चिकित्सा विधेयक पहिलो कार्यसूचीमा प्रस्तुुत गर्ने

काठमाडौँ । पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि उक्त विधेयक प्रस्तुत गर्ने भएको छ । उपसमितिको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्य सम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले बताएका छन् । उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्न व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ । बैठकले न्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सरकारसँग प्रतिवेदन माग्ने निर्णय पनि गरेको छ । रासस

वीर अस्पतालकाे अत्याधुनिक शल्यक्रिया भवन बन्दै, लागत तीन अर्ब ८५ करोड

काठमाडौ । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुई वर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेश थिएटर) रहने छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ । नेपाल सरकारको तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । विनाशकारी भूकम्पले क्षति पुर्याएको न्याम्सअन्तर्गतको नर्सिङ कलेजको पुरानो भवनको संरचना भत्काई सोही स्थानमा शल्यक्रिया भवन निर्माण गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विस २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । स्वास्थ्य क्षेत्रका चिकित्सक, जनशक्ति, औषधि तथा भौतिक पूर्वाधार तयार गर्न रकमको अभाव नहुने बताए । विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको रहेको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबिबिएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठानपाठन तथा तालिमका कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् । नाम्सको कुलपति पद खाली भएको पाँच महिना बितिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेल विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भैसकेकाले छिटै पदपूर्ति हुने उनको भनाई रहेको छ । वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० शथ्यासम्मको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायतका पूर्वाधार तयार गर्ने भएको छ । सरकारी स्तरमा पहिलो पटक हेलिप्याडको सुविधा समेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिएका छन् । आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने गरी भवन निर्माण भइरहेको छ । वीर अस्पताल सेवा विस्तार केन्दीय अस्पतालले दिँदै आएको चिकित्सकीय सेवा विस्तार गर्दै जाने स्वास्थ्य मन्त्रालयको नीतिअनुसार वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट गत असोज २४ गतेदेखि आफ्नो सेवा थालनी गरेको छ । बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) बाट सेवा सुरु गरेको अस्पतालले क्रमशः शल्यक्रिया सेवा दिँदै जाने जनाएको छ । अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले सो स्थानमा नाम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृत समेत दिएको छ । ओपिडी सेवा बिहान ९ वजेदेखि ५ बजेसम्म सञ्चालन भैराखेको छ भने थप उपचार गर्नुपरेमा वीर अस्पतालमा अर्को टिकट लिन नपर्ने व्यवस्था अस्पतालले मिलाएको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा भौतिक संरचना गर्न करीब ५७० रोपनी जमिन उपलब्ध गराएको थियो । निर्देशक प्राडा बस्नेतले ओपिडी सेवा प्रदान गर्न आवश्यक मेडिकल अधिकृत, नर्स, अहेबसहित आवश्यक कर्मचारीको व्यवस्था एवं आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा उपकरणको व्यवस्था मिलाउँदै जाने जानकारी दिएका छन् । सो स्थानमा भौतिक संरचनालगायतका कामको सुरुवात गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार ३० करोड रकम विनियोजन गरेको छ । रासस

नर्भिक अस्पताललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड’

काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्रदान गरिएको छ। नेपालको चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रवाह गरेबापत दी वर्ल्ड कन्फडेरेसन अफ बिजिनेश (वर्ल्ड) नामक संस्थाले उक्त अवार्ड प्रदान गरेको हो। घोषणा अमेरिकामा नै भए पनि अवार्ड वितरण भने काठमाडौंमा नै भएको हो। संस्थाबाट आएका प्रतिनिधिले शुक्रबार होटल सोल्टीमा एक विशेष समारोहमा अवार्ड हस्तान्तरण गरेका हुन्। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस काफेरोले नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीलाई सो अवार्ड प्रदान गरे। अवार्ड प्रदान गर्दै संस्थाका निकोलसले भने, ‘नेपालको चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्दै, यसलाई विश्वस्तरीय पारेकोले नर्भिकलाई यो अवार्ड दिएका हौं। नर्भिकले स्वास्थ्य सेवाका क्षेत्रमा भित्र्याएको नवीनतम प्रविधि, सेवाको गुणस्तर, स्तरीय व्यवस्थापन एवं नेपाली लगायत अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुलाई पुर्‍याउँदै आएको विश्वस्तरीय स्वास्थ्य सेवाको सम्मान गरेका हौं।’ कार्यक्रममा उपप्रधानमन्त्री यादवले नर्भिकले गुणस्तरीय सेवामा गरेको योगदानका लागि अन्तर्राष्ट्रिय पुरस्कार पाउनु नेपालको लागि पनि प्रतिष्ठाको विषय भएको बताए। ‘नेपालको उपचार सेवा अन्तर्राष्ट्रियस्तरकै छ भन्ने सन्देश नर्भिकले दिन सफल भएको छु,’ उनले भने, ‘गुणस्तरीय सेवाका लागि नर्भिकले सधैं अग्रणी भूमिका खेल्दै आइरहेको छ। आगामी दिनमा नर्भिकले सुपरस्पेसलाइज्ड सेवालाई झन् विस्तार गर्दै लैजान्छ भन्ने विश्वास लिएको छु।’ उनले नर्भिकजस्ता संस्थाकै कारण उपचारका नाममा अर्बौं रुपैयाँ विदेशिनबाट जोगिएको बताए। ‘स्वास्थ्य उपचारमा अर्बौं विदेशिने गरेका बेला नर्भिकले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराएर केही हदसम्म भए पनि राष्ट्रको रकम बाहिरिनबाट जोगाएको छ,’ उनले भने। उनले नेपालमा पछिल्लो समय मुटु रोग, मधुमेह लगायत नसर्ने रोगको भार बढ्दै गएकाले यस्ता रोगको उपचारमा पनि नर्भिक अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘रोग लाग्नै नदिने उपायतर्फ सरकार लागिरहेको छ,’ उनले भने, ‘तर रोग लागिसकेको अवस्थामा नर्भिकले गुणस्तरीय उपचार सेवा दिने कुरामा नेतृत्वदायी भूमिका खेल्नुपर्छ।’ उनले नर्भिक जस्ता संस्थाकै कारण सरकारले सरकारी निकायका उच्चपदस्थ व्यक्ति तथा राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरु राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न जनस्वास्थ्य ऐन जारी गरेको पनि बताए। कार्यक्रममा नर्भिक अस्पतालका सद्भावनादूत कलाकार हरिवंश आचार्यले नर्भिक अस्पतालले थोरै भए पनि उपचारका नाममा विदेशिने ठूलो धनराशी जोगाएको बताए। उनले नेताहरुलाई नेपालकै डाक्टर तथा स्वास्थ्य संस्थालाई विश्वास गर्न पनि आग्रह गरे। ‘राम्रो उपचार सेवाका लागि विदेश जानेहरुलाई रोक्न नर्भिक सफल भएको छ। यो नेपालीमाथिको गुन हो,’ उनले भने। नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले अवार्डले गुणस्तरीय सेवा प्रवाहका लागि थप प्रेरणा मिलेको बताइन्। ‘अन्तर्राष्ट्रियस्तरको उपचार सेवाका लागि अवार्ड पाउनु हाम्रा लागि मात्र नभई देशकै लागि पनि खुसीको कुरा हो,’ उनले भनिन्, ‘हामी हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै लैजानेछौं।’ चौधरी नर्भिकले आफ्नो स्थापनाकालदेखि नै नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आइरहेको बताइन् । ‘नेपाली नागरिकले उपचारका लागि विदेशिन नपरोस् भनेर अस्पतालले विदेशका डाक्टरलाई समेत नेपालमा बोलाएर सेवा दिँदै आएको छ। स्वदेशमै सबै प्रकारका गुणस्तरीय उपचार सेवा उपलब्ध हुनुपर्छ भन्ने हाम्रो ‘एड्भोकोसी’ हो,’ उनले भनिन्। नर्भिकले अबको लक्ष्य उपत्यकाबाहिरका विभिन्न स्थानमा सेवा विस्तार गर्ने बनाएको छ। उपत्यकाबाहिर पहिलो चरणमा सुनसरीको दुबही, पोखरा र बुटवलमा १/१ सय शय्याको अस्पताल बनाउने उनले जानकारी दिइन्। नर्भिक उपचारका क्षेत्रमा ‘कर्पोरेट कल्चर’ भित्र्याउने पहिलो नेपाली अस्पताल हो। पैसा तिर्न तयार भएर पनि नेपालमा राम्रो ‘हस्पिट्यालिटी’ भएको हस्पिटलको अभाव चिरेको नर्भिकले २५ वर्ष पूरा गरेको छ। २५ वर्षमा यस अस्पतालबाट ओपिडी सेवा २८ लाख ५७ हजार ३ सय ७३ जनाले लिएका छन्। यसैगरी अन्तरंग सेवा १३ लाख ७३ हजार ८ सय ५४ र एन्जिओग्राफी १७ हजार २ सय ४९ ले लिएका छन्। शल्यक्रिया मात्रै यो अस्पतालमा १ लाख १३ हजार ७ सय ५० जनाको भएको छ। १० हजार १ सय ३७ विदेशी नागरिकको यो अस्पतालबाट उपाचर सेवा लिएका छन्।