर्दै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ । टोलीले अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको अनुगमनसमेत गरेको थियो । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ । दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । यसले गर्दा पनि प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने दवावमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए । ‘यो लाइन बन्न नसक्दा दुई जलविद्युत आयोजनाहरुले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन्, विकट भौगालिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, बाँकी काम सम्पन्न गर्न सबैले अन्तिम प्रयास गरौं र दशैं अगाडि जसरी पनि निर्माण सम्पन्न गरौं,’ घिसिङले भने । उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मि. लम्बाइमा तार तान्नु पर्ने छ । मैलुङखोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने छ । मैलुङ क्रसिङका लागि लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभाव पर्दै आएको छ । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरु ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको छ । २ वटा टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण गरिएको छ । प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली-१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान

बागलुङ । उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान बनेको छ । बाटोको दूरावस्था र सुरक्षा चुनौती देखाउँदै व्यवसायीले आफ्ना सवारी साधन बसपार्कमा नराख्दा सुनसान भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मंगलबारमात्रै चालक र सहचालकलाई टीका लगाए बसपार्क उद्घाटन गरेका थिए । बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए । ‘बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ ? ’ उनले आश्चर्य प्रकट गर्दै भने, ‘नगरले सुरक्षा दिनुपर्‍यो नि, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।’ बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । ‘व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुंगो लाग्छ’, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।’ उनले बसपार्कलाई दिगो बनाउन यातायात व्यवसायीसँग लिखित रूपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए । निर्माण प्रक्रिया सुरुआत गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट ८ करोड ७० लाख ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित

फाइल फोटो काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको हो । दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभिए लोड काटिएको छ । यसले गर्दा उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो । प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताए । सुरसण्ड–जलेश्वर लाइन नचलेको धेरै भएकाले अहिले लाइनको मार्गधिकारमा पर्ने रुखविरुवा काट्न थालिएको र शुक्रबारसम्म लाइन चालू गरी विद्युत् ल्याउने प्रयास भइरहेको ठाकुरले उल्लेख गरे । प्राधिकरणको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले ट्रान्सफर्मरमा देखिएको समस्या समस्या समाधानका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको बताए । उनले भने, ‘निरन्तर पानी परिरहेकाले ट्रान्सफर्मर खोल्न समस्या भइरहेको छ, फल्ट पत्ता लागेमा एक दिनभित्रमा मर्मत हुनसक्छ नत्र अर्को ट्रान्सफर्मर ल्याएर जडान गर्नु पर्ने भएमा १० देखि १५ दिनसम्म लाग्न सक्छ ।’