दाङकाे अस्पतालमा दक्ष जनशक्ति र उपकरण अभाव, बिरामी भारी कष्टमा

काठमाडौं । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो गरिरहेका छन् । सोमबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आएका तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी ४५ वर्षीया राधा पाण्डेयलाई चिकित्सकले इन्डोस्कोपी गराउनुपर्ने र सो सेवा उक्त अस्पतालमा हुन नसक्ने भएकाले घोराही जान सल्लाह दिएका छन् । अस्पताल छ चिकित्सक, उपकरण छैनन्, कति दिनसम्म नाम मात्रको अस्पतालबाट सेवा लिनुपर्ने भएको छ । टाउकोमा चोट लागेर अस्पताल आउनुभएका दङ्शीशरण गाउँपालिका–३ का ४८ वर्षीय हरिहर अधिकारीलाई पनि अस्पतालले सिटीस्क्यान उपकरण नभएकाले घोराही जान सल्लाह दिएका छन् । सो अस्पतालमा उपचार गराउन आउने धेरै नागरिकको एउटै गुनासो छ कि उपकरण र चिकित्सकका साथै उपचारका लागि धेरै दुःख र खर्च हुने गरी अन्यत्र जान नपरोस् भन्ने रहेको छ । कूल १६ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा अहिले छ चिकित्सकमात्र रहेको अस्पताल प्रशासनले बताएका छन् । अस्पतालका प्रशासन अधिकृत नीमबहादुर केसीले भौतिक पूर्वाधार, उपकरण तथा दक्ष जनशक्तिको अभावका कारण सघन उपचार कक्ष र अति सघन उपचार कक्ष सेवा सञ्चालन गर्न नसकेको जनाएका छन् । उहाँका अनुसार अस्पतालमा हाल कुल ७४ कर्मचारीको दरबन्दी रहेता पनि ५६ मात्र कार्यरत छन् । सर्पदंशका बिरामी उपचार गर्न आउँदा समस्या हुने गरेको पनि अधिकृत केसीले बताएका छन् । बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने हुन्छ तर अस्पतालमा भेन्टिलेटर छैन, अन्यत्र सिफारिश गरेर पठायो केहीको ज्यान बाटोमा नै जानसक्ने समस्या रहेको छ । अस्पतालमा बेहोस गराउने चिकित्सक नहुँदा पनि समस्या हुने गरेको छ । गत वर्ष सघन उपचार कक्ष अति सघन उपचार कक्ष सञ्चालनका लागि केही सामग्री आएकोमा त्यो पनि पूरा नभएको जनाएका छन् । दक्ष जनशक्ति नहुँदा उक्त सामग्री त्यतिकै थन्किएको अस्पतालको भनाई रहेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) सर्वे शर्माले पर्याप्त जनशक्ति, उपकरण, बजेट अभाव तथा भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । अस्पतालमा आवश्यक पर्ने सिटीस्क्यान, इन्डोस्कोपीलगायतका उपकरण, आवश्यक पर्ने चिकित्सकसहितका अन्य जनशक्ति नभए पनि सेवा व्यवस्थित गर्न गम्भीर भएर लागि रहेको शर्माले बताएका छन् । आफूले मेसुको जिम्मेवारी पाएको तीन महीना भएको बताउँदै अस्पतालको सेवालाई प्रभावकारी बनाउने विषयमा यहाँका सरोकारवाला निकाय, नागरिक अगुवा, बुद्धिजीवी, व्यापारी, समाजसेवी, स्थानीय सरकार तथा प्रदेश सरकारकासँग छलफल तथा समन्वय भएको छ । त्यस्तै अस्पताललाई आवश्यक पर्ने उपकरणलगायतका लागि प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयमा कार्यक्रम पेश गरिएको छ बताएका छन् । अस्पतालले पछिल्लोपटक मिर्गौलाको डायलायसिस सेवा पनि शुरु गरेको छ । सो सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो छ तर उपकरण अभावका कारण सेवा दिन सकिएको छैन । अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष विमल रिजालले अस्पतालको सेवालाई प्रवाभकारी गराउन माग गरेका छन् । नागरिकको अथक मेहनत र आर्थिक सहयोगबाट स्थापना गरिएको अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा पाउन नसक्नु दुःखद् भएको भन्दै सेवालाई प्रभावकारी गराउन सरकारसँग माग गरेका छन् । नागरिकको व्यापक दबाबपछि सरकारले विसं २०६५ मा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र तुलसीपुरको स्तरवृद्धि गरेर राप्ती अञ्चल अस्पतालको स्थापना गरिएको थियो । यस क्षेत्रका नागरिकले महापुराण लगाएर सङ्कलन गरेको दुई करोड र पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको थियो । रासस

डाक्टर केसी फेरी अनसन बस्दै

काठमाडौं । डाक्टर गोविन्द केसी फेरी अनसन बस्ने तयारी गरेका छन् । सरकारले आफ्नो माग पुरा नगरेको भन्दै केसीले अनसनको घोषणा गरका हुन् । उनले शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटन दिएका हुन् । डा.केसीले आफूसँग सरकारले गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाहि गर्नुपर्ने लगायतका विभिन्न ३ बुदे माग राख्दै अनसन बस्ने चेतावनी दिएका हुन् । यस्तो छ डा. केसीका मागहरु १. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् । क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् । ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् । २. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् । ३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडाैं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

कञ्चनपुरमा आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै, आवश्यक सामग्री नगरपालिकाको वडाले सहयोग गर्ने

काठमाडौं । पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ । शुक्लाफाँटा नगरपालिका– १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चान गरेको निःशुल्क पञ्चकर्म आयुर्वेद बाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि मध्यनजर गर्दै औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको सङ्ख्या बढ्न थालेको छ । पञ्चकर्म सेवा सञ्चालन गरिएपछि औषधालयबाट एक वर्षको अवधिमै तीन हजार २ सय ६३ जना बिरामीले सेवा लिएको औषधालयका कविराज तारादत्त पाण्डेयले बताएका छन् । जसमध्ये पुरुष एक हजार १५२ र महिला दुई हजार १११ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको असारदेखि हालसम्म महिला र पुरुष गरी पञ्चकर्म सेवा लिने बिरामीको सङ्ख्या एक हजार ७०० रहेको छ । चाप बढ्दै गईरहँदा पञ्चकर्म चिकित्सामा रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले मालिस गरी शरीलाई पीडाबाटमुक्ति दिलाइ शरीरलाई स्फुर्ति गराइने वैद्य दिवाकर जोशीको भनाई रहेको छ । औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने बाष्प स्वेदन यन्त्र (बाष्प बाकस)मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त बाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरेको जानकारी दिएका छन् । यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान कम गर्न सहायक हुने बताइएको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनका लागि र आवश्यक सामग्री खरीद गर्न नगरपालिकाको वडा कार्यालयले एक लाख ५० हजार रकम उपलब्ध गराएको छ । बिरामीलाई प्राकृतिक रुपमा उपचार गर्ने सेवा औषधालयले सञ्चालन गरे पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । कोठा अभावमा एउटै कोठामा पञ्चकर्म र औषधि वितरण गर्ने कक्ष राख्नु परेको छ ।पञ्चकर्म सेवा सञ्चालन गर्न र योगा गराउनका लागि ११ लाखको लागत अनुमान तयार गरी आयुर्वेदिक विभागमा पठाए पनि हालसम्म यसबारे सुनवाइ हुन नसकेको वैद्य जोशीले जनाएका छन् । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले भत्ताको रकम जोगाएर औषधालयका लागि २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्रि यन्त्र र १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरीद गरेर बिरामीलाई सेवा दिएका छन् । औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी निःशुल्क उपचार गर्दै आएको छ । चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क दिइन्छ । सुत्केरी आमाका लागि दुग्धवद्र्धक सतावरी चूर्ण र सुत्केरी पछि मालिस गर्ने तेल समेत उपलव्ध गराइन्छ । वृद्धवृद्धाका लागि थकान कमगर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धबृद्धाको आकर्षण बढेको छ । रासस