मध्यभोटेकोसी जलविद्युतबाट २ महिनाभित्र बिजुली उत्पादन गर्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उनले २ महिनाभित्र विद्युत् उत्पादन हुनेगरी आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘आयोजना निर्माणका क्रममा देखिएको समस्या समाधानमा मन्त्रालयले काम गर्छ, तपाईंहरू दिनरात नभनी आयोजना सम्पन्न गर्न लाग्नुहोस्, उनले भने । ऊर्जामन्त्री खड्काले मध्यभोटेकोसी जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके देशले आर्थिक उन्नतिका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने बताए । मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव सन्दीप देवलगायतले पावरहाउस तथा सवस्टेशनको निरीक्षण गरेका थिए । चिलिमे जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी तथा जनताको सेयर रहेको उक्त आयोजनाको लागत २० अर्बभन्दा बढी रहेको छ । कूल १०२ मेगावाट क्षमताको उक्त आयोजना सन् २०१२ बाट निर्माण सुरु भएको थियो । मध्यभोटेकोसी नदीबाट कूल ७.०१ किलोमिटर मुख्य टनेल हुँदै पावरहाउसमा पानी ल्याइएको छ । उक्त पावरहाउसबाट उत्पादित विद्युत् २२० केभीको ट्रान्समिसन लाइनमार्फत ४ किलोमिटर सिङ्गल सर्किट हुँदै बाह्रबीसे सवस्टेशनमा लगेर जोडिनेछ ।
सानिमा बैंकको नेतृत्वमा अपर म्याग्दी–१ को निर्माण सुरु, १२ अर्ब लागत
काठमाडौं । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गरेका थिए । २०७ मिटर लामो अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युत्गृहबाट पनि सुरुङ खनिने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । धवलागिरि गाउँपालिका-४ खाम्लामा रहने बाँधदेखि मालिका गाउँपालिका-७ भरावाङसम्म ५ हजार ७ सय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । ‘बाँध, विद्युत्गृह र सुरुङ निर्माणको काम समानान्तर हिसाबले अघि बढेको छ, आयोजनाबाट विसं २०८३ फागुनसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ,’ आयोजना प्रमुख केसीले भने । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ १९६ मिटर रहेको छ । १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको प्रवर्द्धक अपर म्याग्दी जलविद्युत् कम्पनी लिमिटेड हो । कम्पनीका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकहरूले कूल लागतको ७५ प्रतिशत लगानी रहने आयोजनामा प्रवर्द्धक र संस्थापक सेयर आह्वान गरेर २५ प्रतिशत लगानी जुटाइने बताए । जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमार्फत एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यअनुसार अपर म्याग्दी–१ बनाउन लागिएको पोखरेलले बताए । निर्माण कम्पनी लुना बिल्डर्स एण्ड कन्ट्याक्टर प्रालीले सुरुङसँगै अन्य संरचना निर्माणलाई तीव्रता दिने जनाएको छ । ९ किलोमिटर पहुँचमार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ । छहरीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ । रातोढुङ्गादेखि खाम्लासम्म १९ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर आयोजना निर्माणका लागि विद्युत् आपूर्ति गरेको छ । अपर म्याग्दी–१ बाट उत्पादन हुने विद्युत् मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माणाधीन १३२ केभी क्षमताको सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । प्रदेशसभा सदस्य जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, नेपाली सेनाको २३ नम्बर बाहिनीका बाहिनीपति जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, सत्रु झञ्जन गुल्मका गुल्मपति रविन गुरुङलगायतको उपस्थितिमा सुरुङ निर्माण शुभारम्भ गरिएको थियो ।
१ करोड ६४ लाख खर्चेर खानेपानी आयोजना निर्माण, ६ सय परिवार लाभान्वित
सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा १ करोड ६४ लाख ६८ हजार लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ । आयोजना सम्पन्न भएसँगै वडा नं १ का ६ सय १९ परिवारमा शुद्ध खानेपानीको पहुँच विस्तार भएको हो । कर्जन्हा नगरपालिकासँगको सहकार्यमा सबल नेपालद्वारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको खानेपानी आयोजना एक कार्यक्रमको आयोजना गरी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । विसं २०७६ फागुन २० गतेदेखि उक्त खानेपानी आयोजना प्रारम्भ भएको थियो । सबल नेपालको ७० लाख ५ हजार ९ सय ५५, नगरपालिकाको ९० लाख ७४ हजार ३ सय ७३ तथा लक्षित समुदायले ३ लाख ८८ हजार ४ सय ८५ रुपैयाँ खर्च व्यहोरेका सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार खानेपानी वितरण गर्न कुल १ लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको ‘ओभरहेड’ ट्यांकी रहेको छ । उक्त ट्यांकीमा स्वचालित रूपमा पानी शुद्धीकरणका उपकरणसमेत जडान गरिएको छ । २ सय ४० फिटको डिप बोरिङ गाडिएको छभने १० एचपी क्षमताको सम्बरसिवल पम्प जडान गरिएको सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले जानकारी दिए । खानेपानीका इनार र कुवाहरू सुक्दै जान थालेपछि उक्त आयोजनाको पहल गरिएको वडा नं १ का वडाध्यक्ष फणिन्द्र पोखरेलले बताए । ‘जलवायु परिवर्तनसँगै चुरे क्षेत्रका गाउँहरुमा पानीको सतह सुक्न थाल्यो । ट्युवेल र इनारहरू सुक्न थाले । गाउँमा खानेपानीको हाहाकार हुन थालेपछि यो आयोजनाको पहल गरिएको हो,’ उनले भने, ‘यसमा सबल नेपाल र नगरपालिकाले पनि चासोका साथ सहयोग गरेकाले समयमै निर्माण सम्पन्न भएको छ ।’ घरमा नियमित खानेपानी आउन थालेपछि स्थानीय पनि खुसी भएका छन् । ‘हाते कल सुकेको वर्षौं भइसकेको थियो । इनार तथा कुवाका पानी पनि सुक्न थालेपछि पानीको हाहाकार हुन थालेको थियो । पछिल्लो समय हामीसँग बसाइँ सर्नुको विकल्प थिएन । आज यसरी घरघरका धारामा पानी आउन थालेपछि हर्षित भएका छौँ,’ स्थानीय ६० वर्षीय शारदा कार्कीले भनिन् । खानेपानीको दिगोपनाका लागि प्रत्येक परिवारबाट न्यूनतम १० युनिट प्रयोग गरेबापत ८० रुपैयाँ महसुल संकलन गर्ने गरिएको भन्दै थप प्रतियुनिट ६ रुपैयाँ महसुल निर्धारण गरिएको नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडावासीले स्वच्छ पानी पिउन पाएको कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले बताइन् । उनले यस खानेपानी आयोजनाको प्रभावकारिताका लागि नगरले थप योजना बनाउने भन्दै नगरका अन्य वडा तथा समुदायमा पानीको समस्या समाधान गर्न सहकार्य गर्दै जाने उल्लेख गरिन् । आफ्नो नगरक्षेत्रभित्रको चुरेको फेदमा पर्ने बल्टियाको बस्तीमा स्थानीयको घरघरमा खानेपानीको व्यवस्था भएको नगरप्रमुख भोला पोखरेलले बताए । ‘यसमा नगरले पनि सहकार्य गरिरहेको छ । आगामी दिनमा नगरका अन्य सुक्खा ठाउँमा क्रमशः खानेपानीको व्यवस्था गर्दै जाने प्रतिबद्धता गर्दछौँ,’ उनले भने ।