पृथ्वीराजमार्ग दैनिक साढे ४ घण्टा बन्द हुने

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो । उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताए । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए । उनले भने, ‘मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ ।’ उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ ।

लमजुङ दरबार निर्माण कार्य ठप्प, प्रधानमन्त्रीका स्वकीय सचिवलाई भन्दा पनि अघि नबढेको गुनासो

लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ । बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी चिन्तित बनेका छन् । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्यसम्पन्न हुन सकेन । तेस्रो वर्ष लाग्यो तर काम भएको छैन । ‘हामीले निर्माणकार्य नभएपछि गत दसैँपछि काठमाडौँ पुगेर पुरातत्व विभाग र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीयसचिवलाई भेटेर आवश्यक बजेटको व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर पनि काम सुरु हुनसकेको छैन’, उनले भने,’यहाँ दरबारसँगै मन्दिर पनि निर्माण भइरहेको छ, समयमा सकिएन, मान्छेको आस्था घट्यो, काममा ढिलाइ हुँदा स्थानीय बेखुसी छन् ।’ स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा एतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनःनिर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताए । वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म कामसुरु नभएको बताए । ‘दरबार निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ । यसअघि गरेको काम पनि सो बेलाको ठेकदारले गुणस्तरीय काम नगरेको गुनासो छ । यस विषयमा गुनासो गरे पनि विभागले ध्यान दिएको छैन’, उनले भने । पुरातत्व विभागका अनुसार दरबार पुनःनिर्माणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार अघिल्लो आवमा एक करोड ३३ लाख रूपैयाँ बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा गत आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्याएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस/विष्णु जेभीले दरबार पुनःनिर्माणको जिम्मा पाएको थियो । इन्जिनियर अधिकारीले चालु आवका लागि ५५ लाखमात्र बजेट रहेको बताए । बजेट अभावका कारण निर्माणकार्य लम्बिरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उनको भनाइ छ । ‘बजेट निकासा, किस्ता किस्तामा बोलपत्रलगायत प्रक्रियाका कारण यस वर्ष यतिका महिनासम्म निर्माण कार्यले गति लिन सकेको छैन । बोलपत्र प्रक्रियामा गइसकेको र आधिकारिक रूपमा बोलपत्र परेको कम्पनीको नाम आउन बाँकी रहेकाले पनि केही समय लागको हो । अब केही समयमा बोलपत्र परेका ठेकेदारसँग सम्झौता गरेर ठेकेदारलाई ल्याएर हेर्न आउँछौँ अनि करिब एक महिनापछि काम सुरु गर्छौँ, हालको बजेटको काम सुरु गरेको करिब तीन महिनाभित्रमै काम सम्पन्न हुने हाम्रो विश्वास छ’, इ अधिकारीले भने । पुरानै शैली र स्वरूपमा दरबारको पुनःनिर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ । रासस

चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । विभागले जलविद्युत्तर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कुल क्षमता ६९.०२ मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट बराबरको जडित क्षमता छ । विभागले वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ । यसरी कुल १० वटा आयोजनाको ११९.०२ मेगावाट जडित क्षमताको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको हो । जलविद्युत्तर्फ चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ । सो आयोजनाको कुल क्षमता २१० रहेको छ । यस्तै, अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ । ती आयोजनाको क्षमता ३५३.०२ मेगावाट छ । सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७.०३ मेगावाट रहेको जनाइएको छ । यसबीचमा विभागले ३७०.०५ मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ । प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६.४५ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २१०.९५ सर्किट किलोमिटर, २२० केभी क्षमताको १२५.०१ सर्किट किलोमिटर, ४ सय केभी क्षमताको २९.३७ सर्किट किलोमिटर गरी कुल २२ वटा विद्युत् प्रसारणको सर्वेक्षण अनुमतिपत्रसमेत जारी गरिएको महानिर्देशक सिंहले जानकारी दिए । त्यस्तै, प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको २३.०५ सर्किट किलोमिटर, १३२ केभी क्षमताको १९.०८ सर्किट किलोमिटर, २२० केभी क्षमताको १२.०१ सर्किट किलोमिटर र ४ सय केभी क्षमताको ५ सर्किट किलोमिटर गरी कुल सातवटा विद्युत् प्रसारण लाइनको अनुमतिपत्र जारी गरिएको उनले बताए । विभागका अनुसार वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने सातवटा विद्युत् वितरणतर्फको अनुमतिपत्र जारी गरेको छ ।