सिस्नेरी-दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द
मकवानपुर । सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न उनले अनुरोध गरे ।
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
वालिङ । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी आँधीघाटमा निर्माण भइरहेको पुलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सन्तोष कँडेलले बताए । ‘दुई प्रदेशका स्याङ्जा र पाल्पा जिल्लालाई जोड्नेगरी कालीगण्डकी नदीका दुई ठाउँमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो’, उनले भने, ‘मूल्य अभिवृद्धि करसहित ५५ करोड रुपैयाँमा एउटै ठेक्कामार्फत दुईवटा पुलको निर्माण भइरहेको छ ।’ आँधीघाट र बाँसटारीमा दुई पुल निर्माण भइरहेको छ । आँधीघाटमा निर्माण भइरहेको पुल दुई सय २० मिटर लम्बाइको हुनेछ । दुईवटा फुटपाथसहित पुल साढे १० मिटर चौडाइको हुने भएको हो । एक दशमलव पाँच मिटर चौडाइका फुटपाथ पुलको दुवै किनारामा निर्माण गरिने भएको हो । सम्झौता भएको मितिले पुल निर्माणकार्य तीन वर्षमा सक्नुपर्ने भए तापनि कोभिडलगायतका महामारीका कारण समयावधि थप गरी २०८२ को चैतसम्म रहेको उनले बताए । ‘हालसम्म आँधीघाटको पुलको भौतिक प्रगति ८५ प्रतिशत छ’, उनले भने, ‘काम तीव्रगतिमा अगाडि बढेकाले सम्भवतः २०८२ को नयाँ वर्षदेखि नै पुल निर्माण सम्पन्न भई सवारीसाधन चल्न सक्छन् ।’ चारवटा स्पान रहने निर्माणाधीन पुलको तीनवटा स्पान निर्माण सम्पन्न भएको छ । एउटा स्पान निर्माणको काम अहिले जारी छ । आँधीघाटमा हाल झोलुङ्गे पुलबाट वारपार गरिरहेका यात्रीलाई पक्की पुल निर्माण सम्पन्न भएसँगै सहज हुने भएको हो । आँधीघाटमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै स्याङ्जाको चापाकोट पाल्पाको रामपुर–१० बर्दलेस्थित कालीगण्डकी करिडोरमा जोडिने छ । अहिले आँधीघाटमा रहेको झोलुङ्गे पुलबाट पैदलयात्री तथा मोटरसाइकल वारपार गर्दै आएका छन् ।
ढल्केबर-सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो
काठमाडाैं । ढल्केबर-सीतामढी ४००र२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकरणमा सक्रियता देखाएसँगै लामो समयदेखिको विवाद टुङगिएको हो । अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गरेको ढल्केबरदेखि सीतामढीको ४००/२२० केभी डबल सर्किट प्रसारण लाइनको दुई किलोमिटर बढी लामो प्रसारण लाइनले चर्चेको जग्गा (राईट अफ वे)मा विवाद भएपछि मन्त्री खड्का आफैले सरोकारवालासँग बसेर समस्याको समाधान गरेका हुन्। समस्या समाधानसँगै लाइन निर्माण तत्काल सुचारु गर्ने सहमतिसमेत भएको छ । मन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको तर्फबाट ढल्केबर सवस्टेशनमा जडान गर्नुपर्ने ४००/२२० केभी (३१५ एमभीए) को ट्रान्सफर्मर जडान सुरु गरिसकेकामा १५ दिनभित्र (टेस्टिङ कमिसनिङ)लगायत सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । उक्त ट्रान्सफर्मर जडान भएपछि नेपालले एक हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्न पाउने गरी नेपाल र भारतबीच संयुक्त प्राविधिक संयन्त्रको बैठकमा यसअघि सहमति भइसकेको छ । मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले उक्त समस्या समाधान हुनु अरुण तेस्रो जलविद्युत आयोजनाका लागिमात्र नभएर अन्तरदेशीय विद्युत व्यापारका दृष्टिकोणले ठूलो उपलब्धि भएको बताए । अरुण तेस्रोबाट उत्पादित विद्युतको २१ दशमलव नौ प्रतिशत अंश नेपाल सरकारले निःशुल्क पाउने व्यवस्था भएकोमा सो बिजुली नेपालभित्र खपतका लागि आवश्यक नपरेमा यसै प्रसारण लाइनबाट भारत निर्यात गर्न सकिनेछ । उनले आजै ढल्केब र सव-स्टेशनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । देशकै सबैभन्दा ठूलो ढल्केबर सव–स्टेशन ४०० केभीको ‘जीआईएस’ प्रविधिबाट निर्माण गरिएको छ । मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले उक्त सवस्टेशनको निरीक्षण गरेका थिए ।