ऊर्जा क्षेत्रमा ठूलो लक्ष्य : १० वर्षमा १०५ खर्बको योगदान र साढे ७ लाखलाई रोजगारी

इप्पानको २४औं वार्षिक साधारण सभालाई सम्बाेधन गर्दै अध्यक्ष गणेश कार्की ।

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको सक्रिय सहभागिताले देशको जलविद्युत् क्षेत्रमा ऐतिहासिक रूपान्तरण आएको दाबी गरेको छ । इप्पानको २४औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा निजी क्षेत्रका उपलब्धि, वर्तमान अवस्था र आगामी दशकका ऊर्जा लक्ष्यबारे विस्तृत छलफल गरिएको हो ।

इप्पानका अनुसार हाल नेपालको कुल जडित विद्युत् क्षमता ४ हजार ३०० मेगावाट पुगेको छ, जसमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । निजी क्षेत्रको प्रवेश हुनुअघि २६ वर्षअघि देशको विद्युत् उत्पादन क्षमता केवल २५२ मेगावाटमा सीमित थियो । अहिले निजी क्षेत्रले मात्र ३ हजार ४६३ मेगावाट विद्युत् उत्पादन गरिरहेको इप्पानको भनाइ छ ।

यसै उपलब्धिसँगै देशमा विद्युत् पहुँच १४ प्रतिशतबाट बढेर ९८ प्रतिशत जनसंख्यामा पुगेको इप्पानले जनाएको छ । ऊर्जा क्षेत्रमा भएको यो विस्तारले ग्रामीण तथा विकट क्षेत्रसम्म विद्युत् पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको संस्थाको दाबी छ ।

कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले अघि सारेको ऊर्जा विकास मार्गचित्र र निजी क्षेत्रको भूमिकाबारे चर्चा गर्दै आगामी दशकका लागि ठूलो अवसर रहेको बताए । उनका अनुसार सरकारले आगामी १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ र पीपीए (Power Purchase Agreement) लाई आधार बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

अध्यक्ष कार्कीले विद्युत् उत्पादन अनुमति (लाइसेन्स) को म्याद ५० वर्ष पुर्याउने तथा विद्युत् व्यापारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने नीतिगत सुधारले ऊर्जा क्षेत्रमा सकारात्मक वातावरण बनेको उल्लेख गरे । साथै, सरकारले ल्याएको १०० दिने कार्यसूचीमार्फत ऊर्जा खपत र निर्यात विस्तार गर्ने रणनीतिलाई निजी क्षेत्रले पूर्ण रूपमा समर्थन गर्ने उनले बताए ।

यता, इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आयोजना निर्माण प्रक्रियामा देखिएका प्रशासनिक तथा कानुनी जटिलताप्रति ध्यानाकर्षण गराउँदै एकलद्वार प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार एउटा आयोजना अघि बढाउन ८ वटा मन्त्रालय र २३ वटा विभाग धाउनुपर्ने बाध्यता अझै कायम छ, जसले लगानी वातावरण प्रभावित बनाइरहेको छ ।

उनले वन तथा जग्गा प्राप्तिका समस्या समाधान गर्दै १० मेगावाटभन्दा कम क्षमताका आयोजनामा पीपीए खुला गर्नुपर्ने र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्ने सुझाव पनि दिए ।

इप्पानका अनुसार हाल निजी क्षेत्रले ५ हजार ७९२ मेगावाट बराबरका १८७ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ भने १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना पीपीए सम्झौताको प्रतीक्षामा छन् ।

जलविद्युत्सँगै सौर्य ऊर्जा क्षेत्रमा पनि निजी क्षेत्रको विस्तार तीव्र देखिएको छ । हालसम्म २१ वटा सौर्य आयोजनाबाट १५० मेगावाट विद्युत् उत्पादन भइसकेको छ ।

ऊर्जा क्षेत्रले प्रत्यक्ष रूपमा पूर्वाधार विकासमा पनि ठूलो योगदान पुर्याएको इप्पानको अध्ययनले देखाएको छ । निजी क्षेत्रका आयोजनामार्फत हालसम्म ३ हजार ७०० किलोमिटर सडक, ४५० किलोमिटर सुरुङ, १६० स्वास्थ्य केन्द्र र १०५ विद्यालय निर्माण भएका छन् ।

यसैबीच, निजी क्षेत्रले सरकारलाई वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

सरकारले ऊर्जा विकास मार्गचित्र २०८१ मार्फत सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा भएमा आगामी १० वर्षमा १०५ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान हुने र करिब ७ लाख ५० हजार रोजगारी सिर्जना हुने इप्पानको प्रक्षेपण छ ।

साथै, निजी क्षेत्रले भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि मनीकरण पावर लिमिटेडसँग सम्झौता गरिसकेको जानकारी दिइएको छ । यसले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउँदै वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत बनाउने विश्वास व्यक्त गरिएको छ ।

Share News