४८.५ मेगावाटको अपर राहुघाट अन्तिम चरणमा, १३ अर्बभन्दा बढी लगानी
काठमाडौं । राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले जानकारी दिए । तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । रघुगङ्गा गाउँपालिका-८ को बन्दीमा बाँध, वडा नम्बर-७ को चिमखोलामा विद्युत्गृह र ५ हजार ३२८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ । मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो । दुईवटै आयोजना निर्माणमा १३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान गरिएको छ । अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा-३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म २ सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले ५ लाख रुपैयाँदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिए । तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा ३३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजना निर्माणका लागि करिब ६५.९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ । मकालु गाउँपालिकामा निर्माण भइरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताए । सतलजले अहिले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।
हाइड्रोमा निजी क्षेत्रको लगानी १५ खर्ब रुपैयाँ पुगेको छ : अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले देशलाई लोडसेडिङमुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको बताएकाे छ । मंगलबार पत्रकार सम्मेलन गर्दै इप्पानले यस्ताे बताएकाे हाे । आफ्नो २५ औं वार्षिकोत्सव मनाउन लागेकाे जानकारी दिँदै इप्पानले निजी क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य भएकाेमा हर्ष प्रकट गरेकाे छ । इप्पान विसं २०५७ साल माघ ४ गते स्थापना भएकाे थियाे । यसले नेपालको ऊर्जा विकासका लागि २५ वर्ष समर्पित गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । देशको कुल विद्युत जडित क्षमता ३ हजार २ सय ३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २ हजार ५ सय ४८ मेगाबाट अर्थात् कुल जडित क्षमताको करिब ८० प्रतिशत विद्युत उत्पादन भइरहेकाे इप्पानले जनाएकाे छ । साथै ३ हजार ९ सय ४७ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन र ४ हजार ५ सय ४५ मेगावाट क्षमताका आयोजनाहरू विद्युत खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा रहेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, १२ हजार ५ सय मेगावाट क्षमताका आयोजनाहरू पीपीएको पर्खाइमा रहेका छन् भने त्यति नै क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेकाे इप्पानले जनाएकाे छ । इप्पानका अनुसार आयाेजनाकाे अध्ययनदेखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको छ । रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्नुका साथै विभिन्न विधामा अवार्डहरू दिने इप्पान कार्यसमितिको १८७ औं बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तिकाे लागि छुट्टै लाेगाे र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनजी प्रस्पोरेटी’ रहेको छ। उक्त दिन दुईवटा प्यानल डिस्कसन आयोजना गरिने पनि बताइएकाे छ । सो सेसनमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर र नीतिहरूबारे मन्चन हुनेछ । त्यस्तै, रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यकमहरूकाे पनि आयोजना गरिने जनाइएकाे छ ।