पर्वतमा आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् ।      यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर,  पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।      पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक १४ किलोमिटर, हिमालय–विपाङ–नुवार–खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । साथै, सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन् ।    

डोल्पामा ३२८ मेगावाटको भारबुङ आयोजना बन्ने, लागत १ खर्ब ३ अर्ब

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल ३२८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुने गरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ ।  विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने ३२५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप ३.१० मेगावाट क्षमताका २ वटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका-४ र ५ तथा काईके गाउँपालिका-१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका-४ मा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका-१ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण गरिनेछ ।  आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका-५ का केही भू-भाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ । आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत १ खर्ब ३ अर्ब ३१ करोड ९ लाख ३१ हजार रुपैयाँ बराबर रहनेछ । प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ बराबर रहेको छ ।  यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । झ्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।  मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युतगृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो ।  आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो ।

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् ।  रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ । उनले भने, 'रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ । पुनः सञ्चालनका लागि पहल थालिएको छ ।' यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।