कालीगण्डकी करीडोर : जोमसोम-कागबेनी खण्डमा कालोपत्र

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम-कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी-जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाँईले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए । कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ । पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए । रासस

जलविद्युतमा ढुक्क भएर लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्षको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानडियन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानडियन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षासम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेको, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरू थप १० हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको बताए । उनले भने, ‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ । यसको लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानडियन लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न आग्रह गर्दछु ।’ नेपालमा विद्युत उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए । अहिले भारतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए । ४० मेगावाट विद्युत थोरै लागेपनि बंगलादेशको विद्युत माग पुरा गर्न सन् २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए । दुई ठूला उदयीमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालमा लगानी गर्न क्यानडियन लगानीकर्तालाई कार्कीले आग्रह गरेका हुन् ।

हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन

मकवानपुर । हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो । स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ ।