बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन

काठमाडौं। सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ। प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको दुई महिना अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । उनको सरुवा पछि मन्त्रालयले अर्को कर्मचारी पठाएको छैन् । बेनी अस्पताल विकास समितिका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी अस्पतालको समस्या बढ्दै गएको बताउँछन् । हाल मेडिकल अधिकृत भुषण सुवेदीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक गतिविधि ठप्प छ । कर्मचारी र स्वास्थ्यकर्मीले काम गर्न अटेर गर्न थालेका छन । अस्पतालका स्रोत साधनको दुरुपयोग हुन थालेको छ । निगरानी र नियन्त्रण नहुँदा सेवा प्रवाह कमजोर बन्न थालेको सर्वसाधारणको गुनासो छ । नेतृत्वको अभावमा काम गर्न कठिनाइ भएको मेडिकल अधिकृत बिराट शर्माले बताए। “दरबन्दीअनुसार चिकित्सक नहुँदा काम गर्न समस्या भएको छ”, उनले भने, “प्रदेशको विभागीयमन्त्री र सङ्घीय मन्त्रालयलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।” आर्थिक विषयमा निमित्तलाई निर्णय गर्ने अधिकार नहुँदा एम्बुलेन्ससमेत मर्मत गर्न सकिएको छैन । उपकरण र जनशक्ति तयार भए पनि नेतृत्वको अभावमा डायलाइसिस सेवा शुरु गर्न ढिलाइ भएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्ले घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माधव सुवेदीका परिवारले अस्पताललाई रु २० लाखभन्दा बढी मूल्य पर्ने दुई थान डायलाइसिस उपकरण उपलब्ध गराएका छन्। जनशक्तिको व्यवस्था र उनीहरूलाई तालीमसमेत दिएर डायलाइसिस सेवा शुरु गर्ने तयारी गरे पनि नेतृत्व गर्ने व्यक्ति नहुँदा अन्योलता भएको अस्पतालका चिकित्सक नवराज बास्ताकोटीले बताए। तीन वर्षअघि पचास शय्यामा स्तरोन्नति भएको अस्पतालमा चार मेडिकल अधिकृत र नौ विशेषज्ञ चिकित्सको दरबन्दी छ । हाल दुई मेडिकल अधिकृत र एक विशेषज्ञ चिकित्सक मात्र कार्यरत छन् । दुई मेडिकल अधिकृत अम्बालिका शाक्य र हेमा जोशी अध्ययन बिदामा छन् । हालै स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका तीन चिकित्सक काज मिलाएर पोखरा बसेको अस्पताल प्रशासनले जनाएको छ । रेडियोलोजिष्टको अत्तोपत्तो छैन। रासस

बाजुरा जिल्ला अस्पतालमा आन्द्राको शल्यक्रिया सफल

बाजुरा । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो ।डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए। उक्त अस्पतालमा डा दुर्गा महर्जन र डा टीका राई आएपछि हर्निया, हाइड्रोसिल, एपेन्डेकटोमी, पायल्स, सिएस (सिजिरियन्स सेक्सन) लगायतको शल्यक्रिया सस्तो मूल्यमा हुँदै आएको हो । हालसम्म २० भन्दा बढी शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ । अहिलेसम्म गरिएका शल्यक्रियामध्ये सबैभन्दा बढी अप्ठ्यारो यही भएको शल्यक्रियामा सहभागी डा राजेश बर्माले बताए । यसअघि जीर्ण भवन, साधन र स्रोतको अभावसँगै राम्रा चिकित्सक नबस्ने हुँदा जिल्लावासीले सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो तर पछिल्लो समय धेरै चिकित्सक अस्पतालमा निरन्तर बस्ने गरेकाले बिरामीले शल्यक्रियासमेत जिल्ला अस्पतालमा सुलभ खर्चमा गर्न पाइरहेका छन् । जिल्ला अस्पतालमै यस्तो जोखिम खालको सफल शल्यक्रियाले आम बाजुरेली जनतामा खुशी छाएको छ । डा दुर्गा महर्जन र डा टीका राई पिछडिएको जिल्ला भनेर चिनिने यहाँका जनताको ढुकढुकी नै बनेका छन्। डा महर्जनले यस्तो शल्यक्रिया गर्दा ५ लाख रुपैयाँसम्म लाग्ने भए पनि ५ हजार रुपैयाँमै गरिदिएको बताए। उनले भने, “ पैसाभन्दा पनि बिरामीको ज्यान बचाउनु पहिलो कर्तव्य थियो त्यसैले साधन स्रोतको अभाव, यातायाताको असहज भएको ठाउँमा पनि यस्तो जटिल खालका शल्यक्रिया घरदैलोमै हुनु भनेको बाजुरेलीका लागि खुशीको कुरा भएको छ ।” रासस

शुरुमै उपचार भए क्यान्सर रोग निको हुने

काठमाडौ । नेपालमा धेरैजसो अर्बुदरोगी जनचेतनाको अभाव र पर्याप्त स्वास्थ्य सुविधाको अभावले अन्तिम अवस्थामा अस्पतालमा आइपुग्ने गरेको बताइएको छ । क्यान्सर काउन्सिल नेपालद्वारा सूर्तीजन्य पदार्थको रोकथामबारेमा मङ्गलबार सञ्चालित अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा नेपालमा धेरै अर्बुद रोगी समयमा नै उपचार नपाएर मर्ने गरेको वक्ताले बताए । काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थकै कारण अर्बुदरोग, मुटुरोग, दमलगायत विभिन्न किसिमका रोगबाट हजारौंँ मानिस प्रभावित भएको बताउँदै सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सकेमा हजारौं मानिसलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने स्पष्ट पारे। नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थबाट जोगाउनका लागि विद्यालयस्तरबाटै संस्थाले त्यसविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक भएको बताउँदै उहाँले यसबारे अभिभावकले किशोरकिशोरीलाई सम्झाउनुपर्ने बताए । डिएभी सुशील केडिया विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र खनालले विद्यालयले पनि सूर्तीजन्य पदार्थ सेवनमा रोक अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए। रासस