मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो, बन्दीपुर आउने पर्यटकलाई ग्रेटवालको झल्को

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई ‘मिनी ग्रेटवाल’का रूपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकस्थल हो । यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ गन्तव्यस्थल बनाउन खोजेका हौँ,’ उनले भने । थापाका अनुसार अहिले दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्नेलगायत काम भइरहेको छ । उनले भने, ‘केही समय यसको काममा ढिलाइ भएको थियो, गाउँपालिकाले ताकेता गरेसँगै अहिले कामको गति बढेको छ ।’ पदमार्गको दूरी दुई किलोमिटर रहेको र ८० प्रतिशत काम सकिएको थापाले जानकारी दिए। यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत परिमाण गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले उल्लेख गरे । विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने थापाले विश्वास व्यक्त गरे । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन सकिए पर्यटन व्यवसाय फस्टाउनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने बताए । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको प्रधानले जानकारी दिए । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीबाट १८ किमी डुम्रे हुँदै ८ किमी उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने हरेकको मन लोभिने गर्दछ ।

फ्लाई ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको सोमबार स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयका उच्च अधिकारीसहित उनी निर्माणस्थलमा पुगेका हुन् । निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए । त्यस क्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए । काठमाडौंको सहरी तथा यातायात व्यवस्थापन गर्न महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिए । निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत रहेका थिए । विसं २०७८ फागुन १२ गतेदेखि निर्माण सुरु भएको उक्त फ्लाई ओभर आगामी पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । तीस मिटर स्पानको चार लेनको सो पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणद्वारा ६४ वटा ऊर्जा कम्पनी छनोट, कूल क्षमता ९ सय ७४ मेगावाट

काठमाडौं । ऊर्जा मिश्रणको अवधारणालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तराईका विभिन्न जिल्लामा सौर्य परियोजनालाई अगाडि बढाउन लागिएको हो । प्राधिकरणले एक हजार मेगावाट क्षमता बराबरका आयोजना अगाडि बढाउन लागेको हो । प्राधिकरणले यसअघि आठ सय मेगावाट बराबरको सौर्य परियोजना अगाडि बढाउने निर्णय गरेको थियो । त्यसमा २० प्रतिशत थप गर्ने निर्णय भएको थियो । प्राधिकरणले छनोट गरेका आयोजनाको क्षमता एकदेखि ५० मेगावाट बराबर छन् । हाल छनौट भएका ६४ परियोजनाको कूल क्षमता भने नौ सय ७४ मेगावाट बराबर छ । प्राधिकरणले प्रतिकिलोवाट चार रुपैयाँ ९९ पैसादेखि पाँच रुपैयाँ ५५ पैसासम्मको दर तय गरेको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्ने गरी प्राधिकरणले सौर्य ऊर्जा उत्पादक कम्पनीसँग आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ । हिउँदमा नदीको जलस्तर घटन गई ऊर्जा उत्पादन केन्द्रहरुले कम क्षमतामा मात्रै बिजुली उत्पादन गर्ने भएकाले सौर्य परियोजनाको अवधारणा अगाडि सारिएको हो । दिनभरको माग सम्बोधन गर्न सौर्य ऊर्जा प्रभावकारी हुने ठहरसहित तत्कालका लागि झण्डै एक हजार मेगावाट बराबरको बिजुली प्रणालीमा जोडन लागिएको हो । दिनको माग धान्न वैकल्पिक व्यवस्था गर्न सकिए साँझ वा रातको माग भने जलविद्युत् आयोजनाले सम्बोधन गर्ने विश्वास लिइएको छ । सरकारले ठूला जलाशयुक्त आयोजनाको अवधारणा अगाडि सारेपनि निर्माण सम्पन्न गर्न लामो समय लाग्ने देखिन्छ । केही जलाशययुक्त आयोजनाको प्रक्रिया अगाडि बढाइएको भए पनि लगानीको ढाँचालगायतका विषयमा सहमति जुटन नसक्दा निर्माणमा जान ढिलाइ भइरहेको छ । जानकारहरूका अनुसार एकदेखि डेढ वर्षभित्रमा सौर्य परियोजनाले बिजुली उत्पादन गर्ने भएकाले प्रणाली व्यवस्थापन गर्न सहज हुने छ ।