सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले निर्माण क्षेत्रका करिब २ हजार आयोजनालाई निकास दिएको बताएका छन् । उनका अनुसार भुक्तानी लिन नसकेका, अधुरा अवस्थामा रोकिएका, र काम सम्पन्न भइसकेका परियोजनाहरूलाई नयाँ संशोधनले समाधानको बाटो दिएको हो । 'यो संशोधनले डिजाइन एण्ड बिल मोडललाई पनि समेटेको छ,' सिंहले भने, '१० अर्बसम्मको कार्यको सीमा बढाएर १२ अर्ब बनाइएको व्यवस्थालाई समेत स्वागतयोग्य मानिएको छ ।' सिंहले ऐनको दफा ५९ को ३ बुँदालाई 'विश्वमै कहीँ नभएको जटिल प्रावधान' भन्दै यसको समाधान आगामी बजेटमार्फत खोजिनुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायीहरूसँग भएको अधिकांश सम्झौता अझै समेटिन बाँकी रहेकाले सरकारसँग थप पहलको अपेक्षा गरिएको बताए । १३ औँ संशोधनबाट सिर्जना भएको 'म्याद नथपिने' समस्यालाई १४ औँ संशोधनले हटाएको र अब आवश्यक औचित्यका आधारमा पुनः म्याद थप गर्न सकिने स्पष्ट व्यवस्था गरिएको सिंहले बताए । उनले भने, 'अब प्रतिपक्षी दलहरूले विगतका त्रुटिहरू सच्याएर विकास निर्माणमा जिम्मेवार भूमिका खेल्नुपर्छ । निर्माण व्यवसाय जस्तो आर्थिक इन्जिनमा भोटको राजनीति गर्नु हुँदैन, यसले अर्थतन्त्रलाई झन् संकुचित बनाउँछ ।' सिंहले सरकारलाई धन्यवाद दिँदै अब आगामी नियमावली संशोधनमा बाँकी मागहरू समेट्ने प्रतिबद्धता रहेको जानकारी पनि दिए ।

नारायणगढ-बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

काठमाडौं । नारायणगढ-बुटवल सडक अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई  वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माण कार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने भएको हो । ‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मत सम्भार र निर्माणकार्य गर्ने गरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ,’ उनले भने, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षा अगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।’ यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।  नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर अन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।  १७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

तनहुँमा मोनोरेलको सञ्चालन गर्ने, एक साताभित्र लागतसहितको प्रतिवेदन आउने

काठमाडौं । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केस्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छिम्केस्वरी पर्यटन विकास समितिको नेतृत्वमा आबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केस्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडौंस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुद्री सतहबाट २ हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केस्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिने उनको भनाइ छ । छिम्केस्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता, वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म छ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्ने लक्ष्य लिइएको तामाङले बताए ।  उनले भने, ‘पहिलो चरणमा नापजाँच सुरु गरिएको छ । लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुग्छ । त्यसपश्चात् थप प्रक्रिया अगाडि बढाउँछौँ ।’ छिम्केस्वरीमा हाल वार्षिक १ लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । छिम्केस्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।  उनले भने, ‘हामी छिम्केस्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।’ गाउँपालिकाले छिम्केस्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको चुमानको भनाइ छ । छिम्केस्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क र टावर व्यवस्थापनलगायत समस्या रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने उनले बताए । सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको भन्दै चुमानले खानेपानीको बजेट स्रोत भएर विस्तृत परियोजना प्रतिवेदन गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए ।  छिम्केस्वरीमा पानीको अभाव हुँदा विकास निर्माणमा बाधा पुग्दै आएको छ । खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदनको चरणमा रहेको चुमानको भनाइ छ ।  उनले भने, ‘वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केस्वरी खानेपानी आयोजना अगाडि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइरहेको छ । डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।’ उनका अनुसार खानेपानीका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान छ । विशेषगरी यहाँ फागु पूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायत बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केस्वरी पर्यटन विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए ।  उनका अनुसार आबुखैरेनी गाउँपालिकाले छिम्केस्वरीमा रहेको छिम्केस्वरी मन्दिर जीर्णोद्धार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्धार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केस्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केस्वरीमाई यहाँ अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केस्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । छिम्केस्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४१ लाख ६३ हजार ७०६ रुपैयाँको लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६/७७ मा ३५ लाख ९९ हजार १४१ रुपैयाँको लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।