यूनिभर्सल पावरको ९.४७ प्रतिशत लाभांश र १ सय प्रतिशत हकप्रद सेयर घोषणा
काठमाडौं । यूनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नदग गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २३ गते ललितपुरमा वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात १ प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने, २ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
निजी क्षेत्रको मनोबल नगिर्ने गरी आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न महासंघको अपील
काठमाडौं । भ्रष्टाचार निवारण, सुशासनको प्रत्याभूति, सामाजिक सञ्जालको निर्वाध सञ्चालन लगायतका माग सहित ‘जेनजी’ पुस्ताद्वारा राजधानी लगायतका अन्य प्रमुख शहरहरुमा गरिएको प्रदर्शनमा प्रहरी दमन हुँदा ठूलो मानवीय क्षति भएको प्रति नेपाल निर्माण महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली सहित मृतआत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै महासंघले देशव्यापी प्रदर्शनमा घाइते भएका समस्त प्रदर्शनकारी, सुरक्षाकर्मीहरु र सर्वसाधारणको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । ‘आन्दोलनका क्रममा जेन्जी पुस्ताको माग विपरित सार्वजनिक तथा निजी सम्पत्ति सहित ऐतिहासिक धरोहरहरूमा भएको व्यापक आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटका घटनाबाट महासंघ अत्यन्त दुःखित एवं मर्माहत भएको छ’ महासंघको विज्ञप्तिमा उल्लेख छ । निजी क्षेत्रको मनोबल गिर्ने गरी जो कोहीबाट भएको त्यस्ता ध्वंसात्मक गतिविधिको महासंघले कडा शब्दमा भर्त्सना एवं निन्दा गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा दिर्घकालीन रुपमा गम्भीर असर पर्ने गरी भएका त्यस्ता हिंसात्मक गतिविधिहरूले नेपालको पूर्वाधार लगायतका क्षेत्रमा लगानी गरेका स्वदेश तथा विदेशका तमाम उद्योगी व्यवसायीहरू सहितको समग्र निजी क्षेत्र त्रसित रहेको महासंघको निचोड छ । ती आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई तत्काल कानून अनुसार कार्बाही गर्न जोडदार माग गर्दै महासंघले आन्दोलनका क्रममा निर्माणधीन संरचनाहरूमा भएको क्षतिको सम्बन्धित निर्माण कम्पनीलाई सम्झौता बमोजिम राहत तथा सुविधा दिन आग्रह गरेको छ । साथै अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्नु दिनु राज्यको पहिलो दायित्व भएकाले त्यसतर्फ अविलम्ब पहलकदमी लिन महासंघले अपील गरेको छ । मुलुकमा हाल अन्तरिम सरकार गठन भइसकेको अवस्थामा जेनजी पुस्ताको चाहना अनुरुप देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि तत्काल आवश्यक पहल गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । पूर्वाधार विकास तथा पुर्ननिर्माण कार्यलाई तीव्रता दिने कार्यमा सहज हुने व्यवहारिक ऐन कानून एवं नीतिगत व्यवस्था गरी जवाफदेहिता सहितको समय सापेक्ष ऐन, कानून एवं नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउन महासंघले माग गरेको छ । राष्ट्रले भोगिरहेको यस अकल्पनीय क्षति पश्चातको पुर्ननिर्माणमा सहयोग गर्न महासंघ अझ प्रतिबद्ध भएर लाग्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । नागरिकले आधारभूत सेवा पाउन वा उद्योग/व्यवसाय सञ्चालन गर्न ‘अवैध’ बाटो अपनाउनुपर्ने विद्यमान विकराल प्रणालीको अन्त्य गरी ‘सम्बन्ध वा पैसा विना केही हुँदैन’ भन्ने मानसिकताको अन्त्य गर्दै भ्रष्टाचारमा संलग्नलाई कडा कार्वाही गरी निर्माण उद्योगमा व्याप्त तमाम विसङ्गती अन्त्यका लागि महासंघले नवगठित सरकार समक्ष माग राखेको छ । पूँजीगत खर्चमा वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन र संकटग्रस्त अवस्थामा रहेको निर्माण उद्योग सहित सिङ्गो निजी क्षेत्रको मनोबल नगिर्ने गरी आर्थिक स्थायित्वलाई उच्च प्राथमिकतामा राखेर अविलम्ब ठोस आर्थिक रणनीति सहित अघि बढ्न महासंघ पनि नवगठित सरकार समक्ष महासंघले अपील गरेको छ ।
नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने इप्पानको घोषणा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेनजी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त एकोमा शुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो । प्रधान न्यायधीशनको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै इप्पानले हरेक क्षेत्रको लागि अत्यावश्यक मानिएको ऊर्जा क्षेत्रमार्फत मुलुकुको समृद्धि हासिल गर्न सकिन्छ भन्ने उच्च मनोबलमा साथ विभिन्न समस्या र चुनौतीहरुबीच लगानी गरिरहेका ऊर्जा उद्यमीहरुको लागि कार्कीको कार्यकाल स्वर्णिम हुने अपेक्षा गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले परिवर्तित अवस्थामा नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने कार्य गर्ने अपेक्षा राखेको बताए । ‘हामी नयाँ अन्तरिक सरकारले लगानीमेत्री वातावरण बनाउने अपेक्षा गरेको छौ, अहिलेको अवस्थामा देशको पुर्ननिर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छौ,’ उनले भने । अध्यक्ष कार्कीले नयाँ अन्तरिम सरकारले ऊर्जा उद्यमीहरुले ऊर्जा विकास र विस्तारका लागि हाल भोगिरेहको समस्या र चुनौतीहरु समाधानका लागि अग्रसर हुने अपेक्षा गरेको बताउँदै ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले योगदान दिईरहेको र आगामी दिनमा अझ बढी दिनका लागि तयार रहेको बताए ।