काठमाडौं । म्याग्दीको रघु गङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत् गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए ।
उनका अनुसार, बाँध, सुरुङ, विद्युत् गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत् गृहमा टर्बाइन लगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ ।
आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेन स्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा ३ हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर पेन स्टक टनेल रहेको छ ।
गैर आवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।