३१ वर्षपछि वागीश्वरी सडक कालोपत्र

दमौली । एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । संघीय सरकारबाट चार करोड रुपैयाँ बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ । पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ । हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ । मुकुन्देश्वरी पदमार्ग निर्माण यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ । यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। गाउँपालिकाको गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ ।

कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तरर्गत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो । नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ६३ करोड रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए । मुस्ताङको कैकुखोलादेखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ ।  हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक १० अर्ब रुपैयाँको लागतमा  २०७३ सालदेखि कालोपत्र सुरु भएको हो । हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले बताए । चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको जानकारी उनले दिए । निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अवधि आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि सात अर्ब रुपैयाँको ठेक्का सम्झौता भएकामा गत असारसम्म छ अर्ब रुपैयाँ खर्च भएको छ ।

अर्थले बजेट सुनिश्चित गरेपछि घोराही-तुलसीपुर सडकको काम अघि बढ्ने

काठमाडौं । दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ । योजना आयोगबाट स्वीकृत भएपछि अर्थ मन्त्रालयमा बजेट सुनिश्चितता गरिने प्रमुख विष्टले बताए । अर्थले बजेट सुनिश्चित गरेपछि निर्देशनालयले काम अघि बढाउने उनको भनाइ छ । त्यसका लागि आवश्यक कागजात तयार गरिरहेको प्रमुख विष्टले बताए । तीस महिनामा काम सक्नेगरी तत्कालीन अवस्थामा २०७५ माघदेखि काम सुरु भए पनि चौथोपटक म्याद थप्दा पनि १० प्रतिशत काम पूरा हुन सकेको थिएन । ठेकेदार पनि सम्पर्कविहीन भएपछि चौतर्फी दबाबले डेढ वर्षअघि ठेक्का नै रद्द भएको थियो । तत्कालीन अवस्थामा भारतीय एक्जिम बैंकको सहयोगमा चार लेन सडक भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले १ अर्ब २३ करोड रुपैयाँ कार्य अघि बढाएको थियो । उक्त कम्पनीले पेटी ठेकेदारमार्फत काम गर्दै आएको थियो । त्यो बीचमा आठ जना पेटी ठेकेदारलाई काम दिएको भए पनि निर्माण सुरु भएको पाँच वर्षसम्ममा १० प्रतिशतभन्दा बढी काम हुनसकेको थिएन । यस क्षेत्रका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलले समयमै काम गर्न दबाब दिँदै आएका थिए ।