४ बैंकले ७० प्रतिशत लगानी गरेको २१.३ मेगावाटको ठूलो खोला आयोजनाको परीक्षण सुरु

काठमाडौं । म्याग्दीको रघु गङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत् गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट  म्यानेजर’ विनोद पौडेलले जानकारी दिए । उनका अनुसार, बाँध, सुरुङ, विद्युत् गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत् गृहमा टर्बाइन लगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेन स्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा ३ हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर पेन स्टक टनेल रहेको छ । गैर आवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो । 

वर्षाले नारायणघाट-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक यात्रा गर्न आग्रह

काठमाडौं । गए रातीदेखि निरन्तर परेको वर्षाका कारण पूर्व पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गए रातीदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे ।  सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातीदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारी साधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।  कान्ति लोकपथ सडक अवरुद्ध  त्यसैगरी, गए रातीदेखि परेको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए । प्रहरीले  यात्रीलाई हेटौंडाबाट काठमाडौं जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

सार्वजनिक यातायालाई सर्वसुलभ, सुरुङमार्ग र द्रुतमार्गलाई आधुनिक

काठमाडौं । सरकारले सार्वजनिक यातायात सेवालाई सर्वसुलभ बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो वातावरणमैत्री बनाउने घोषणा गरे ।  साथै उनले आगामी नीतिमार्फत सडक, रेल र जल यातायात आवागमनको माध्यमका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए । उनका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने, यात्रुलक्षित सचेतना कार्यक्रम गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवार बनाइनेछ । ‘रणनीतिक र व्यापारिक महत्वका सडकखण्डको क्रमशः निर्माण र स्तरोन्नति गर्दै रूग्ण पुल तथा आयोजनाको निर्माण द्रुतगतिमा अगाडि बढाउने सरकारको योजना छ । वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरूको शीघ्र कार्यान्वयन गरिनेछ,’ उनले भने, ‘राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिका पुलहरू निर्माण गर्ने, सुरुङमार्ग, द्रुतमार्गजस्ता आधुनिक निर्माणमा जोड दिने भएको छ । सडक सुविधा नपुगेका दुर्गम क्षेत्रको यातायातलाई सहज तुल्याउन तुइन व्यवस्थापन गर्ने र झोलुङ्गे पुलको निर्माण गरिने जनाएको छ ।’ काठमाडौंको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र, मनोरञ्जन पार्कको रूपमा विकास गरिनेछ भने सम्भाव्यताको आधारमा मात्र विमानस्थल बनाउने घोषणा समेत राष्ट्रपतिले गरेका छन् भने आपत्कालीन आवास र आवासविहीन परिवारहरूको लागि आवास निर्माण कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कमजोर र अव्यवस्थित सहरी क्षेत्रहरूको एकीकृत विकास गरिने तथा  स्थानीय तहका प्रशासनिक भवनहरूको मापदण्ड अनुरूप निर्माण गरिने जनाएको छ ।  यस्तै, जलस्रोतको बहुपक्षीय उपयोग गरिने, विद्युतको माग अधिक हुने समयको लागि आपूर्ति व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्न नदी पथान्तरण र जलाशययुक्त आयोजनाहरूको कार्यान्वयन गरिनेछ भने देशभरिका नदी प्रणालीहरूको समुचित संरक्षण र संवर्धनका लागि कानुनी र संरचनागत व्यवस्था गर्ने, एकीकृत जलस्रोत व्यवस्थापनको अवधारणा अनुरूप नदी बेसिन गुरुयोजनाको कानुनी र संरचनागत प्रबन्ध गर्ने लक्ष्य लिएको छ । यस्तै, सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगर विकास कोषलाई पुनर्संरचना गर्दै यसको स्वामित्व सङ्घ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूको बिचमा वितरण गरिनेछ भने आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइने समेत सरकारले जनाएको छ ।