सडक अवरोध तत्काल हटाउन र २४ घण्टा कन्ट्रोल रुम सञ्चालन गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाबारे शनिबार सरोकारवालासँग छलफल गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहितको बैठकमा मन्त्री घिसिङले यात्रुहरूको सहज आवागमनका लागि विशेष व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । मन्त्री घिसिङले सडक अवस्थाबारे २४ घण्टा जानकारी दिन सक्ने र यात्रुको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । पहिरोलगायत कारण सडक अवरुद्ध भए तुरुन्तै पुनःस्थापना गर्ने व्यवस्था गर्न पनि उनले जोड दिए । बैठकले गरेको निर्णयअनुसार दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने र त्यसपछि मात्रै सो मार्गमा अन्य सवारी साधनलाई प्रवेश गराउने तयारी गरिएको छ । त्यस्तै, दशैं अवधिमा राजमार्गमा सुरक्षा व्यवस्था कडा पार्न, प्रहरी संख्या बढाउन र गस्ती सञ्चालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ । सडकको कमजोर अवस्थालाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा १२ चक्काभन्दा ठूला भारवाहक सवारी साधन नचलाउने र अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई भने छुट दिने व्यवस्था गरिने भएको छ । सडक स्तरोन्नति र सुधारका लागि पहिरो व्यवस्थापन, उपकरण उपलब्ध गराउने, नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा अवरोध हटाउने र तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । यात्रामा निस्कँदा मौसम र सडकको अवस्थाबारे जानकारी लिन आम नागरिकलाई आग्रह गर्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । साथै, यातायात साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि र निर्देशिका छिट्टै ल्याउने, र सडक सुरक्षाका लागि २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रुम व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।
बाढी–पहिरोले यातायात प्रभावित, ७ राजमार्गमा आवागमन बन्द
काठमाडौं । केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ । कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ । त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ । यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन् ।
तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ । शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ : ०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।